२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

किन बढेको बढ्यै छ सुनको मूल्य ?

प्रतितोला १ लाख ३० हजार रुपैयाँ, सरोकारवाला भन्छन्– ‘अझै बढ्न सक्छ’
रुस–युक्रेनबीचको युद्ध रोकिने अनिश्चितता बढेसँगै अन्तर्राष्ट्रिय बजारमा देखियो अस्थिरता, लगानीकर्ता सुनतर्फ आकर्षित, डलरको भाउसमेत उकालो लाग्दा सुनको मूल्यले बनायो कीर्तिमानी
राजु चौधरी

काठमाडौँ — पहेंलो धातुका रूपमा परिचित सुनको मूल्यले फेरि नयाँ कीर्तिमानी बनाएको छ । रुस–युक्रेनबीचको युद्ध रोकिने अनिश्चितता बढेसँगै अन्तर्राष्ट्रिय बजारमा अस्थिरता देखिँदा र डलरको भाउ उकालो लाग्दा सुनको मूल्यले नयाँ कीर्तिमानी बनाएको जानकार बताउँछन् । 

किन बढेको बढ्यै छ सुनको मूल्य ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य अहिलेसम्मकै बढी हो । बिहीबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनले शुक्रबार कीर्तिमानी बनाएको हो । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला मूल्यमा २ हजार १ सय रुपैयाँ बढेको छ । ‘बिहीबारको तुलनामा सुनको मूल्य प्रतिऔंस ६० अमेरिकी डलरले मूल्य बढेको छ, सोही कारण सुनको भाउले नयाँ रेकर्ड बनायो,’ महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘मूल्य विश्लेषण गर्दा सुनको मूल्य कीर्तिमानीको बाटोमा देखिन्छ ।’

बिहीबार प्रतिऔंस २ हजार २ सय ३१ अमेरिकी डलरमा कारोबार भएको शाक्यले जनाए । शुक्रबार भने यसको मूल्य बढेर प्रतिऔंस २ हजार १ सय ७१ डलर पुगेको छ । ‘अन्तर्राष्ट्रिय बजार हेर्दा सुनको भाउ अझै बढ्न सक्ने संकेत देखिएको छ । प्रतिऔंस २ हजार २ सय ३१ डलरमा कारोबार भएको सुन बढेर ३ हजार डलरसम्म पुग्ने समेत प्रक्षेपण छ,’ अध्यक्ष शाक्यले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा यहाँ स्वतः त्यसको असर देखिन्छ ।’

नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने गरिएको छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । अन्तर्राष्ट्रिय बजारमा आएको उत्तारचढावसँगै नेपालमा पनि मूल्य बढाइन्छ । तर महासंघले तोकेको मूल्यमा सर्वसाधारणले सुन पाउँदैनन् । सर्वसाधारणले सुन किन्दा व्यवसायीले जर्ती, ज्याला, मुनाफालगायत शीर्षकमा अतिरिक्त शुल्क लिने गरेका छन् । त्यसैले पनि सर्वसाधारण महँगो मूल्यको भारमा पर्ने गरेको सरोकारवाला बताउँछन् ।

‘बिहीबारको मूल्य प्रतितोला सुन १ लाख ३० हजार रुपैयाँ भए पनि बिक्री गर्दा जर्तीका नाममा व्यवसायीले १० प्रतिशत र ज्याला करिब २ प्रतिशत जोड्छन्,’ एक गहना व्यवसायीले भने, ‘त्यसमा थप मुनाफा जोड्छन् । औसतमा १२ प्रतिशत जोडेर बिक्री गर्दा सर्वसाधारणलाई थप महँगो पर्ने गरेको हो ।’ महासंघको विवरण अनुसार सुनको भाउले यस साता लगातार नयाँ कीर्तिमानी कायम गरिरहेको छ ।

साताको तेस्रो दिन सामान्य घटे पनि त्यसपछि सुनको मूल्य क्रमशः कीर्तिमानी बाटोमा छ । आइतबार सार्वजनिक बिदा भएकाले मूल्य निर्धारण नभएको महासंघले जनाएको छ । सोमबार प्रतितोला १ लाख २६ हजार ७ सय निर्धारण भयो । मंगलबार भने मूल्य प्रतितोला २ सय रुपैयाँ घटेर १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भयो । त्यसपछि बढ्न थालेको सुनको मूल्यले शुक्रबार कीर्तिमानी बनाएको हो । बुधबार प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ तोकिएको थियो । बुधबारको तुलनामा बिहीबार तोलामा १ हजार १ सय रुपैयाँ बढेर १ लाख २७ हजार ९ सय रुपैयाँ निर्धारण भयो । शुक्रबार त्यसमा पनि थप बढेर कीर्तिमानी मूल्य कायम भएको छ ।

‘शुक्रबारको मूल्य हालसम्मकै उच्च हो । अमेरिकी डलरको मूल्यमा देखिएको मजबुतीसँगै त्यसको प्रभाव नेपालमा सुनको मूल्यमा परेको छ,’ महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले भने, ‘अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले यस वर्ष तीन पटक ब्याजदर घटाउने भनियो, त्यसको प्रभाव पनि सुनमा देखिएको हो ।’ रुस–युक्रेन युद्धले बजारमा झनै प्रभाव परेको उनी बताउँछन् ।

‘रसिया र उत्तर कोरिया सरकारको भेटवार्तापछि रसियाले युक्रेनमा आणविक आक्रमण गर्ने चर्चा चल्यो । युद्ध बढ्ने हल्लाले लगानीकर्ता जति सुनतर्फ आकर्षित भए । सबै लगानीकर्ताले सुनमा लगानी गरेपछि यसको मूल्य अकासियो,’ महासचिव बज्राचार्यले भने, ‘यहीबीच डलरको भाउले पनि नयाँ उचाइ कायम गरेको छ ।’ शुक्रबार १ अमेरिकी डलर बराबर १ सय ३३.३७ रुपैयाँ कायम भएको छ । यही हिसाबमा मूल्य बढ्दै गए बजार थप प्रभावित हुने बज्राचार्यले जनाए ।

नेपालमा कोटा प्रणालीअनुसार वाणिज्य बैंकहरूले दिनको २० किलो सुन आयात गर्न पाउँछन् । चाडबाड र बिहेको सिजनमा सुनको माग बढ्ने हुँदा व्यवसायीले कोटा बढाउन ‘लबिइङ’ गर्दै आएका छन् । पछिल्लो समय भने बजार सुस्त रहेको व्यवसायी बताउँछन् । सुनको भाउ बढ्न थालेपछि बैंकलाई सुन आयात नगर्न अनुरोधसमेत गरिएको बज्राचार्यको भनाइ छ ।

‘कोटा २० किलो भए पनि बजारमा ५ किलो खपत हुन पनि कठिन छ, मूल्य बढ्ने क्रम जारी भएकाले बजार सुनसान देखिएको हो,’ महासचिव बज्राचार्यले भने, ‘त्यसैले बैंकर एसोसिएसनलाई आयात नगर्न आग्रह गर्दै आएका छौं ।’ सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा वृद्धि हुन्छ । विदेशी मुद्रा सञ्चितिका दृष्टिकोणबाट सुनको मूल्य बढ्नु मुलुकका लागि पनि राम्रो होइन । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको १८ लाख ५ सय किलो सुन आयात भएको छ । उक्त सुन यूएईबाट आयात भएको हो । यसबाट सरकारले २ अर्ब २८ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष भने २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँको २९ लाख १६ हजार ५८६ किलो आयात भएको थियो ।

प्रकाशित : चैत्र १७, २०८० ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?