२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

म्यानमारबाट पनि बाहिरियो आजियटा

आजियटाले नेपालमा पनि एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर ५० मिलियन अमेरिकी डलरमा बिक्री गरेर बाहिरिएको थियो

काठमाडौँ — नेपालमा लगानीको वातावरण नभएको र टेलिकमको बजार खस्किएको भन्दै एनसेलमा रहेको आफ्नो सेयर बेचेर बाहिरिएको आजियटाले अर्को एसियाली देश म्यानमार पनि छोड्ने निर्णय गरेको छ । कम्पनीले बिहीबार गरेको घोषणामा म्यानमारको आफ्नो एदोत्को नामक मोबाइल टावर व्यवसाय नाम नखुलाइएको एक कम्पनीलाई १५० मिलियन अमेरिकी डलरमा बिक्री गरेको घोषणा गरेको हो । 

म्यानमारबाट पनि बाहिरियो आजियटा

तर खरिद गर्ने कम्पनी योमा स्ट्राटेजिक होल्डिङको पन टावर इन्भेस्टमेन्ट भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यसअघि डिसेम्बरमा आजियटाले नेपालको प्रमुख टेलिकम कम्पनी एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर ५० मिलियन अमेरिकी डलरमा बिक्री गरेर बाहिरिएको थियो र कम्पनीका यी प्रयासलाई विश्लेषकहरूले ऋणको दायित्व घटाउने प्रयत्नका रूपमा व्याख्या गरेका छन् ।

सन् २०२१ मा सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि व्यवसाय गर्न कठिन बन्दै गएको म्यानमार छोड्ने आजियटा एकमात्र कम्पनी भने होइन । यसअघि कतारी कम्पनी ओरिदो र डेनमार्कको कम्पनी टेलेनोरले पनि सैनिक सरकारले कस्दै लगेको सामाजिक आर्थिक वातावरणबीच म्यानमार छोड्ने घोषणा गरिसकेका छन् । आगामी १२ महिनाभित्र पूरा हुने भनिएको यो सम्झौतालाई आजियटाले ऋण घटाउँदै बलियो ब्यालेन्स सिट राख्ने र सेयर स्वामित्वकर्ताहरूलाई भरोसा दिलाउने निर्णय भनेको छ ।

सन् २०१५ को डिसेम्बरमा झन्डै २२१ मिलियन अमेरिकी डलरमा डिजिसेल म्यानमार टावर कम्पनीबाट झन्डै ७५ प्रतिशत सेयर खरिद गरेको आजियटाले आफ्नो उच्च बिन्दुमा म्यानमारमा झन्डै २ हजार वटा टावरहरू व्यवस्थापन गर्थ्यो । यसैबीच प्रख्यात जापानी कम्पनी केडीडीआई कर्पोरेसनले भने म्यानमारमा आफ्नो सेवा जारी राख्ने भएको छ ।

नेपाल र म्यानमारबाट बाहिरिए पनि एसियाकै प्रख्यात टेलिकम कम्पनीका रूपमा आजियटाले मलेसिया, इन्डोनेसिया, सिंगापुर, श्रीलंका, बंगलादेशलगायत भारतमा समेत लगानीलाई निरन्तरता दिएको छ । वर्ष २०२३ को अन्त्यमा आजियटाको मार्केट क्याप झन्डै २४ अर्ब अमेरिकी डलर र इन्टरप्राइज भ्यालु लगभग ५७ अर्ब अमेरिकी डलर रहेको याहु फाइनान्सको अनुमान छ ।

गत डिसेम्बरमा नेपाल छाड्ने घोषणा गरेको आजियटाको निर्णय तत्कालीन समयमा राजनीतिक तहमै विवादित बन्न पुग्यो । यसअघि नै २० प्रतिशत सेयर साझेदार रहेका नेपाली मूलका सिंगापुरे व्यवसायी सतिशलाल आचार्यको कम्पनीलाई खरिद गरेको भन्दा निकै कम मूल्यमा सेयर बिक्री गरेको घोषणा गरेपछि आजियटाको निर्णयमाथि सदन र अदालतमा समेत प्रश्न उठेको थियो ।

लगभग एउटै समयमा खरिद गरेको नेपाल र म्यानमारको टेलिकम व्यवसाय आजियटाले लगभग उस्तै कारण देखाउँदै र तत्कालीनभन्दा कम मूल्यमा छोड्ने निर्णय गरेको हो ।

प्रकाशित : वैशाख २, २०८१ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?