२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

मध्य भोटेकोशीको सुरुङबाट पानी निस्किएपछि गुणस्तरमाथि नै प्रश्नैप्रश्न

– आयोजनाको लागत बढेर झन्डै दोब्बर पुग्यो, ब्याज मात्रै ५ अर्ब भुक्तानी, बन्न सकेनन् सबस्टेसन र ट्रान्समिसन लाइन
– आयोजना स्रोत भन्छ, ‘सुरुङ निर्माणका बेला सुपर भिजनको कमी प्रस्ट देखियो’

काठमाडौँ — चार वर्षमा पूरा गर्ने लक्ष्यअनुरूप ०६८ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले ११ वर्ष बिताइसकेको छ । निर्माणमा भएको ढिलाइले आयोजनाको सुरुको लागत १२ अर्ब २८ रुपैयाँबाट वृद्धि हुँदै झन्डै २० अर्ब पुगेको छ ।

मध्य भोटेकोशीको सुरुङबाट पानी निस्किएपछि गुणस्तरमाथि नै प्रश्नैप्रश्न

चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको आयोजानले यस अवधिमा ब्याज मात्र ५ अर्ब तिरिसकेको छ ।

लामो प्रयासपछि निर्माण सकेर विद्युत् उत्पादनका लागि ‘वेट टेस्टिङ’ का क्रममा सुरुङ फुटेर पानी चुहिएपछि आयोजनाको संरचनाको गुणस्तरमाथि प्रश्न उठेको छ । नेपाल विद्युत् प्राधिकरणले बाह्रबिसे नगरपालिकामा सबस्टेसन निर्माण सुरु गरेको सात वर्ष बिते पनि तत्काल पूरा हुने सम्भावना देखिएको छैन । स्थानीयले ट्रान्समिसन लाइन तान्न अवरोध गरेको ९ महिना बिते पनि समाधान हुन सकेको छैन । निर्माण सुरु भएको लामो समय बिते पनि विद्युत् उत्पादन हुनुको साटो आयोजनामाथि नयाँनयाँ समस्या थपिँदै गएका छन् । दिनको ४० देखि ५० लाख अर्थात् मासिक झन्डै १५ करोड ब्याज मात्र तिरिरहेको आयोजनाको समस्या समाधान गर्ने भरपर्दो प्रयास भएको छैन । समस्यै समस्याले घेरिएको आयोजनाको विद्युत् उत्पादनको समय अनिश्चित बन्दै गएको छ ।

सुरुङमा पानी चुहिएका कारण काम रोकिएको डेढ महिना बिते पनि निर्माणमा संलग्न चिनियाँ ठेकेदारले अब गर्ने कामको प्रस्ताव तयार गरिसकेको छैन । सुरुङ फुटेर पानी जमिन बाहिर निस्केको घटनाले आयोजना निर्माणमा विगतमा उठ्दै आएको गुणस्तरको प्रश्न ब्युँतिएको प्राविधिक बताउँछन् । सुरुङ निर्माण गर्दागर्दै ०७७ मंसिरमा आयोजनाका प्राविधिक कर्मचारी र ठेकेदाबीचको मिलेमतोमा कामको गुणस्तर घटाउने सर्तमा २ करोड घूस लेनदेनको कुराकानी भएको अडियो टेप नै सार्वजनिक भएको थियो ।

निर्माणका क्रममा लामो समय आन्तरिक झगडामा रुमलिएको आयोजनाको ‘वेट टेस्टिङ’ गत माघ अन्तिम साता सुरु भएको थियो । निर्माणमा भएको ढिलाइले ब्याज बढिरहने तर आम्दानी नहुने दोहोरो नोक्सानी सुरु भएको छ । भोटेकोशी कम्पनीले भने परामर्शदातालाई पत्र पठाएर यस्तो अवस्था आउनुको कारण माग गरेको छ । ‘हामीले परामर्शदातालाई किन यस्तो अवस्था आयो भनेर जानकारी मागेका छौं,’ भोटेकोशी कम्पनी स्रोतले भन्यो ।

सुरुङबाट पानी निस्केको विषयमा प्राविधिक विशेषज्ञले अध्ययन गरेर निर्माणमा संलग्न चिनियाँ ठकेदार कम्पनीलाई अगाडि बढ्ने प्रस्ताव तयार गर्न निर्देशन दिएको जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीले बताए । लामो सुरुङमा पानी चुहिने समस्या बेलाबेला अन्यत्र पनि भएको उनको भनाइ छ । ‘समस्या पहिचानका लागि नै वेट टेस्टिङ गरिएको हो,’ उनले भने । विद्युत् उत्पादनका लागि केही समय पर्खनुको बाहेक यसलाई ठूलो समस्या मान्न नहुने उनको तर्क छ । समस्या यकिन गरेर काम सुरु गरेपछि बढीमा दुई–तीन महिनामा काम सकिने उनले शिवाकोटीले जनाए ।

कसरी चुहियो सुरुङ ?

आयोजनाका प्राविधिकहरुका अनुसार ७ किमि सुरुङमध्ये ४ देखि ५ किमि क्षेत्रको स्थानीय बोर्डरल्यान्ड नजिकैको भूभागबाट पानी बाहिर निस्केको हो । उक्त स्थानमा आयोजना बनाउनुअघि ढुंगा निकाल्ने खानी रहेको स्थानीयको भनाइ छ । सुरुङको झन्डै ८ सयदेखि ९ सय मिटर क्षेत्रमा पानी निस्केको छ । पानी चुहिएको स्थान सुरुङको माथिल्लो बाहिरतर्फको सतह करिब १५० मिटर र तल्लो बाहिरी भाग १२० मिटर मात्र रहेको प्रारम्भिक अनुमान छ ।

गत पुस अन्तिम साता ‘वेट टेस्टिङका क्रममा बाँधको संरचना सकेर सुरुङमा माघको तेस्रो साता पानी पठाइएको थियो । त्यसको केही दिनमा सुरुङबाट पानी चुहिन सुरु गरेको हो । पानी चुहिएको डेढ महिनामा सुरुङका विशेषज्ञ र प्राविधिकले अध्ययन गरिरहेका छन् । सुरुङभित्र विशेष प्रकारको प्लास्टर मात्र गर्ने कि ढलान (तल्लो तहको बेड–लाइनिङ) गर्ने यकिन नभएको आयोजनाका एक प्राविधिक बताउँछन् । खासमा पानी चुहिएको स्थानबाट सुरुङको अहिलेको स्थान छल्न सकिने अवस्था भए पनि लापरबाही गरिएएको आयोजना स्रोतको भनाइ छ । परामर्शदाता र आयोजनाका प्राविधिकको लापरबाहीका कारण सुरुङको सुपरभिजनमा कमजोरी भएको स्रोतको दाबी छ ।

सुरुङको गुणस्तर र टेप प्रकरण

आयोजना निर्माण गरिरहेको ठेकेदार कम्पनी ग्वान्सिङ हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोका प्रतिनिधि गोविन्द पौडेलले तत्कालीन सीईओ मणिकुमार काफ्लेलाई आफूले भनेअनुसार काम गर्ने सर्तमा घूस प्रस्ताव गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । स्थानीय सरोकार समितिले आयोजना प्रमुख सुनिल लामाको उपस्थितिमा ०७७ मंसिरमा आयोजना स्थल बाह्रबिसेमा अडियो सार्वजनिक गरेको थियो । मुख्यतः आयोजना निर्माणका क्रममा सञ्चालक, परामर्शदाता र ठेकेदार कम्पनी संलग्न हुन्छन् ।

निर्माणको आचार संहिताअनुसार सञ्चालक (भोटेकोशी कम्पनी) ले ठेकेदारसँग प्रत्यक्ष कुराकानी गर्न मिल्दैन । सामान्यतः सञ्चालकले आयोजनाका विषयमा आफूले नियुक्ति गरेको परामर्शदातामार्फत कुराकानी गर्नुपर्छ । तर अडियोमा चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिका रूपमा पौडेलले सीईओ काफ्ले र परामर्शदाता कम्पनीका इन्जिनियर दिनेश भण्डारीलाई आयोजनाको संरचना निर्माणको गुणस्तर घटाउने र त्यसबापत् निश्चित रकम उपलब्ध गराउने प्रस्ताव गरेका छन् । प्रस्तावबारे काफ्लेले भने हँ, हँ मात्र भनेका छन् । आर्थिक विषयमा प्रस्ट बोलेका छैनन् । भण्डारीलाई भने पौडेलले रकम बैंकमा राखेको जानकारी दिएका छन्  ।

पौडेलले इन्जिनियर भण्डारीलाई ‘म्यासेज’ हेर्न भनेका छन् । इन्जिनियर भण्डारी परामर्शदाता कम्पनी ट्र्याक्टेबल इन्जिनियरिङ जर्मनी (जीएमबीएच) का तर्फबाट आयोजनाको गुणस्तर जाँच गर्ने प्राविधिक हुन् । भण्डारीसँगको कुराकानीमा सुरुङको गुणस्तर एकै महिनामा परीक्षण गरेर सक्नुपर्ने प्रस्ताव गरिएको छ । रेकर्डअनुसार सुरुङको गुणस्तर जाँच एकै दिनमा सक्ने ठेकेदारको प्रस्ताव पारित गराउन आफू लाग्ने भण्डारीले जानकारी दिएका छन् । पौडेलले कुराकानीका क्रममा भण्डारीलाई ‘चाइनिज पैसा भए पनि हुन्छ’ भनेर सोधेका छन् । पौडेलले ‘क्यास’ निकालिराख्छु भनेका छन् ।

तत्कालीन आयोजना प्रमुख लामाले गुणस्तरीय काम नभएकाले ठेकेदारलाई रकम भुक्तानी दिन नमिल्ने पत्र भोटेकोशी कम्पनीलाई लेखेका थिए । पत्रका आधारमा गुणस्तरमा प्रश्न उठेको भन्दै ठेकेदारको करोडौं रुपैयाँ भुक्तानी रोकिएको थियो । आयोजनामा धेरै विषय उजागर हुन थालेपछि घूस काण्डमा जोडिएका इन्जिनियर भण्डारीले राजीनामा दिएका थिए । यो प्रकरणमा आरोपित कसैले पनि आफ्नो धारणा सार्वजनिक नगरी आयोजनाबाट बाहिरिएका थिए । भोटेकोशी कम्पनी सञ्चालक समितिले टेप प्रकरणलाई गुपचुप राखेर आयोजना अघि बढाएको थियो । उक्त टेप रेकर्डमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो । तर यस विषयमाथि छानबिन गरिएन ।

टेप प्रकरण बाहिरिएपछि सीईओ काफ्लेलाई हटाएर रामगोपाल शिवाकोटीलाई सीईओ बनाइएको थियो । त्यसपछि आयोजनाको कामले भने तीव्रता पाएको थियो । शिवाकोटीले सुरुङ निर्माणलाई सहज बनाएर विद्युत् उत्पादनको तयारीमा पुर्‍याएका थिए । यद्यपि आयोजानको सुरुङ निर्माणको धरै काम काम शिवाकोटी आउनु अगावै सकिएको थियो । ०७७ सालमा आयोजनाका सुरुङलगायत संरचनाको गुणस्तरमाथि प्रश्न उठ्दै आएका कारण आयोजानको बोर्ड र फिल्डका कर्मचारीबीच पक्षविपक्षमा उभिएर आन्तरिक झगडा उत्कर्षमा पुगेको थियो । त्यति बेला आयोजना प्रमुख लामाविरुद्ध आयोजनाका अन्य प्राविधिक कर्मचारी, कम्पनीका अधिकारी र सुरुङ निर्माणमा संलग्न ठेकेदार कम्पनी एकै ठाउँमा उभिएका थिए ।

बनेन सबस्टेसन र ट्रान्समिसन लाइन

नेपाल विद्युत् प्राधिकरण आफैंले बनाउन सुरु गरेको सबस्टेसनको निर्माण ७ वर्षसम्म पनि पूरा हुन सकेको छैन । स्थानीय बासिन्दाले सबस्टेसनसम्म विद्युत् पठाउन प्रयोग हुने ट्रान्समिसन लाइन तान्न अवरोध गरेको ९ महिना बितेको छ । विद्युत् उत्पादनका लागि अन्तिम परीक्षण भइरहेका बेला सुरुङ मात्र होइन, आयोजनाको कतिपय संरचनाको निर्माणमै समस्या देखिएको छ । उत्पादन सुरु गरे पनि ट्रान्समिसन लाइन पूरा नगर्दा विद्युत् पठाउन सकिँदैन ।

२२० केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् सबस्टेसनमा जोड्नुपर्छ । कोभिड, बाढीपहिरो, भूकम्प, आयोजनाको कर्मचारी र वडाबीचको आन्तरिक झगडा र स्थानीय अवरोधलगायत समस्या देखाएर निर्माणमा ढिलाइ भएको थियो । सन् २०१३ मा सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य राखेर मध्य भोटेकोशी जलविद्युत् कम्पनीका तत्कालीन कार्यकारी अधिकृत कुलमान घिसिङले आयोजना अघि बढाएका थिए । चिलिमे, स्थानीय लगानीकर्ता, विद्युत् प्राधिकरण तथा सर्वसाधारणको सेयरबाट लगानी जुटाइएको आयोजनाको मुख्य लगानीकर्ता भने सञ्चय कोष हो ।

प्रकाशित : चैत्र २४, २०८० २२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?