कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्बौंको लगानी, एकाध पर्यटक

चालु वर्षको ६ महिनामा खप्तड पुग्ने विदेशी पर्यटक ११ जना मात्रै

बझाङ — खप्तडमा हिमपातपछि फराकिला र सुन्दर पाटन सेताम्मे भएका छन् । मौसम सफा भएसँगै हिमाल खुलेका छन् । पर्यटक भने यहाँ फाट्टफुट्ट मात्रै देखिन्छन् । पर्यटकको आवागमन सहज होस् भनेर यहाँ रहेको सिंह शार्दूल गुल्मले खप्तड प्रवेश गर्ने सबै जिल्लाका बाटा खोलिसकेको छ ।

अर्बौंको लगानी, एकाध पर्यटक

खप्तड राष्ट्रिय निकुञ्जभित्र घुम्ने मुख्य ठाउँहरू त्रिवेणी, बाबा आश्रम, केदारढुंगा, खापर दह, नागढुंगा, सह्रसलिंग, घोडादाउना पाटनलगायत ठाउँसम्म पुग्ने बाटो पनि खोलिएको छ । यद्यपि, यहाँ घुम्न आउनेहरूको संख्या भने नगण्य छ ।

खप्तड राष्ट्रिय निकुञ्जका कर्मचारीका अनुसार माघमा यहाँ मुस्किलले सात जना नेपाली पर्यटक पुगेका छन् । पुसमा ३१ जना नेपाली र एक जना विदेशीले खप्तड घुमेको निकुञ्ज कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ६ सय ९० जना पर्यटकले खप्तड टेकेका छन् । जसमा विदेशी नागरिक ११ जना मात्रै छन् । खप्तड क्षेत्रमा पर्यटक आउन छोडेपछि निकुञ्जभित्र र खप्तड जाने बाटोमा भएका होटल पनि बन्द भएका छन् । ‘घुम्ने मान्छे कोही आउँदैनन् । खालि चिसो खाएर के होटल कुर्नू ?’ खप्तडछान्ना गाउँपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने लोखाडास्थित त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रकाश रावलले भने, ‘पर्यटक बढ्दै जालान् भनेको झन्झन् घट्न थालेका छन् । लगानी उठाउन पनि गाह्रो छ ।’

रावलले पर्यटकको संख्या घट्न थालेपछि आफूहरूको लगानी र समयसमेत खेर जान थालेको बताए । खप्तडमा गत कात्तिकमा यो आर्थिक वर्षकै सबैभन्दा बढी ४ सय ६६ जना पर्यटक पुगेका थिए । जसमा विदेशीको संख्या ६ जना थियो । गत आर्थिक वर्षमा यहाँ दुई हजार ८ सय ९१ जना पर्यटक पुगेका थिए । खप्तडमा अन्तर्राष्ट्रिय महोत्सव आयोजना गरेका कारण उक्त संख्यामा पर्यटक पुगेको जानकारहरू बताउँछन् । जबकि, शिवपुरी, सगरमाथा, चितवनलगायत देशका अन्य संरक्षित क्षेत्रमा घुम्ने पर्यटकको संख्या वार्षिक तीन लाखसम्म पुग्ने गरेको छ । निकुञ्ज क्षेत्रमा सुविधाजनक खाने बस्ने व्यवस्था नहुनु, विद्युत्, टेलिफोन र इन्टरनेट सेवा गतिलो नहुनु, लगानी गरिएका पूर्वाधार समयमै निर्माण सम्पन्न नहुनुजस्ता कारणले यहाँ पुगेका पर्यटक फेरि नफर्किने र अरूलाई पनि घुम्नका लागि सिफारिस नगर्ने गरेका कारण पर्यटकको संख्या घट्न थालेको खप्तडको पर्यटन प्रर्वद्धनमा लागेकाहरू बताउँछन ।

खप्तडमा अपेक्षाकृत पर्यटकको संख्या बढ्न नसके पनि राज्यले गरेको लगानीको अंक भने प्रत्येक वर्ष बढ्दो छ । तर, पर्यटकको सुविधाका लागि भनेर निर्माण गरिएका संरचना अधिकांश प्रयोगविहीन छन् । कतिपय संरचना लामो समयसम्म निर्माण सम्पन्न हुन सकेका छैनन् । १ सय ५० जना पर्यटकलाई सुविधायुक्त तरिकाले रात काट्न मिल्ने भवन निर्माणको काम २०७६ सालमा सुरु भए पनि पाँच वर्ष बित्दा पनि सञ्चालन आउन सकेको छैन । सात महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै २०७६ पुसमा खप्तड राष्ट्रिय निकुञ्जले प्रिफ्याव प्रविधिमा आधारित आठवटा भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरेको थियो । खप्तड निकुञ्जको डोटीबाट आउँदा बास बस्ने ठाउँ बीचपानीमा तीन र खप्तड ब्यारेक नजिक पाँच भवन निर्माणका लागि ठेकेदार कम्पनी टीडीआर एन्ड बिजी जेभीको ठेक्का २०७६ चैतमै स्वीकृत भएको भए पनि लकडाउनका कारण ०७७ माघ मसान्तसम्म कार्य सम्पन्न गर्ने सर्तमा सम्झौता भएको थियो ।

नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७५/७६ मा खप्तडमा सुविधायुक्त भवन निर्माणका लागि विनियोजन गरेको पाँच करोडमध्ये टीडीआर एन्ड बिजी जेभी कम्पनीसँग मूल्य अभिवृद्धि करबाहेक ४ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो । विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले तोकिएको समयमा कार्य सम्पन्न गर्न नसकेपछि चार पटक म्याद थप भएको थियो । नयाँ भवनहरू निर्माण सम्पन्न भइसकेको भए पनि सञ्चालन हुन अझै समय लाग्ने खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । ‘भवन निर्माण सम्पन्न भए पनि खानेपानी, फेन्सिङ, पानी तर्काउने संरचनाहरू निर्माण गर्न बाँकी नै छ,’ उनले भने, ‘सबै काम सकिएपछि कार्यविधि बनाएर ठेक्का प्रक्रिया सुरु हुन्छ । यो सबै गर्न समय लाग्न सक्छ ।’

खप्तडमा गडबड

खप्तडमा पर्यटकको सुविधायुक्त आवास निर्माणका नाममा विगतमा पनि करोडौं रकम खर्च भइसकेको छ । यहाँको ब्यारेक क्षेत्रमा तीन, त्रिवेणी क्षेत्रमा तीन, केदारढुंगामा तीन पक्की भवन र पाँचवटा फलामे ट्रस्ट छन् । यस्तै, बाबा आश्रम जाने बाटामा चार, घोडा दाउना पाटनमा एक, खापर दहमा तीन र सहस्रलिंगमा एक पक्की भवन बनेको अभिलेखबाट देखिन्छ । डोटी भएर आउने बाटो बीचपानीमा दुईवटा पक्की भवन र तीनवटा फलामे ट्रस्ट भएको कागजातबाट देखिन्छ । अछामबाट खप्तड छिर्ने बाटामा पर्ने गणेशस्थान पाटनमा एक र बझाङको बाटामा पर्ने लोखाडामा एक गरी खप्तड क्षेत्रमा मात्र ३० भन्दा बढी भवन निर्माण भए पनि अहिले सबैजसो प्रयोगविहीन छन् । कतिपय भग्नावशेषमा परिणत भइसकेका छन् भने धेरैजसो जीर्ण र अलपत्र छन् ।

१५ वर्षको अवधिमा मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खप्तड पर्यटन विकास समिति, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, नेपाल पर्यटन बोर्ड, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय पालिकाहरूले यहाँ विभिन्न पूर्वाधार निर्माणका लागि एक अर्बभन्दा बढी रकम खर्चिसकेका छन् । खप्तडमा पर्यटन प्रवर्द्धनका नाममा यी सबै निकायले बर्सेनि खर्च गर्ने रकमको अंक पनि करोडको हाराहारीमा छ । यद्यपि, खप्तडमा पर्यटक आगमनको संख्या भने घट्दो क्रममा छ । ‘यहाँ भएको लगानी बालुवामा पानी खन्याएजस्तो हुने गरेको छ । योजनाबद्ध रूपमा विकास गर्नेभन्दा पनि खप्तड राजनीति र भ्रष्टाचार गर्ने थलो भएको छ,’ खप्तड पर्यटनको प्रवर्द्धनका लागि निजी क्षेत्रबाट सक्रिय डोटीका होटल व्यवसायी दीपक खड्का भन्छन्, ‘खप्तडमा पर्यटक आउलान् भन्ने आशामा मध्यवर्ती क्षेत्रमा होटल र होमस्टेमा गरेको करोडौं लगानी पनि डुब्ने अवस्थामा पुगेको छ ।’

जति लगानी गरे पनि खानेबस्ने व्यवस्थापन नै गतिलो हुन नसक्नु खप्तडको दुर्भाग्य भएको खप्तड मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र सिंहको भनाइ छ । ‘अहिले पनि खप्तडमा पर्यटक नजानुको कारण खानेबस्ने व्यवस्था राम्रो नहुनु नै हो,’ उनले भने, ‘विभिन्न निकायले यहाँ गरेको लगानीको सदुपयोग नहुनु, यहाँ भएको अनियमितताको छानबिन नहुनु र चरम राजनीति हुनु नै खप्तडको दुर्भाग्य हो ।’ उनले खप्तडमा भएको लगानी योजनाबद्ध र दिगो कार्यान्वयन भइदिए खप्तडले यस्तो दुर्दशा भोग्नु नपर्ने बताउँछन् । लगानीको सही सदुपयोग हुन नसक्नुमा पर्यटनमैत्री नीति नियम बाधक रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीम खड्काले बताए ।

खप्तडमा बनेका संरचनाहरूको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई सर्तसहित दिने हो भने उच्च सुविधायुक्त आवास र खानपानको व्यवस्थापन हुने र राज्यको आम्दानी पनि बढ्ने उनले बताए । होटल सञ्चालन कार्यविधि बनाएर तत्कालै लागू नगर्ने हो भने खप्तडमा लगानी गर्नु नै अर्थहीन हुने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ८, २०८० ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?