कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

इलनले फिर्ता लिए ओपेनएआई विरुद्धको मुद्दा

एजेन्सी

काठमाडौँ — अमेरिकी अर्बपती उद्यमी इलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी कम्पनी ओपनएआईविरुद्ध दायर गरेको मुद्दा फिर्ता लिएका छन् । मस्कले  गत फेब्रुअरीमा क्यालिफोर्निया स्टेट अदालतमा दायर मुद्दा मंगलबार फिर्ता लिएका हुन् । च्याटजीपीटी निर्माता ओपनएआई र यसका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानाई विपक्षी बनाएर उनले मुद्दा हालेका थिए ।

इलनले फिर्ता लिए ओपेनएआई विरुद्धको मुद्दा

ओपेनएआईका संस्थापकमध्ये एक, मस्कले कम्पनीको स्थापनाका क्रममा भएको नाफा वितरण नगर्ने र निःशुल्क रहने साझा धारणाविपरीत माइक्रोसफ्टसँग मिलेर अर्बौं डलरको व्यवसायमा लागेको आरोप लगाएका थिए ।

मुद्दा दायर भएपछि ओपनएआईले मस्कलाई ढोंगी भएको भन्दै २०१५ यताका सबै इमेल र कुराकानी एक ब्लगमार्फत सार्वजनिक गरिदिएको थियो । सोही मुद्दाको बुधबार अदालतमा सुनुवाइ हुनुअघि नै मस्कले आफ्ना वकिलमार्फत खारेज गर्न लगाएका हुन् । त्यस क्रममा ‘कुनै पूर्वाग्राह’ बेगर मुद्दा फिर्ता लिएको उल्लेख गरिएको छ । यसको अर्थ उनले भविष्यमा कुनै पनि बेला फेरि मुद्दा ब्युँत्याउन सक्छन् ।

अहिले अचानक मुद्दा फिर्ता लिनुको कारणबारे मस्कले केही खुलाएका छैनन् । आफैं मालिक रहेको सामाजिक सञ्जाल प्लाटफर्म, एक्समा चाहिँ मंगलबार नै उनले ‘झुट बोल्न प्रशिक्षण दिइएको एआई असाध्यै खतरनाक हुने’ अभिव्यक्तीसहित च्याटजीपीटीबारे भिडियोमा टिप्पणी गरेका थिए । सोमबार आईफोन निर्माता एप्पलले ओपनएआईसँगको साझेदारीमा आफ्ना डिभाइस र अपरेटिङ सिस्टममा एआई इन्टिग्रेट गर्ने घोषणा गर्दा मस्कले त्यसको विरोध गरेका थिए ।

‘यदि एप्पलले अपरेटिङ सिस्टमकै तहमा ओपनएआईलाई आफ्ना डिभाइसहरूमा राख्यो भने म मेरा कम्पनीमा एप्पलका डिभाइसहरूमा प्रतिबन्ध लगाउँछु,’ मस्कले भनेका थिए, ‘किनभने त्यो सुरक्षा उल्लंघनसम्बन्धी अस्विकार्य विषय हुनेछ ।’ मस्कले आफ्ना कम्पनीमा आउने व्यक्तिहरूले एप्पल डिभाइसहरूलाई ‘फराडे केज’ भनिने सुरक्षित स्थानमा राखेपछि मात्र भित्र छिर्न दिने जनाएका छन् ।

सन् २०१८ मा ओपनएआईबाट बाहिरिएयता मस्कले निरन्तर सो कम्पनीविरुद्ध विभिन्न अभिव्यक्ती दिँदै आएका छन् । कम्पनीले मानवताको फाइदाका लागि एआई विकास गर्ने आफ्नो मूल उदेश्य भुलेर पैसा कमाउनेमा ध्यान केन्द्रित गरेको मस्को आरोप छ । ओपनएआईले भने कम्पनीलाई नाफामूलक संरचनामा लैजान कुनै बेला मस्क आफैं तयार रहेको र उनले त्यो बेला ओपनएआईलाई टेस्लासँग मर्ज गराउने प्रस्तावसमेत राखेको जनाउँदै आएको छ ।

पछिल्लो समय एआईका विषयमा आलोचनात्मक विचार राख्ने गरेका मस्क यसले मानवतालाई नै खतरामा पार्न सक्ने बताउँदै आएका छन् । तथापी, ओपनएआईसँग प्रतिस्पर्धा गर्न उनले सन् २०१३ को जुलाइमा एक्सएआई नामक कम्पनी सुरु गरेका थिए । एक्सएआईले ‘वास्तविकता बुझ्ने’ मस्कको दाबी छ । गत वर्ष नोभेम्बरमा एक्सएआईले च्याटजीपीटीको 'राइभल'का रूपमा ग्रोक नामक च्याटबट सार्वजनिक गरेको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×