२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

ओपनएआई छोड्नेहरूको लर्को

काठमाडौँ — जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीहरूमध्ये अग्रणी च्याटजीपीटी निर्माता ओपेनएआईमा पछिल्लो समय एकपछि अर्को उच्च पदस्थ कर्मचारीहरूले राजीनामा दिइरहेका छन् । ओपेनएआईका संह-संस्थापक इल्या सुत्सकेभरदेखि रिसर्च विभाग प्रमुख क्युलेन ओफिक, एआई मोडलको जोखिम अध्ययन गर्ने डेनियल कोकोताज्लो, ग्रेचेन क्रुगर, ज्यान लेइकीलगायत हाई-प्रोफाइलहरूले जागिर छोडेका छन् ।  

ओपनएआई छोड्नेहरूको लर्को

गत वर्ष कम्पनी बोर्डले बर्खास्त गरेपछि कर्मचारीहरूकै चर्को मागका कारण पुन: नियुक्ति पाएका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानको कर्मचारीहरूप्रतिको व्यवहार र जेनेरेटिभ एआई प्रविधिप्रतिको दृष्टिकोणका कारण उच्च पदस्थहरूले राजीनामा दिएको अनुमान गरिएको छ । कम्पनीमा एआई मोडलको जोखिम अध्ययन गर्ने कोकोताज्लोले आर्टफिसियल जेनेरेटिभ इन्टेलिजेन्स (एजीआई)का सम्बन्धमा कम्पनीले जिम्मेवारीपूर्वक व्यवहार गर्छ भन्नेमा आफूलाई विश्वास नभएको भन्दै राजिनामा दिएका थिए ।

केही दिनअघि मात्रै हलिउड अभिनेत्री स्कारलेट जोहानसनले अनुमतीबेगर ओपेनएआईले च्याटजीपटी फोरओ भर्सनमा दुरुस्तै आफ्नो आवाज राखेको भन्दै कम्पनीविरुद्ध वक्तव्य जारी गरेकी थिइन् । सन् २०१३ मा रिलिज भएको फिल्म ‘हर’ मा स्कारलेटले एक कम्प्युरटर अपरेटिङ सिस्टमको भूमिका निर्वाह गरेकी थिइन् जसमा उनको आवाज डबिङ गरिएको थियो । सोही आवाज च्याटजीपीटको एआई भ्वाइस एसिस्टेन्ट फिचर ‘स्काइ’ मा राखिएपछि अभिनेत्रीले त्यसको विरोध गरिन् । व्यापक आलोचनापश्चता ओपेनएआईले भ्वाइस एसिस्टेन्ट फिचर हटाइदिएको छ । यो घटनाले पनि ओपेनएआई यसका सीईओ अल्टम्यान अमेरिकी कानुन र एआई आचारसंहिता पालनामा गम्भिर छैनन् कि भन्ने प्रश्न उठेको छ ।

अभिनेत्री स्कारलेट जोहानसन । तस्बिर : एबीसी न्युज

कम्पनीका सह-संस्थापक एवं च्याटजीपीटी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वप्रमुख कम्प्युटर वैज्ञानिक सुत्स्केभरले एआई सुरक्षाका विषयमा अल्टम्यानसँगको वैचारिक मतभेदपछि नै कम्पनी छोडेको अनुमान छ । एआईको अद्भभुत क्षमता वा ‘सुपरइन्टेलिजेन्स’ मान्छेकै काबुमा रहनुपर्छ भनेर सुत्स्केभरले गत वर्ष ओपेनएआईमा ‘सुपरअलाइनमेन्ट टिम’ गठन गरेका थिए । सो समूहले च्याटजीपीटीका नयाँ मोडलहरूमा सुरक्षा प्रबन्ध सुधारसँगै मिथ्या सूचना, पूर्वाग्रह र विभेदजस्ता एआईका सम्भावित जोखिमहरू न्यूनीकरणका लागि काम गर्ने भनिएको थियो ।

सुत्स्केभर र सुपरअलाइनमेन्ट टिमका सह-प्रमुख ज्यान लाइकीले कम्पनी छोडेपछि २५ सदस्यीय सो समूह विघटन गरिएको थियो । लाइकीले ‘कम्पनीका प्रमुख प्राथमिकताहरूका विषयमा ओपनएआई नेतृत्वसँग मतभेद भएको’ ले राजिनामा दिएको बताएका थिए । कम्पनीका अर्का पोलिसी रिसर्चर क्रुगले कम्पनी नेतृत्वलाई जवाफदेही बनाउन खोज्नेलाई निरुत्साहित गर्न विभाजनको बिउ रोप्ने प्रवृत्ती रहेको र यस्तो प्रवृत्ती रोकिनुपर्ने आशयको ट्वीट गर्दै कम्पनीबाट बिदा लिएकी थिइन् ।

त्यस्तै, कम्पनीका साढे तीन वर्ष काम गरेका प्रमुख इन्जिनियर इभान मोरिकावाले बोस्टन डाइनामिक्स र डिपमाइन्डमा एजीआई प्रविधिमा विशेष काम गर्ने भन्दै ओपेनएआई छोडेका थिए । कम्पनीमा डेभेलपर रिलेसन्स हेर्ने लोगन कलप्याट्रिकले पनि दुई महिनाअघि नै गुगलको एआई स्टुडियोमा जाने गरी ओपेनएआई छोडेका थिए । सुपरअलाइनमेन्ट टिमका म्यानेजर विलियम साउन्डर्स पनि कम्पनीबाट बाहिरिएका छन् । डियान युन, क्रिस क्लार्क, एन्ड्रेज कर्कप्याथीजस्ता उच्च पदस्थहरूले पनि ओपेनएआईबाट राजीनामा दिइसकेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०८१ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?