कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

स्थानीयको अवरोधले जुत्ता-चप्पल व्यापार महोत्सव उद्घाटन रोकियो 

अर्जुन सुवेदी

सुनसरी — पहिलो पटक हुन लागेको जुत्ता–चप्पल व्यापार महोत्सवमा इटहरी उद्योग वाणिज्य संघले अवरोध गरेको छ । महोत्सवले स्थानीय व्यापारीलाई असर पर्ने भन्दै महोत्सव गर्न नदिने अडान इटहरी उद्योग वाणिज्य संघले राखेपछि शुक्रबार हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित गरेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

स्थानीयको अवरोधले जुत्ता-चप्पल व्यापार महोत्सव उद्घाटन रोकियो 

‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फागुन ११ देखि चैत २५ गतेसम्म ३५ दिनका लागि महोत्सव चल्ने तय गरिएको थियो ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्ने तय भएको महोत्सव स्थानीय व्यापारीले विरोध जनाएपछि स्थगित भएको आयोजक समिति अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नानीराज घिमिरेले बताए । शुक्रबार दिउँसो उद्योग वाणिज्य संघ इटहरीको भवनमा भएको छलफलमा महोत्सव कुनै पनि हालतमा गर्न नदिने अडान स्थानीय व्यापारीले राखेको घिमिरेले जानकारी दिए । यही अडानको आडमा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले महोत्सव स्थगित गर्न आग्रह गरेको घमिरेले बताए । यद्यपि के कसरी अघि बढ्ने भन्ने विषयमा पुन: छलफल गर्ने आश्वासन पराजुलीले दिएको घिमिरेले बताए ।

उद्योग वाणिज्य संघको छलफलपछि स्थानीय व्यवसायी इटहरीका नगरप्रमुख समक्ष पुगेका थिए । नगरप्रमुख पौडेललाई स्थानीय व्यापारीले गुनासो राखेपछि शुक्रबार हुने उद्घाटन कार्यक्रम स्थगित गर्न पौडेलले आग्रह गरेको घिमिरेले जानकारी दिए । उनले उद्घाटन कार्यक्रम मात्र स्थगित भएको तर महोत्सव स्थगित नभएको प्रस्ट पारे ।

महोत्सव संयोजक एवं फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले स्थानीय व्यापारी व्यवसायीलाई धेरै असर पर्ने भएकाले महोत्सव बन्द गर्नुपर्ने उनीहरूको अडान संकुचित मानसिकताको उपज भएको आरोप लगाए । कानुनी अधिकार प्रयोग गरी स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुची जगाउने उद्देश्य मुख्य राखिएको महोत्सव रोक्न खोज्नु न्यायसंगत नहुने उपाध्यायले बताए ।

महोत्सव सञ्चालनका लागि आन्तरिक राजस्व कार्यलय, जिल्ला प्रसाशन कार्यालय र स्थानीय सरकारबाट अनुमति पाइसकेको अवस्थामा रोक्न खोजेर उद्योग वाणिज्य संघले कानुन हातमा लिन खोजेको उपाध्यायको आरोप छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले स्थानीय व्यापारीलाई महोत्सवले मार पर्ने भएपछि तत्काललाई स्थगित गर्न आग्रह गरेको जानकारी दिए । अझै पनि छलफल जारी रहेकाले निकास निकाल्न आफू प्रयासरत रहेको पराजुलीको भनाइ छ ।

बिहान ९ देखि बेलुका ७ बजेसम्म खुला रहने महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता–चप्पल सुपथ मूल्यमा उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सवभरि १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने छ । महोत्सवमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध रहेको आयोजकले बताए ।

महोत्सव अवधीभर करिब ३ लाखले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

प्रकाशित : फाल्गुन ११, २०८० १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?