२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बंगलादेशसँगको विद्युत बिक्री वार्ता सकारात्मक, छिट्टै सम्झौता हुने

काठमाडौँ — नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीचको विद्युत बिक्री वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । आगामी वर्षायामबाटै विद्युत् निर्यात गर्ने गरी दुई देश बीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता  (पीएसए) गर्ने सहमति भएको छ ।

बंगलादेशसँगको विद्युत बिक्री वार्ता सकारात्मक, छिट्टै सम्झौता हुने

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बंगलादेश पावर डेभलपमेन्ट बोर्डअन्तर्गतको बोलपत्र (बिड) मूल्याकंन समितिबीच बिहीबार बंगलादेशको ढाकामा वार्ता भएको थियो । विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरुमा विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जनाए ।

‘बंगलादेश पावर डेभलपमेन्ट बोर्डले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत बिक्रीको परिणामसहितको बोलपत्र पेश गरेका थियौं, हामीले पेश गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाहरुमा विस्तृत रुपमा छलफल ग‍र्यौं,’ उनले भने, ‘उहाँहरुले पनि माथिल्लो निकायबाट स्वीकृति लिनु पर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जति सक्दो छिट्टो सम्पन्न गरेर आगामी वर्षायामबाटै नेपालबाट विद्युत खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ ।’ प्राधिकरणले यसै हरेक वर्ष १५ जुनदेखि–१५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत निर्यातका लागि बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ ।

विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको छ । नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्ने गरी सम्झौता हुने छ । प्राधिकरणकाे स्राेतका अनुसार भारतलाई दिएकै मूल्यमा बिजुली बेच्ने गरी बंगलादेशलाई प्रस्ताव पेस गरेको छ । मध्यकालिन सम्झौताअनुसार भारतलाई प्रतियुनिट करिब ९ रुपैयाँसम्ममा बिजुली बेचिरहेको छ । प्राधिकरणले बंगलादेशलाई पनि सोही मूल्यमा बिजुली बेच्ने गरी प्रस्ताव पठाएको स्रोतले जनाएको छ । ‘प्राधिकरणले प्रतियुनिट ६.७ सेन्ट (मंगलबारको विनिमय दरअनुसार ८ रुपैयाँ ९१ पैसा’ मा बिजुली बेच्ने गरी प्रस्ताव पेस गरिसक्यो,’ स्रोतले भन्यो ।

प्रकाशित : फाल्गुन १०, २०८० २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?