१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अर्थतन्त्र र व्यवसायमा देखिएको शिथिलता सबैको सहकार्यबाट मात्रै चिर्न सकिन्छ : गभर्नर अधिकारी 

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र र व्यवसायमा देखिएको शिथिलता चिर्नका लागि सबै क्षेत्रबीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

अर्थतन्त्र र व्यवसायमा देखिएको शिथिलता सबैको सहकार्यबाट मात्रै चिर्न सकिन्छ : गभर्नर अधिकारी 

कर्पोरेट नेपालको १० औँ वार्षिकोत्सवलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्रका सूचक सकरात्मक रहेको भन्दै सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए ।

अर्थतन्त्र र व्यवसायले शिथिलता भोगिरहेको सत्य भएपनि त्यसबाट बाहिर निस्किन सकिने गभर्नर अधिकारीको भनाइ थियो ।

'अर्थतन्त्र र व्यवसायमा शिथिलता छ, सबैको समन्वय र सहकार्यबाट मात्रै चिर्न सकिन्छ । उपाय र नीतिहरू पनि छन्, निराश हुने भन्दा पनि अगाडि बढ्नुपर्छ । अर्थतन्त्रमा शिथिलता छ भन्दैमा कर्मचारी कटौती गर्दा थप अर्थतन्त्रमा शिथिलता बढ्छ । समस्या आयो भन्दैमा कलम खल्तीबाट निकालिएन भने थप समस्या आउँछ,' गभर्नर अधिकारीले भने, 'अर्थतन्त्र सबल बनाउनको लागि सरकार र निजी क्षेत्र सहकार्य गर्न आवश्यक छ । अर्थतन्त्रका सूचकहरू सकारात्मक भएकाले आत्तिनु पर्ने अवस्था छैन ।'

गभर्नर अधिकारीले विदेशी मुद्रालाई लगानी गर्नतर्फ लाग्न जरुरी रहेको बताए । उनले निजी क्षेत्रको मनोबल गिराएर नभई उच्च बनाएर अघि बढ्नुपर्ने बताए । व्यवसायीले आर्थिक गतिविधि गरिरहेको तर त्यसमा संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

गत आर्थिक वर्ष २०७९/८० को केन्द्रिय तथ्यांक कार्यालयले अनुमान गरेको तथ्यांकबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गरेको उल्लेख गर्दै गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने सूचकहरूले देखाइरहेको बताए । 'यो वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न आशा गरेता पनि त्यहाँ नपुग्ने सूचकहरू आइरहेका छन् । तर पनि हामी औसत वृद्धि गर्नसक्छौं भन्ने लक्ष्य छ,' उनले भने, 'बाह्य क्षेत्र सबल छ । राष्ट्र बैंकले राखेको लक्ष्य भन्दा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न विषय अहिले १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता अवस्था छ ।'

मूल्यबृद्धि नियन्त्रणमा रहेको पनि गभर्नर अधिकारीको भनाइ थियो। 'मूल्यवृद्धि पनि स्थिर छ । बैंकको ब्याजदर क्रमस: घट्दै आएरहेको छ,' उनले भने ।

प्रकाशित : चैत्र २१, २०८० १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?