कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओपेनएआईको सशक्त भिडियो जेनेरेटर 'सोरा'

काठमाडौँ — प्रयोगकर्ताले लिखित रूपमा सोधेका प्रश्नहरूको जवाफ दिने एआई च्याटबट, च्याट जीपीटी सार्वजनिक गरेसँगै चर्चामा आएको ओपनएआईले यसपाली उच्च गुणस्तरको भिडियो बनाउन सक्ने अर्को नयाँ मोडल तयार पारेको छ ।

ओपेनएआईको सशक्त भिडियो जेनेरेटर 'सोरा'

बिहीबार सार्वजनिक गरिएको 'सोरा' नामक टेक्स्ट-टु-भिडियो जेनेरेटरले अन्य भिडियो जेनेरेटरहरूभन्दा सुसंगत र थ्रीडी भिडियोसमेत सिर्जना गर्ने सक्ने कम्पनीले जनाएको छ । जापानी भाषाको शब्द 'सोरा' को अर्थ आकाश हो ।

सोराले एक मिनेटसम्मको भिडियो सिर्जना गर्ने र ती निकै यथार्थपरक र वास्तविक झैँ लाग्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

प्रयोगकर्ताले आफूलाई चाहिएजस्तो भिडियो बनाउन सोरालाई लेखेर निर्देशन दिन सक्छन् । हाल यो मोडल परीक्षणकै क्रममा रहेकाले कम्पनीले केही सिमित भिजिअल आर्टिस्ट, डिजाइनर र फिल्म निर्मातालाई मात्रै सोरा चलाउन दिएको छ । रचनात्मक क्षेत्रमा रहेकाहरूलाई सहज तरिकाले भिडियो बनाउने सुविधा दिन सोरा निर्माण गरिएको ओपेनएआईले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सोरामार्फत सिर्जना भएका भिडियोको नमूना सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा शेयर गर्दै आएका छन् ।

द न्यु योर्क टाइम्सका प्रविधि पत्रकार केड मेजले अघिल्ला एआई भिडियो जेनेरेटरभन्दा सोरा निकै एडभान्स्ड भएको उल्लेख गरेका छन् । ‘ओपेनएआईले सार्वजनिक गरेको यो प्रविधिले यस्ता भिडियो सिर्जना गर्न सक्छ जुन कुनै हलिउड फिल्मका दृष्यबाट फुत्त निकालिए झैं लाग्छ,’ उनले लेखेका छन्, ‘पछिल्लो समय गुगल र मेटाजस्ता ठूला कम्पनीसँगै रनवेजस्ता स्टार्टअपहरू पनि यस्ता भिडियो जेनेरेटर टुल निर्माणमा लागिपरेका छन् ।’

यो प्रविधिले फिल्म निर्माताहरूको काम सहज बनाउन सघाउने भए पनि अनलाइनमार्फत मिथ्या सूचना प्रवाह अझै भयावह बनाउन सक्ने प्रविधि विज्ञहरूले औंल्याउँदै आएका छन् । इन्टरनेटमा उपलब्ध सामग्रीमध्ये कुन वास्तविक हो र कुन झुट हो पत्ता लगाउनु थप चुनौतीपूर्ण हुने उनीहरूको राय छ । ‘यस्ता प्रकारका एआई प्रविधिले चुनाव प्रभावित गर्न सक्ने भएकाले यीप्रति म निकै ससंकित छु,’ एआईमा विशेषज्ञता हासिल गरेका वासिङ्टन विश्वविद्यालयका प्राध्यापक ओरेन एट्जियोनीको भनाइ हो यो ।

प्रकाशित : फाल्गुन ७, २०८० २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?