२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

सुनका गहनाको उपभोक्ता मूल्य तोलाकै डेढ लाखभन्दा बढी !

सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको मूल्यमा गहना व्यवसायीले थप ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत जोडेर मूल्य तोक्छन्
महासंघले सोमबार प्रतितोला सुनको मूल्य १ लाख ३६ हजार २ सय रुपैयाँ तोकेको छ, ज्याला र जर्तीका लागि औसतमा १५ प्रतिशत थप जोड्ने हो भने सर्वसाधारणले एक तोलाको गहना किन्न १ लाख ५६ हजार ६ सय ३० रुपैयाँ तिर्नुपर्छ 
राजु चौधरी

काठमाडौँ — सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँ तोक्यो । तर सर्वसाधारणले गहना किन्दा तोलाकै डेढ लाख रुपैयाँभन्दा बढी खर्चिनुपर्‍यो । महासंघले तोकेको मूल्यमा गहना व्यवसायीले ज्याला, जर्ती र मुनाफा जोडेर बिक्री गर्दा सर्वसाधारणलाई महँगो परेको छ ।

सुनका गहनाको उपभोक्ता मूल्य तोलाकै डेढ लाखभन्दा बढी !

काठमाडौंलगायत सहरी क्षेत्रका व्यवसायीले १६ देखि १८ प्रतिशत ज्याला–जर्ती जोड्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

स्थानीय बजारमा करिब १२ प्रतिशतसम्म ज्याला–जर्ती जोडेर बिक्री गर्ने गरिएको उनको भनाइ छ । नेपालमा अन्तर्राष्ट्रिय मूल्य र भारतको बजारलाई आधार मानेर सुनको भाउ तोक्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने गरिएको शाक्यले जनाए । त्यसमा १५ प्रतिशत भन्सार शुल्क र १ प्रतिशत नाफा राखिन्छ ।

महासंघले यसरी एउटा मूल्य निर्धारण गरे पनि गहना व्यवसायीले थप केही प्रतिशत मूल्य जोडेर बिक्री गर्दै आएका छन् । फलस्वरूप सर्वसाधारणलाई महँगो परेको हो । शाक्यकै भनाइअनुसार सोमबारको भाउमा १२ प्रतिशत ज्याला–जर्ती जोड्दा सर्वसाधारणले एक तोला गहनामा १ लाख ५२ हजार ५ सय ४४ रुपैयाँ तिर्नुपर्छ । १८ प्रतिशतको दरले जोड्दा १ लाख ६० हजार ७ सय १६ रुपैयाँ हुन आउँछ ।

‘अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, १५ प्रतिशत भन्सार दर र १ प्रतिशत नाफा राखेर महासंघले बजार मूल्य निर्धारण गर्छ,’ महासंघअन्तर्गत मूल्य निर्धारण समितिका संयोजकसमेत रहेका शाक्यले भने, ‘उक्त मूल्यमा व्यवसायीले थप ज्याला–जर्ती जोडेर गहना बिक्री गर्छन् ।’ महासंघले मूल्य निर्धारण गर्दा १ प्रतिशत मुनाफा राखिदिए पनि व्यवसायीले थप केही प्रतिशत मुनाफा असुल्छन् । तर, पुराना गहना बिक्री गर्दा महासंघले निर्धारण गरेको मूल्यमा बिक्री गर्न सर्वसाधारण बाध्य हुन्छन् ।

गहना क्षेत्रमा मूल्य र गुणस्तरमा मनोमानी हुँदा त्यसबारे सरकारी निकाय मौन छन् । मूल्यका विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तरसम्बन्धी गुणस्तर तथा नापतौल विभागले अनुगमन नियमन गर्ने हो । यी दुई निकाय मौन छन् । गहनाको डिजाइन र पसलअनुसार ज्याला–जर्ती फरक पर्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । औसतमा व्यवसायीले १० देखि १५ प्रतिशत ज्याला–जर्ती लिने गरेको उनको भनाइ छ ।

‘गहना (मंगलसूत्र, चुरा, नेकलेस, औंठीलगायत) को डिजाइनअनुसार ज्याला फरक पर्छ । ज्याला कालीगडका लागि हो, ज्याला धेरै हुँदैन,’ बज्राचार्यले भने, ‘जर्तीबाट पसलले नाफा राख्ने हो ।’ जर्ती भनेको सुनबाट खेर जाने वस्तु हो । केही वर्षअघि वाणिज्य विभागले गरेको अनुगमनमा ज्याला–जर्ती शीर्षकमा मूल्य नलिन निर्देशन दिएको थियो । ज्याला–जर्तीभन्दा मुनाफा शीर्षकमा शुल्क लिन भनेको थियो । तर व्यवसायीले अझै पनि ज्याला–जर्तीकै नाममा अतिरिक्त शुल्क लिँदै आएका छन् ।

मूल्यमा नयाँ कीर्तिमानी

पछिल्ला दिनमा सुनको मूल्यले दिनदिनैजसो नयाँ–नयाँ कीर्तिमानी बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भइराखेको उत्तारचढावले यहाँ पनि कीर्तिमानी बनाएको महासंघले जनाएको छ । महासंघले सोमबार प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ मूल्य तोक्दा कीर्तिमानी मूल्य बनेको हो । आइतबार प्रतिऔंस २ हजार ३ सय ३० अमेरिकी डलरमा कारोबार भएको सुन सोमबार १२ डलर बढेको महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन् । जसले गर्दा मूल्यले फेरि कीर्तिमानी बनाएको हो ।

‘शुक्रबार मात्रै अमेरिकी बजारमा प्रतिऔंस सुन ५३ डलरले बढ्यो । बिहान २ हजार २ सय ७७ डलरमा कारोबार भएको सुन बजार बन्द हुँदा २ हजार ३ सय ३० डलर पुग्यो । सोही कारण आइतबार नेपाली बजारमा प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुग्यो,’ शाक्यले भने, ‘अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस सुन २३४२ डलर पुग्यो । एकै दिन प्रतिऔंस १२ डलरले मूल्य बढ्दा यहाँ १ लाख ३६ हजार २ सय रुपैयाँ पुग्यो । नयाँ रेकर्ड बन्यो ।’

शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन २५ सय डलर पुग्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २५ सय डलर हुँदा यहाँ महासंघको मूल्य प्रतितोला १ लाख ५० हजार पुग्नेछ । त्यति बेला सर्वसाधारणले खरिद गर्ने मूल्य १ लाख ८०/८५ हजार रुपैयाँसम्म पुग्नेछ । ‘अन्तर्राष्ट्रिय बजारमा करेक्सन आएको छैन । मूल्य तलमाथि भइराखेको छ, सोमबार बिहानकै मूल्य हेर्दा प्रतिऔंस २ हजार ३ सय ४६ डलरसम्म पुगेर केही कम भयो,’ शाक्यले भने ।

महासंघका अनुसार मूल्य बढ्नुको प्रमुख कारण भने अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) को ब्याजदर, भारत र चीनमा सुनको बढ्दो माग, ग्लोबल सेन्ट्रल बैंकले डलरभन्दा सुन मौज्दात गर्नु र रुस–युक्रेन अनि इजरायल–हमास युद्ध हो । ‘यति बेला लगानीकर्ताले सुरक्षित लगानी खोजेका छन्,’ शाक्यले भने, ‘सोहीअनुसार सुनमा लगानी गरे, फलस्वरूप भाउ बढ्यो ।’

प्रकाशित : चैत्र २७, २०८० ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?