कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

चियाबारी–खुर्कोट सुरुङ निर्माण छिटो अघि बढाउन माग

खुर्कोट, सिन्धुली — केही दिनअघि सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष खुर्कोट, मुल्कोट, चियाबारी, फेदीलगायत भेगका स्थानीयले सुरुङ निर्माणको काम छिटो अघि बढाउन माग गरे । उनीहरूले चियाबारी–खुर्कोट (बारा) सुरुङ निर्माण गर्ने चर्चा भए पनि थप काम नभएको भन्दै त्यसलाई यथाशक्य अघि बढाउनुपर्ने अडान लिए ।

चियाबारी–खुर्कोट सुरुङ निर्माण छिटो अघि बढाउन माग

चियाबारी–खुर्कोट सुरुङ कमलामाई नगरपालिका–२ को चियाबारी माथि फेदीबाट सुरु भई गोलन्जोर गाउँपालिका–७ को तल्लो बारामा निस्कनेछ ।

यी दुवै पालिकाहरूले लामो समयदेखि सुरुङमार्ग निर्माणको माग गर्दै आएका छन् । चियाबारी–खुर्कोट सुरुङ निर्माण गर्न सकिए सडकको दूरी मात्र घट्ने छैन, यो क्षेत्रको विकासले समेत फड्को मार्ने गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालको दाबी छ । यो सडक खण्डमा घुम्ती धेरै छन् । यात्रुले यात्रा गर्न अहसज महसुस गर्ने गरेका छन् । यस खण्डमा धेरै घुम्ती भएकाले यात्राका क्रममा रिंगटा लाग्ने, बान्ता हुने जस्ता समस्या यात्रुले झेल्नुपर्ने बाध्यता रहेको अध्यक्ष बराल बताउँछन् । घुम्तीका कारण यो खण्डमा दुर्घटनाको जोखिम रहेको प्रहरीको भनाइ छ ।

‘सुरुङले सडकको दूरी मात्र घटाउने छैन, दुर्घटनाको जोखिमलाई समेत कम गराउनेछ,’ अध्यक्ष बरालले भने, ‘त्यसैले प्रधानमन्त्री आएका बेला छिटो सुरुङको काम अघि बढाउन ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएका हौं ।’ यसरी सुरुङ बनाउन सके सडकको दूरी घट्ने र पर्यटक आवागमन बढाउन सकिने उनले जनाए । दुर्घटनाको जोखिमलाई दृष्टिगत गरी बीपी राजमार्गअन्तर्गतको सिन्धुलीमाडी–खुर्कोट खण्डको ३९ किमि सडकमा बढी भारवहन क्षमताका सवारी साधन चलाउन निषेध गरिएको छ ।

चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माण हुन सके रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बुसँग तराईको दूरीसमेत छोटिनेछ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले यो सुरुङको आर्थिक वर्ष ०७६/७७ मा सम्भाव्यता अध्ययन गरिसकेको छ । सम्भाव्यता अध्ययनअनुसार यसको दूरी ४.९० किमि रहने उल्लेख छ । तर विस्तृत परियोजना रिपोर्ट (डीपीआर) निर्माणका क्रममा दूरी, लागत यकिन हुनेछ । सम्भाव्यता अध्ययनअनुसार निर्माण लागत १६ अर्ब ८१ करोड ८७ लाख लाग्ने उल्लेख छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले चियाबारी–खुर्कोटसहित ७ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरेको छ । तर निर्माणमा कुनै पनि गएका छैनन् । माग भएरै उक्त सुरुङहरूको अध्ययन गरिएको भए पनि सडकको अवस्थाले गर्दा सबैभन्दा महत्त्वपूर्ण चियाबारी–खुर्कोट सुरुङमार्ग रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख नरेशमान शाक्यले बताए ।

‘नेपाल सरकारको स्रोतबाट यो सुरुङ निर्माण गर्न कठिन छ,’ उनले भने, ‘यसमा दातृ निकायबाटै निर्माणको काम गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाटै छलफल भइरहेको छ ।’ यसबारे जापान सरकारसँग मन्त्रालय तहबाट कुरा भइरहेको उनले सुनाए । मन्त्रालयका अनुसार जापानको सहुलियत ऋणमा यसको निर्माण गर्ने योजना छ । आगामी आर्थिक वर्षमा यसको निर्माणबारे टुंग्याउने तयारी सरकारको छ । चियाबारी–खुर्कोट सडक सुरुङ मार्ग निर्माण हुन सके बीपी राजमार्गको नागबेली सडकको दूरी एकतिहाइभन्दा कममा झर्नेछ ।

चियाबारी–खुर्कोट सडकको दूरी अहिले २९.८ किमि रहेकोमा सुरुङ मार्ग निर्माण भए ८.५ किमिमा झर्ने दाबी छ । अहिले उक्त दूरी पार गर्न एकदेखि डेढ घण्टा लाग्छ । सुरुङ निर्माण गर्न सकिए ६ मिनेटमा उक्त दूरी छिचोलिने छ । सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्न प्रयोग भएको टनेल बोरिङ मेसिन (टीबीएम) बाटै चियाबारी–खुर्कोट सुरुङ खन्न सकिने प्राविधिकहरूले सुल्झाएका छन् । केही दिनअघि मात्र ‘ब्रेक थ्रु’ भएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाका निर्देशक मित्र बरालका अनुसार यही टीबीएम मेसिन प्रयोग गरेर चियाबारी–खुर्कोट सडकमा सुरुङ मार्ग निर्माण गर्न सकिनेछ ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजना र सुनकोशी–मरिण डाइभर्सनमा प्रयोग भएको टीबीएम मेसिन अहिलेकै अवस्थामा पनि प्रयोग गर्न सकिने र रि–इन्जिनियरिङ गरेर डायमिटर परिवर्तन गरी सुरुङ मार्ग निर्माण गर्न सकिने निर्देशक बरालको भनाइ छ । ‘भेरी–बबईपछि टीबीएम मेसिन रि–इन्जिनिरिङ गरेर सुनकोशी–मरिण डाइभर्सनको सुरुङ निर्माणका लागि प्रयोग भएको हो,’ उनले भने, ‘अब फेरि रि–इन्जिनियरिङ गरेर यसलाई सुरुङ खन्नमा प्रयोग गर्न सकिनेछ ।’

सुनकोशी–मरिणको जस्तै भूगोल चियाबारी–खुर्कोट (बारा खण्ड) सडकमा भएकाले टीबीएम मेसिनबाट सुरुङ निर्माण गर्दा कठिनाइ नहुने बरालको दाबी छ । ‘सुरुङमार्ग निर्माण गर्न सकिए वार्षिक ४५ करोडको इन्धनको बचत हुनेछ,’ उनले भने, ‘चियाबारीबाट रामेछापको मन्थली २० मिनेटमा पुगिनेछ, त्यहाँबाट हवाई मार्ग प्रयोग गरी केही मिनेटमा सगरमाथा आधार शिविर पुग्न सकिन्छ ।’

सुरुङमार्ग निर्माण हुन सके सुनकोशीको जलासय, हिमाललगायतका पर्यटकीय गन्तव्यमा रमाउन र घुम्न आन्तरिकसहित भारतलगायत मुलुकबाट आउने पर्यटकको भीड बढ्ने उनको दाबी छ । यो तराईका जिल्ला जान छिटो र छोटो मार्ग हो । यो खण्ड भएर दैनिक १ हजार ५ देखि २ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । चाडबाडका बेला दैनिक ७ देखि १० हजारसम्म सवारीसाधन ओहोरदोहोर गर्छन् ।

निर्वाचित भएर आएदेखि नै उक्त सुरुङ छिटो निर्माणका लागि पहलकदमी गरिरहेको सिन्धुलीका सांसद लेखनाथ दाहालले बताए ।

प्रकाशित : वैशाख ३०, २०८१ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x