कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत

सीमा तामाङ

काठमाडौँ — बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले  ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत

बैठकपछि मन्त्रिपरिषद् विभाग (समन्वय र सुधार)का सचिव मोहम्मद हुसेन खानले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेसहित १५ वटा प्रस्ताव स्वीकृत गरेको पत्रकारहरूलाई जानकारी दिएका हुन् । ‘विद्युत् विभागको प्रस्तावपछि बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेछ,’ उनले भने, ‘एनटीपी विद्युत् व्यापार निगम(एनभीभीएन) नेपाल विद्युत् प्राधिकरण र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता पछि मात्रै विद्युत् आयात सुरु हुनेछ ।’

प्रतियुनिट ८.१७ बंगलादेशी टका(९ रुपैयाँ ३० पैसा)मा विद्युत् आयात गरिने बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् । भारतीय ग्रिड प्रयोग गरी नेपालबाट बिजुली आयात गर्नु पर्ने भएकाले भारतलाई प्रतियुनिट ०.०५९ रुपैयाँ व्यापारिक मार्जिन तिर्नुपर्ने खानले बताएका छन् । बंगलादेशले भारतलाई प्रसारण लाइन प्रयोगबापतको शुल्क तिर्नुपर्ने भए पनि मूल्य तय भइनसकेको उनले बताएका छन् ।

विद्युत् आयातका लागि नेपाल र बंगलादेशबीच हुने सम्झौताको मिति तय भइसकेको छैन । सचिव खानले प्रधानमन्त्री शेख हसिनाको सम्भावित नेपाल भ्रमणको क्रममा विद्युत् आयात सम्झौता हुन सक्ने बताएका छन् । यद्यपि बंगलादेशी प्रधानमन्त्री हसिनाको भ्रमणका बारेमा केही तय भएको छैन ।

प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ भित्र विद्युत् निर्यात गर्ने प्रस्ताव गरेको थियो । तर बंगलादेशबाट जुन ११ मा बल्ल ४० मेगावाट बिजुली आयात गर्ने प्रस्ताव स्वीकृत भएको छ ।

बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । प्राधिकरणले फेब्रुअरी पहिलो साता बंगलादेशसमक्ष प्रस्ताव पेस थियो ।

प्राधिकरणको टोली र बंगलादेश पावर डेभलपमेन्ट बोर्डअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच गत फागुन १० मा ढाकामा वार्ता भएको थियो । वार्ता सकारात्मक रहे पनि मूल्यको विषय टुंगो लागेको थिएन ।

लगत्तै विश्व बैंकको आयोजनामा गत फागुन ११ देखि १४ सम्म सिंगापुरमा भएको सार्क ऊर्जा सचिवस्तरीय बैठकका क्रममा नेपाल र बंगलादेशबीच सचिवस्तरीय ‘साइडलाइन’ छलफलमा मूल्य टुंगो लागेको थियो । तत्कालिन ऊर्जा सचिव गोपाल सिग्देलले भारतलाई दिएकै मूल्यमा बंगलोदशलाई बिजुली दिने गरी मूल्यमा सहमति भएको बताएका थिए । नेपालले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बहरमपुर–भेरामारा प्रसारण लाइनबाट बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×