कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

सुनकोशी किनारमा ३० करोड लगानीमा रिसोर्ट

५२ कोठाका अतिरिक्त ५ सय क्षमताको ब्यांक्वेट र सेमिनार हल, साउना र रेनिङ डान्सको पनि सुविधा 
खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, रामेछापलगायत जिल्ला घुमेर फर्किने पर्यटकले रिसोर्टलाई बास बस्ने गन्तव्य बनाउने गरेका छन् 

मुल्कोट, सिन्धुली — केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन सिन्धुलीको सुनकोशी गाउँपालिका–५ स्थित मुल्कोट पुगे । सेनाको हेलिकोप्टर चढेर अघिल्लो साँझ नै मुल्कोट पुगेका उनी सुनकोशी किनारमा रहेको क्वालिटी बिच रिसोर्टमा बास बसे ।

सुनकोशी किनारमा ३० करोड लगानीमा रिसोर्ट

उनी पुग्नुअघि नै सचिवालयले रिसोर्टमा खानेकुराको मेन्यु सुनाउँदै भनेको थियो– ‘सिम्पल लोकल खाना’ । दाहालले खानासँगै लोकल कुखुरा र सुनकोशीकै माछाको स्वाद लिए । काठमाडौंको कोलाहल वातावरण, त्यसमा पनि सधैं बैठक, सभा सम्मेलनमा व्यस्त बन्ने उनी सुरुङको ‘ब्रेक थ्रु’ गर्ने ठाउँभन्दा १७ किमि वर नै बास बसेका थिए ।

भोलिपल्ट दाहालले कोशी किनारमा ‘मर्निङ वाक’ गर्दै वरिपरिको दृश्य नियाले । उनको र्‍याफ्टिङ गर्ने कार्यक्रम भने एकाएक परेको वर्षाले बिथोलिदिएको थियो । त्यसो त बीपी राजमार्ग भएर हिँड्ने धेरै यात्रुको ध्यान हिजोआज यो रिसोर्टले खिच्ने गरेको छ । कोभिडताका रिसोर्टको निर्माण थालिएको थियो । २२ जनाबाट सुरु रिसोर्टमा अहिले लगानीकर्ता नै ४२ जना पुगिसकेका छन् । करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा लगानी मात्र ३० करोड बढी भइसकेको रिसोर्ट सञ्चालकमध्येका एक गोपाल श्रेष्ठले बताए । उनी मुल्कोटका पुराना बासिन्दा हुन् ।

‘अहिले रिसोर्ट भएको ठाउँमा पहिला बगर थियो, बन्सो घाँसले ढाकेको थियो,’ उनले भने, ‘केही थोरै भागमा मात्र मकै र गहुँ लगाइन्थ्यो ।’ सुरुमा यो ठाउँमा कुखुरा फार्म गर्ने भनेर २० वर्षका लागि जग्गा भाडामा लिइएको थियो । ‘कुखुरा फार्मभन्दा राम्रो रिसोर्ट हुन्छ भनेर जग्गाबारे सम्झौता गरिसकेपछि रिसोर्ट खोल्ने तयारी गर्‍यौं,’ उनले भने, ‘मेरो पनि जग्गा यसमा पर्थ्यो, अरू स्थानीयसँग जग्गा बिक्री गर्न माग गर्दा आफूहरूलाई पनि सेयरमा राख्न भनेपछि त्यहीअनुसार जग्गाको व्यवस्थापन गरेका हौं ।’

बीपी राजमार्ग सञ्चालनमा आएपछि मात्र रिसोर्ट खोल्ने हिम्मत मिलेको उनले सुनाए । ‘ठूलै जोखिम मोलेर यसमा लगानी गरेका थियौं,’ उनले भने, ‘अहिले राम्रै ठाउँमा लगानी गरिएछ जस्तो भएको छ ।’ सडक सहज होला र बगरमा यसरी सबैको नजरमा पर्ने गरी रिसोर्ट चलाउन सकिएला भन्ने कल्पना बाहिरको कुरा भएको उनले जनाए ।

०७८ चैत २ बाट रिसोर्ट सञ्चालनमा आएको श्रेष्ठले बताए । ‘शुक्रबार र शनिबार प्रायः रिसोर्ट हाउसफुल हुन्छ । ग्राहकको माग धान्न नसकेर कोठा थपिरहेको उनको भनाइ छ । अहिले ५२ वटा कोठा छन् । ग्रुपमा आउने महिला र पुरुषका लागि बस्न मिल्ने दुई वटा छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । रिसोर्टमा बिच भलिबल खेल्ने व्यवस्था छ । ‘५ सय क्षमताको ब्यांक्वेट र सेमिनार हल छ,’ श्रेष्ठले भने, ‘साउना छ, रेनिङ डान्स गर्ने व्यवस्था पनि मिलाएका छौं ।’

४७ वटा कोठा थप हुँदै छन् । टेन्ट बस्न चाहनेलाई टेन्टको व्यवस्था गरिने उनले बताए । कोशी हेर्दै परिवारसँग बसेर खाने र रमाइलो गर्ने व्यवस्था गरिरहेको छ । ‘छिट्टै जिपलाइन र साइक्लिङ सुरु गर्ने सोचमा छौं,’ उनले भने, ‘जिम र ज्याकुजी पनि सुरु गर्ने तयारीमा छौं ।’ निजी र सार्वजनिक विद्युतीय गाडीका लागि चार्जिङ प्वाइन्ट रिसोर्ट परिसरमै राखिएको छ । खाना ग्राहकको मागअनुसार लोकल खुवाउने गरिएको छ । ‘र्‍याफ्टिङ साउन–भदौमा हुँदैन, अघिपछि नेपालथोकबाट करिब दुई घण्टामा मुल्कोट आउन मिल्छ,’ उनले भने ।

१८ वटा डिलक्स, १२ वटा स्विट र २२ वटा कटेज कोठा छन् । बेकरी आइटम आफैंले उत्पादन गरेर खुवाउने गरिएको अर्का रिसोर्ट सञ्चालक वीरेन्द्र पोखरेलले बताए । ‘पहिला काठमाडौं, बनेपाबाट बेकरी आइटम मगाउनुपर्थ्यो,’ उनले भने, ‘अहिले त्यो समस्या छैन, रिसोर्टमा जन्म दिन मनाउन चाहे केकको व्यवस्था हुनेछ ।’ सबै मिलेर टिममा काम गरिरहेको र ग्राहकको चाहनाअनुसार सेवासुविधा थप गर्दै लगिने उनले जनाए । अहिले ५५ जनाले रिसोर्टमा रोजगारी पाएका छन् ।

२५ देखि ३० जना जनशक्ति थप्ने तयारी छ । रोजगारीमा स्थानीयलाई पहिलो प्राथमिकता दिइएको पोखरेलको भनाइ छ । रिसोर्ट बाह्य पर्यटकको पनि रोजाइमा पर्दै आएको अर्का सञ्चालक कृष्ण श्रेष्ठले बताए । ‘खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, रामेछापलगायतका जिल्ला घुमेर फर्किने आन्तरिक तथा बाह्य पर्यटकले यो ठाउँलाई बास बस्ने गन्तव्य बनाउने गरेका छन्,’ उनले भने, ‘वरिपरिका पर्यटकीय गन्तव्य घुम्न पनि यहाँ बास बस्दा सहज हुने देखिन्छ ।’

प्रकाशित : जेष्ठ ७, २०८१ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x