कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

भारत र चीनबीचको रणनीतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढ्याे : ढकाल

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् । ११२ औ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा रोजगारदाताको प्रतिनिधत्व गर्दै उनले यस्तो बताएका हुन् । 

भारत र चीनबीचको रणनीतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढ्याे : ढकाल

नेपालका रोजगारताहरु श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रमसम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्‍न औद्योगिक विस्तार आवश्यक रहेको अध्यक्ष ढकाललको भनाइ थियो । सामाजिक सुरक्षा लैंगिक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदाताहरूलाई नेपालमा लगानी बढाउन पनि आग्रह गरे ।

भारतसँग १० हजार मेगावाट विद्युत् खरिद सम्झौता भएको र बंगलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न बताए । भारत र चीन जस्ता धेरै जनसंख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका हिल स्टेसनहरूमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि बताए ।

सूचना प्रविधि कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरु पनि नेपालको लाभका क्षेत्र रहेको उनले बताए । लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउन नीति अंगिकार गर्ने सरकारको योजना रहेको पनि ढकालले सम्मेलनका सहभागीलाई जानकारी गराए ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×