१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

विमानस्थलमा जग्गा प्राप्ति नहुँदै धावनमार्ग विस्तार !

डीबी बुढा

जुम्ला — जग्गा प्राप्ति नहुँदै जुम्ला विमानस्थलको रनवे बढाउन बजेट आएपछि कार्यान्वयन गर्न समस्या परेको छ । रनवे बढाउन भन्दै गत भदौमै ४ करोड ४२ लाख रुपैयाँ आइसकेको थियो । तर रनवे बढाउन जग्गा प्राप्ति भइनसकेकाले बजेट कार्यान्वयन गर्न कठिन परेको नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए । 

विमानस्थलमा जग्गा प्राप्ति नहुँदै धावनमार्ग विस्तार !

‘रनवे बढाउनका लागि बजेट आए पनि जग्गा छैन । त्यही भएर बजेट खर्च गर्न सकिरहेको अवस्था छैन । जग्गा प्राप्त भएपछि मात्र बजेट कार्यान्वयन गर्न सकिने देखिन्छ,’ अधिकारीले भने । ६७० मिटर लम्बाइको विमानस्थललाई १०५० मिटरमा विस्तार गर्न १८ हजार ३ सय ८० रोपनी जग्गा आवश्यक भए पनि अहिलेसम्म प्राप्त भइसकेको छैन ।

‘जग्गाको मुआब्जाका लागि बजेट आउन नसकेकोले प्रक्रिया नै अघि बढ्न सकेको छैन,’ कार्यालय प्रमुख अधिकारीले भने । मुआब्जा र रनवे विस्तारका लागि ५० करोडभन्दा बढी खर्च लाग्ने अनुमान छ । त्यहीअनुसार बजेट यकिन गरेर सम्बधित निकायमा पठाउने तयारी भइरहेको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ । रनवे विस्तारका लागि आएको बजेट खर्च गर्न नसकिने अवस्था देखिएपछि मंगलबार प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बैठक बसेर विमानस्थल विस्तार गर्न आवश्यक जग्गाको मुआब्जाका लागि चाहिने रकम यकिन गरी सम्बन्धित निकायमा पठाउने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेसहित चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायत, नागरिक समाजका राजबहादुर महत, जिल्लास्थित सुरक्षा प्रमुख, वडाध्यक्ष, नापी र मालपोत कार्यालयका प्रतिनिधि, पत्रकारलगायत उपस्थित बैठकले जिल्ला प्रशासनमार्फत पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा पत्र पठाउने निर्णय गरेको छ । ‘जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदले काम गर्दै गर्नुस् बजेट पठाउँछौं भन्ने आश्वासन दिइरहेका छन्,’ कार्यालय प्रमुख अधिकारीले भने, ‘दुवै कामका लागि आवश्यक बजेट नआउँदासम्म विमानस्थल विस्तार अघि बढ्न सक्दैन । तत्काल बजेट विनियोजन भएको खण्डमा दुई महिनाभित्रै सबै प्रक्रिया अघि बढाइनेछ ।’

जग्गाको मुआब्जा पाउने भन्दै स्थानीय किसानहरूले धमाधम स्याउ बगैंचा थप्दै खेती विस्तार गरिरहेकाले महँगो पर्न जाने अनुमानसमेत गरिएको छ । बैठकले रनवे तथा एप्रोन विस्तारका लागि विनियोजित रकम प्राप्ति नहुँदासम्म प्रयोगमा नआउने भएकाले यो रकम मुआब्जाको प्रयोगमा ल्याउन सकिने व्यवस्था गर्न आग्रहसमेत गर्ने गरेको छ । कर्णाली प्रदेश

राजधानी सुर्खेतबाट जुम्ला उडान हुन नसकेको र फागुन १४ मा दशकपछि सरकारी जहाजले पहिलो उडान भरेकोले उडानलाई नियमित गर्न आग्रह गर्ने पनि निर्णय भएको छ ।

जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदले जग्गाको मुआब्जा नभई रनवे विस्तारका लागि वकालत गरिरहेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । तत्काल जग्गा प्राप्ति गरेर रनवे बढाएर ठूला जहाज बसाल्न मिल्ने गरेर प्रक्रिया थाल्नसमेत उनीहरूको माग छ । जुम्ला विमानस्थलमा फ्युल सेन्टर स्थापना गरेर आन्तरिक उडान चल्ने गरेर पहल गर्न उनीहरूको आग्रह छ ।

प्रकाशित : फाल्गुन १९, २०८० ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?