कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गलेश्वरमा १५ करोड लागतको होटल याक सञ्चालनमा

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका-९ स्थित प्रख्यात धार्मिक पर्यटकीयस्थल गलेश्वरमा १५ करोड लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । मुक्तिनाथ र मुस्ताङ भ्रमणमा आउने पर्यटक लक्षित गरी खुलेको होटल याकको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । 

गलेश्वरमा १५ करोड लागतको होटल याक सञ्चालनमा

‘कालीगण्डकी करिडोर र मुस्ताङ प्रवेशद्वार रहेको गलेश्वरमा सुविधासम्पन्न नयाँ होटल थपिँदा पर्यटनमा टेवा पुगेको छ । अझ पर्यटन र व्यवसायमा केही छैन भनी निराश हुनेका लागि गलेश्वरमा खुलेको यो होटलले आसाको सञ्चार गराएको छ,’ अध्यक्ष ढकालले भने, ‘निर्माण सुरु गरेको १३ महिनामै यत्रो ठूलो होटल सम्पन्न गरी सञ्चालनमा ल्याउनु व्यवसायिक दक्षताको द्योतक हो ।’

सदरमुकाम बेनीको हस्पिटल चोकमा भाडाको घरमा सञ्चालित होटल याकले बेनी–९ गलेश्वरमा दुई रोपनी क्षेत्रफलमा १५ करोड लागतमा आफ्नै भवनसमेतको पूर्वाधार निर्माण होटल सञ्चालनमा ल्याएको हो । गलेश्वर, म्याग्दी सदरमुकाम बेनीबाट-३ किलोमिटर उत्तरमा अवस्थित छ । बेनी–जोमसोम–कोरोला सडक किनारामा अवस्थित गलेश्वर पक्की सडकले जोडिएको छ ।

भवनको जग राखेको १३ महिनामा एक सय ५० जना क्षमताको ४० वटा सुविधायुक्त रुम सहितको तले होटल सञ्चालनमा आएको हो । एक सय जना अट्ने सभाहल, २०–२५ जना अट्ने २ वटा वैठक कक्ष तथा पर्याप्त पार्किङ सुविधा रहेको होटल याकबेनी प्रालिले जनाएको छ ।

बैदेशिक रोजगारी क्रममा कतार र साउदीका होटलमा ६ बर्ष काम गरेर फर्केका मंगला गाउँपालिका-१ पूर्णगाउँका बाबुराम (ताराप्रसाद) आचार्यले ०६४ सालदेखि बेनीमा रेष्टुरेन्टबाट व्यवसाय सुरु गरेका थिए । कतारको सिनुवा कम्पनी र साउदीको ताजेज रेष्टुरेन्टमा काम गर्दा सिकेको सीप स्वदेश फर्केर व्यवसायमा लगाएका आचार्यले १० लाख लगानी गरी भाडाको घरमा रेष्टुरेन्टबाट सुरु गरेको व्यवसाय बढाउँदै १५ करोड लागनीमो आफ्नै स्वामित्वको होटल सञ्चालनमा ल्याएका हुन् ।

कोरोना महामारी र आर्थिक शिथिलताका बीचमा पनि म्याग्दीमा चार वटा ठूला र सुविधायुक्त होटल थपिएका छन् । कालीगण्डकी करिडोर अर्न्तगत सर्वाधिक गहिरो गल्छीमा पर्ने अन्नपूर्ण गाउँपालिका-२ स्थित भुरुङ तातोपानीमा ३५ करोड लागतमा ७ तल्ले सुविधायुक्त ‘होटल नेचुरल स्प्रीङ’ यसै वर्षदेखि सञ्चालनमा आएको हो ।

‘यो एक बर्ष तेस्रो मुलुकका पर्यटक, अन्तरिक तथा भारतीय पर्यटकको आगमनले हामी उत्साही छौं । आन्तरिक पर्यटक नै धेरै आएका छन्,’ होटल सञ्चालक राजु हमालले भने, ‘कोरोनाले थला परेको अर्थतन्त्रमा विश्वमा फैलिएको आर्थिक क्राईसिसका बीचमा पनि तेस्रो मुलुक, भारत र आन्तरिक पर्यटकको खर्च क्षमता खस्केको बेला होटल सुरु गरेका छौं । पर्यटन फेरि लयमा फर्कने विश्वास छ ।’

राउण्ड अन्नपूर्ण, राउण्ड धौलागिरी, अन्नपूर्ण–धवलागिरी सामुदायिक पर्यापदमार्ग र हिमालपारिको मुस्ताङ भ्रमणमा आउने पर्यटकको संगमस्थलमा अवस्थित यहाँको प्राकृतिक तातोपानी (हटस्प्रीङ) पर्यटक बीच विश्वभर चर्चित छ ।

त्यस्तै बेनी नगरपालिका ४ स्थित सिंङ्गा तातोपानीमा बेनीका व्यवसायी प्रमोद श्रेष्ठले १८ करोड लगानीमा ‘श्रेष्ठ होटल हटस्प्रीङ’ होटल सञ्चालनमा ल्याएका छन् । त्यसैगरी पछिल्लो एक बर्षयता सदरमुकम बेनीमा ६ करोड लागतमा होटल लामा कुडाप सञ्चालन भएको छ । बेनी नगरपालिका ९ मा पर्ने गलेश्वरमा करिव ५ करोड लगानीमा होटल मदरल्याण्ड इन होटल सञ्चालनमा आएको छ ।

त्यसैगरी पर्यटकीय वस्ती घोरेपानीमा पनि पछिल्लो तीन वर्षमा २०–६० करोड लगानीका दर्जन होटल थपिएका छन् ।

प्रकाशित : फाल्गुन २१, २०८० १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?