निगमले थाल्यो ‘इन्धन सेवा २४ सै घण्टा’ अभियान

बल्खुमा रहेको साझा पेट्रोल पम्प पनि २४ सै घण्टा खुल्ने, सेनाको पम्प पनि २४ सै घण्टा खुलाउन पहल 
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भन्छन्, ‘महानगरपालिका, प्रदेशका मुख्य सहर र अत्यधिक आगमन हुने ठाउँमा २४ सै घण्टा खोल्न अभियान सञ्चालन गर्छौं ।’

काठमाडौँ — नेपाल आयल निगमले इन्धन सेवा २४ सै घण्टा अभियान थालेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बल्खुमा रहेको साझा पेट्रोल पम्पबाट अभियान उद्घाटन गरेका हुन् ।

निगमले थाल्यो ‘इन्धन सेवा २४ सै घण्टा’ अभियान

अभियानअन्तर्गत साझा सेवा सहकारी (संस्था) लिले सञ्चालन गरेको बल्खुको पम्प २४ सै घण्टा खुल्ला हुनेछ । ‘यो सुरुवात हो । महानगरपालिका, प्रदेशका मुख्य सहर र अत्यधिक आगमन हुने ठाउँमा २४ सै घण्टा अभियानस्वरुप सञ्चालनमा पहल गरिनेछ,’ मन्त्री भण्डारीले भने, ‘पेट्रोलको चुहावट नियन्त्रण गरी शुद्धतामा ध्यान दिइनेछ । अब पेट्रोल खरिद गर्न पैसा बोकेर होइन, नयाँ प्रविधिलाई समयाअनुकूल गर्दै कार्ड, मोबाइल बैंकिङ प्रणालीको विकास गर्नुपर्छ ।’

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले इन्धन अत्यावश्यक वस्तु भएकाले पम्पहरु २४ सै घण्टा सञ्चालन हुन जरुरी रहेको बताए । यो अभियानलाई देशभरै लैजाने बताए । ‘इन्धन अत्यावश्यक वस्तु भएकाले जतिबेला पनि आवश्यक पर्न सक्छ । त्यसको लागि ‘इन्धन सेवा २४ सै घण्टा अभियान’ ल्याएका छौं । अब मुलुकभरका नगरपालिकामा कम्तीमा एउटा पम्प २४ सै घण्टा सञ्चालन गर्नुपर्ने जरुरी छ,’ उनले भने, ‘यसका लागि निगमले पहल गर्छ । सेनाको पम्प पनि २४ सै घण्टा खुलाउन पहल भइराखेको छ ।’

यसअघि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प पनि २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयसँगै चैत ८ गते २४ सै घण्टा सञ्चालन भइराखेको जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०८० १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?