कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहुघाटको जलविद्युत् आयोजनाको मुख्य सुरुङको 'ब्रेकथ्रु' 

घनश्याम खड्का

म्याग्दी — रघुगंगा गाउँपालिका, ३ पिप्लेमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले मुख्य टनेलको ब्रेक थ्रु गरेको छ । 

राहुघाटको जलविद्युत् आयोजनाको मुख्य सुरुङको 'ब्रेकथ्रु' 

रघुगंगा हाइड्रो लिमिटेडले दिएको विवरणअनुसार बुधबार साँझ ५.५० बजे रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले स्विच थिचेर अन्तिम विस्फोट नगरी टनेलको पहिलो च्यानेजको (अडिट २ पिप्लेदेखि अडिट ३ घट्टेखोला)सम्मको खण्ड ब्रेकथ्रु गरेका थिए । अब पूरै टनेल ब्रेकथ्रु हुन दोस्रो च्यानेलको (अडिट १ हेडवर्क्सदेखि अडिट २ घट्टेखोलासम्म) ब्रेकथ्रु हुन ३ सय ७२ मिटर र पावरहाउसदेखि माथि सर्साफसम्म ५६ मिटर गरी ४ सय २८ मिटर बाँकी रहेको छ ।

कुल ६ हजार २ सय ७० मिटर लामो टनेलमध्ये ५ हजार ८ सय ४२ मिटर टनेल खनिएको छ । ‘टनेललाई विभिन्न प्याकेज बनाई फरक–फरक अडिटबाट खन्ने काम गरिएकोमा सबैभन्दा लामो खण्डमा टनेलको ब्रेकथ्रु भएको छ । माटोको भाग बढी भएको रिस्की क्षेत्रको टनेल भएकोले यस च्यानेजको टनेल ब्रेकथ्रु हुनु हाम्रा लागि ठूलो उपलब्ध मानेका छौं,’ रघुगंगा हाइड्रो लिमिटेडका सिभिल महाशाखा प्रमुख रवीन कट्टेलले भने, ‘आयोजनाले ०८१ वैशाखभित्रका सबै टनेल ब्रेकथ्रु गर्ने लक्ष्य राखेका छौं ।’

आयोजनाले टनेल पूरा भएका प्यााकेजमा कंक्रिट लाइनिङ गर्ने, पेनस्टक राख्ने र पावरहाउसमा टर्बाइन राख्ने क्षेत्रको काम पनि एकसाथ सुरु भइरहेको जनाएको छ । आयोजनाले रिभर डाइभर्सन र पावरहाउसभित्रको डिस्टिब्युटर्स पाइपको हाइड्रोस्टेटिक प्रेसर टेस्टिङ पनि सफल भएको जनाएको छ । पावरहाउसमा रहने दुई वटा टर्बाइनमध्ये एउटा टर्बाइन घुमाउन ६ वटा नोडल भएको वितरण पाइपको परीक्षण गरिएको हो । त्यस्तै पावरहाउसदेखि सर्साफसम्म ८ सय ११ मिटर स्लोप र १ सय ९६ मिटर भर्टिकल टनेलमा पेनस्टक पाइप राख्ने काम पनि सुरु भएको छ ।

अर्धजलाशययुक्त आयोजनाबाट सुख्खा मौसममा ४ करोड ९९ लाख ७८ हजार र बर्खामा २४ करोड ५ लाख ९३ हजार युनिट प्रतिघण्टा बिजुली उत्पादन हुने आयोजनाको भनाइ छ । ‘आयोजनाको भौतिक प्रगति ७१ प्रतिशत र वित्तीय प्रगती ५५ प्रतिशत रहेको छ । पावरहाउसमा टर्बाइन र जेनेरेटरमध्य एक–एक वटा आइसक्यो, टर्बाइन घुमाउने पाइपलाइन जडान र परीक्षण भइरहेको छ । स्विच आर्डको काम सकियो,’ रघुगंगा हाइड्रो लिमिटेडका इलेक्ट्रोमेकानिकल प्रमुख सञ्जय पाठकले भने, ‘आयोजनाको कामले राम्रो गति लिइरहेको बेला हामीलाई नदीजन्य पदार्थको समस्या सामना गर्नु परेको छ ।’

भारतीय आयात–निर्यात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋण लगानी भएको राहुघाट जलविद्युत् आयोजनामा ब्याजबाहेक ८ अर्व ६० करोड लागत अनुमान गरिएको छ । आयोजना भारतीय ठेकदार कम्पनी जयप्रसाद (जेपी) एसोसिएटसले सिभिल तथा हाइड्रोमेकानिकल र उपकरण, स्वीचार्ड उपकरण जडान, आपूर्ति र ढुवानी गर्नेगरी इलेक्ट्रोनिकलतर्फ काम गर्न भारत हेभी इलेक्ट्रोकल्स लिमिटेड (भेल)लाई ईपीसी मोडेलमा लगाइएको हो । यो मोडेलमा काम गर्दा लेआउटमा उल्लेख भएको बाहेक जियोलोजिकल डिफेक्ट आएमा मात्र मूल्य समायोजन हुन्छ ।

प्राधिकरणले २०६५ देखि राहुघाटको सिभिल इन्जिनियरिङको काम सुरु गरेको हो । ऋणको सर्तअनुसार २०६७ कात्तिकमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी भारतीय कम्पनी आइभीआरसीएल इन्फ्रास्ट्रक्चर र प्रोजेक्टस् इन्डिया लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । तर ठेकदारले काम गर्न नसकेपछि प्राधिकरणले २०७० मा सम्झौता टर्मिनेट भङ्ग गरेको थियो ।

प्रकाशित : फाल्गुन १०, २०८० १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?