१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

‘भेगन ट्रेकिङ ट्रेल’मा पर्यटक 

प्रकाश बराल

बागलुङ — पुराना पैदल मार्ग जोडेर यहाँका पर्यटन क्षेत्रका अगुवाले ट्रेकिङका क्रियाकलाप संचालनमा ल्याएका छन् । ट्रेकिङ मार्गको रुपमा विकास गरेका सदरमुकामदेखि भकुण्डे, सिगाना हुँदै रेशको बौरसम्मका पुराना मार्गमा आन्तरिक र बिदेशी पर्यटक पुग्ने गरेका छन् । यो मार्गलाई ‘भेगन ट्रेकिङ ट्रेल’ नाम समेत दिइएको छ ।

‘भेगन ट्रेकिङ ट्रेल’मा पर्यटक 

यो रुटमा नेपालीले दुई दिन र विदेशी ६ दिनसम्मको भ्रमणमा आउने गरेका हुन् । चार वर्षअघिनै यो रुट संचालनमा थियो । अमेरिका र कोरियालगायत देशका भेगन समूह यहाँ आउँथे । कोरोना संक्रमणका कारण रोकिएकोमा गत वर्षदेखि फेरि उनीहरु आउने क्रम बढेको छ । यो रुटका होमस्टे र होटललाई ‘भेगन फ्रेन्डली’ बनाइएको पर्यटन व्यवसायी महादेव शर्माले बताए ।

अन्तराष्ट्रिय भेगन अर्गनाइजेसन र नेपाल भेगन समूहले संयुक्त रुपमा यहाँको रुटमा समय मिलाएर साता दिनको भ्रमण गर्न थालेका हुन् । उनीहरुले ती स्थानका स्थानीयसँग मिलेर काम गर्ने र मनोरञ्जन लिने समेत गरेका छन् । पशुजन्य उत्पादन नखाने र प्रयोग नगर्नेहरु भेगन समूहमा छन् । उनीहरुले फलफूल र अर्गानिक खाना बढी रुचाउने गर्छन् । यहाँ उत्पादन हुने आलु, भाँगो, मकै र गहुँका परिकार उनीहरुले बढी रुचाउने गरेको स्थानीयले बताए । किसानको बारीमा पुगेर आँफै काम समेत गर्छन् ।

भेगन समूहबाट एकै पटकमा १० जनादेखि ५० सम्मको समूहले यो रुटमा यात्रा गर्न थालेका हुन् । यो रुटमा यात्रा गर्दा यहाँको भकुण्डेस्थित बराह ताल अबलोकन, अतिथि सत्कार होमस्टेमा बास गर्छन् । भकुण्डेमा बास बसेपछि पर्यटकले दैनिक ३ घण्टा सम्मको पैदल यात्रा गर्ने र समुदायमै बस्ने गरेका हुन् । ‘यो ट्रेकिङमा आएकाहरु हिँड्न बढी रुची राख्नेहरु रहेछन्,’ होमस्टे संचालक मुना थापाले भनिन्, ‘खाना पनि अन्न र फलफूल मात्रै खाने, पशुजन्य नखाने चलन रहेछ ।’

विश्वभरका राष्ट्रिय गान गाउने अभियानमा लागेका रामजी नेपालीले पनि युवाहरुको समूहमा यो रुटको भ्रमण गरेको बताए । ‘प्रचार र अरु युवालाई पनि ट्रेकिङमा आर्कर्षित गर्न थप योजना बनाएको छु,’ नेपालीले भने, ‘पैदल हिँडेर बास बस्दै हिमाली दृश्याबलोकन गर्न पाइने रुट बनेको छ ।’ यो रुटको केही खण्ड सिंढी मार्ग, केही खण्ड डाँडाको पुरानो बाटो र केही नयाँ पदमार्ग बनाइएको स्थानमा पर्छ । स्थानीय र प्रदेश सरकारको औपचारिक रुटमा कायम गराउन उनीहरुले पहल समेत गरेको बताए ।

यहाँ यात्रा गर्दा समुदायसँग घुलमिल हुने अबसर पाएको पर्यटकहरु बताउँछन् । बेसक्याम्पमा जानेहरु बढी साहसिक यात्राकालागि मात्रै चाहना राख्ने गरेकोमा भेगन ट्रेलका पर्यटकले समुदायको सिकाइ खोज्ने गरेका हुन् । यो रुटबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्र्रेलगायतका हिमाल देखिन्छन् । २ हजार ५ सय मिटरको उचाइसम्म यात्रा गर्न पाउने भएपछि पर्यटक धेरैनै खुसी हुने गरेको स्थानीय होमस्टे संचालक खिमबहादुर थापाले बताए ।

भेगन समूहका सदस्यहरु पर्यटक मात्र नभइ वातावरण संरक्षणको अभियान समेत लिएर गाउँ पुग्ने गरेका हुन् । ‘हामी हिंसा बिरोधी पनि हौं, कुनै धर्म र सम्प्रदायको बिरोध भने गर्दैनौ,’ नेपाल भेगन समूहका अध्यक्ष सुरेश शर्माले भने, ‘बरु उत्पादन बढाउने अभियानमा समुदायलाई सहयोग पनि गर्छौ ।’ ग्रामीण क्षेत्रका होमस्टेमा पर्यटक राख्न पाएपछि संचालकहरु पनि खुसी भएको उनले बताए ।

कोरिया र जापानबाट पनि पर्यटकको समूह यो रुटमा आएका छन् । ‘हामीले स्वस्थ्य जीवनशैली अपनाउन यस्ता समूह बनाएर घुम्न आएका हौं’ अन्तराष्ट्रिय भेगन अर्गनाइजेसनका अध्यक्ष ज्याकले भने, ‘अहिंसाको सन्देश गाउँमा लैजान्छौं ।’ उनले विश्व पृथ्वी दिवस, वातावरण दिवसलगायतका समयलाई बढी केन्द्रीत गरेर भ्रमणमा टोली पठाउने गरेको बताए ।

यो रुटको विकास भएपछि भकुण्डे, सिगाना र रेशमा सामुदायिक होमस्टे खुलेका छन् । ती होमस्टेमा पाहुनाको नियमितता बढिरहेको थापाले जानकारी दिए । यो रुटमा बागलुङ नगरपालिका–८, १० र ११ ले सडकबाट यहाँको शान्ति बौद्धगुम्बासम्म पुग्न पनि सहज भएको छ । गुम्बाबाट बागलुङ बजार, जैमिनी नगर तथा छिमेकी पर्वतको कुश्मा बजार हितका धेरै स्थानको दृश्यावलोकन पनि गर्न सकिन्छ । कतिपयले गुम्बा नजिकमा पाल टाँगेर पनि रात काट्छन् ।

प्रकाशित : चैत्र २०, २०८० १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?