२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘नेपालका बैंक डुब्ने स्थितिमा छैनन्, राष्ट्र बैंकले सुक्ष्म रुपमा हेरिरहेको छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा नेपालका कुनै पनि बैंक डुब्ने स्थितिमा नरहेको दाबी गरेका छन् । सहकारीमा आएको समस्याका कारण बैंक तथा वित्तीय संस्था केही प्रभावित भएपनि डुब्ने अवस्थामा नरहेको उनको भनाइ छ । वित्तीय क्षेत्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

‘नेपालका बैंक डुब्ने स्थितिमा छैनन्, राष्ट्र बैंकले सुक्ष्म रुपमा हेरिरहेको छ’

‘सहकारी क्षेत्रमा समस्या आएपछि नेपालका आर्थिक गतिविधि प्रभावित भएका हुन्, त्यसो हुँदा कर्जाको माग बढेको छैन,’ उनले भने, ‘तर, राष्ट्र बैंकले नियमित रुपमा सुक्ष्म रुपमा नियमन गरिरहेको छ । डूब्ने अवस्थामा कुनै पनि संस्था छैनन् ।’

पछिल्ला त्रैमासमा बैंकहरुको खराब कर्जा बढेको देखिएको तर्फ इंकित गर्दै उनले भने, ‘बैंकहरुको खराब कर्जा अहिले मात्र बढेको होइन, यो नै वास्तविक अवस्था हो । विगतमा केही बैंकहरुले खराब कर्जालाई असल बनाउने काम गरेका थिए । चालु पुाजी कर्जा सम्बन्धी मागर्दशन जारी गरेपछि बैंकहरुले सावा ब्याज तिर्नकै लागि पुनः कर्जा दिएर असल बनाउन पाएका छैनन । ऋणीको क्षमताका आधारमा मात्र कर्जा प्रवाह गर्नुपर्ने भएको छ । यसकारण खराब कर्जा केही बढको देखिएको हो ।’

अर्थतन्त्रमा आर्थिक गतिविधिमा कमी आएकाले यस्तो अवस्थामा कम लाभांश वितरण गरेर भएपनि बैंकको वित्तीय अवस्था बलियो बनाउन बैंकहरुलाई आग्रह गरिरहेको उनले बताए ।

अहिले बैंकिङ क्षेत्र विरुद्ध अराजक गतिविधि बढिरहेपनि सरकारले त्यसलाई सम्बोधन गर्न नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । वित्तीय सूचकका रुपमा नेपालका सबै बैंकहरु निकै सबल रहेको उनको भनाइ थियो ।

प्रकाशित : फाल्गुन १४, २०८० १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?