दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि, उद्योग क्षेत्र ऋणात्मक

अर्थतन्त्रका १८ क्षेत्रमध्ये गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १७ को मूल्य अभिवृद्धि सकारात्मक
यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनले यस्तो देखाएको हो । पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धि हुने कार्यालयले प्रारम्भिक अनुमान थियो ।

दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि, उद्योग क्षेत्र ऋणात्मक

विश्व बैंकले सार्वजनिक गरेको ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’मा निजी क्षेत्रको लगानी बढ्न नसकेको भन्दै सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशतमै खुम्चिने भनेको छ ।

अर्थतन्त्रका १८ वटा औद्योगिक वर्गीकरणमध्ये गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १७ वटाको मूल्य अभिवृद्धि सकारात्मक रहेको कार्यालयले जनाएको छ । यसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै २९.३ प्रतिशत र विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर १७.१ रहेको प्रतिवेदनमा उल्लेख छ । यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै यातायात तथा भण्डारण क्षेत्रले १४.३ प्रतिशत वृद्धिदर कायम गरेको छ । गत वर्षको तुलनामा यस वर्षको दोस्रो त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर ०.४ प्रतिशतले ऋणात्मक रहेको राष्ट्रिय तंथ्याक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता हेमराज रेग्मीले बताए ।

‘दोस्रो त्रैमासमा अर्थतन्त्रको घनात्मक वृद्धि हुनुमा धानलगायत अन्न बाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि, पर्यटन आवागमनमा भएको वृद्धि र होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक छन्,’ उनले भने, ‘व्यापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योगबाहेकका अन्य क्षेत्रको घनात्मक वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो ।’

चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा ०.७ प्रतिशत बढीले आर्थिक वृद्धि हुने प्रतिवेदनले देखाएको हो । ‘पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा प्रस्तुत गरिएका कुल १८ क्षेत्रमध्ये ६ वटा औद्योगिक क्षेत्रमा आएको संकुचनको प्रभाव जीडीपीमा देखिएकाले अर्थतन्त्रमा सामान्य वृद्धि देखिएको हो,’ प्रतिवेदनमा भनिएको छ । गत वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा खानी तथा उत्खनन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ९.४ प्रतिशत रहने कार्यालयको अनुमान छ । सोही अवधिमा निर्माण क्षेत्रमा उत्खनन आएको २.२ प्रतिशतको वृद्धिले यस क्षेत्रसँग प्रत्यक्ष रूपमा भरपर्ने खानी तथा उत्खनन क्षेत्रको वृद्धिदरमा समेत सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ । निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत छ । अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान छ । धानलगायत अन्नबाली तथा पशुजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको हो । पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा यो क्षेत्रको वृद्धिदर बढेको हो । गत वषको दोस्रो त्रैमासमा यो क्षेत्रको वृद्धिदर २.७ प्रतिशत थियो ।

यस वर्षको दोस्रो त्रैमासमा थोक तथा खुद्रा व्यापार क्षेत्रमा भने झिनो (०.५ प्रतिशत) ले मात्र वृद्धि भएको छ । गत वर्षको दोस्रो त्रैमासमा यो क्षेत्रको वृद्धिदर १४.४ प्रतिशतले ऋणात्मक थियो । ‘व्यापारजन्य वस्तुहरूको आयातमा भएको गिरावटले गर्दा व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक हुन नसकेको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘दोस्रो त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मात्र मूल्य वृद्धिदर झिनो अंकले ऋणात्मक रहेको छ ।’

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा औद्योगिक वस्तुको उत्पादनमा आएको कमीका कारण यो क्षेत्रको वृद्धि ऋणात्मक रहेको कार्यालयको अनुमान छ । विगत तीन आर्थिक वर्षको त्रैमासक कुल गार्हस्थ्य उत्पादन वृद्धिदर विश्लेषण गर्दा नेपालको अर्थतन्त्र वृद्धिले एउटै दिशा तय गरिरहेको नदेखिने कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०८० ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x