कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सुप्रिम सहकारीका पीडितसँग प्रहरीले माग्यो उजुरी

घनश्याम गौतम

बुटवल — बुटवलको सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ परेको दुई दिनपछि प्रहरीले सहकारीबाट पीडित भएकाहरुसँग उजुरी माग गरेको छ । इलाका प्रहरी कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै सहकारी संस्थाका बचतकर्ता र शेयर सदस्यलाई रकम जम्मा गरेको प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो ।

सुप्रिम सहकारीका पीडितसँग प्रहरीले माग्यो उजुरी

प्रहरीको आग्रहपछि उजुरी गर्ने पीडितहरुको इलाका प्रहरी परिसरमा भिड लागेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले यस अघिका पीडितहरुको उजुरीको आधारमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई बिहीबार बुटवलबाट र भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईलाई स्याङजाबाट पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सहकारीका अध्यक्ष र भैरहवा शाखा व्यवस्थापकलाई पक्राउ गरेपछि थप पीडितलाई प्रमाणसहित उजुरी माग गरेर अनुसन्धान सुरु गरिएको बताए ।

‘आजै उजुरी माग गरेका छौं, कागजपत्र खोज्ने र सफ्टवयेर अध्यनका लागि पोखरासँग पनि समन्वय गर्दैछौं,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धान सुरु भएको छ ।’ पोखराबाट सफ्टवयेर झिकाएपछि विज्ञसहितको टोली खटाएर विस्तृत अनुसन्धान गरिने उनले बताए ।

आइतबार जारी गरेको सूचनामा इलाका प्रहरी कार्यालय बुटवलले सहकारीका सदस्य र बचतकर्तालाई बचत पासबुक, शेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । उजुरीका लागि अन्तिम मिति तोकिएको छैन ।

गुरुङ, भैरहवा शाखा व्यवस्थापक पाण्डे र प्रधान कार्यालय बुटवलका व्यवस्थापक सागर केसीसहितको संलग्नतामा सहकारीका पूर्व अध्यक्ष एवं हालका संरक्षक गितेन्द्रबाबु (जिबी) राईले बुटवल, भैरहवाका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रुपैंयाँ रकम हिनामिना गरेको सहकारी रजिष्टारको कार्यालय दाङले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

सुप्रिममा २०७८ सम्म राई र त्यसपछि गुरुङ अध्यक्ष बनेका थिए । राई झण्डै एक वर्षदेखि र प्रधान कार्यालयका व्यवस्थापक ३ महिनादेखि सम्पर्कविहिन छन् ।

प्रहरीसँगको बयानका क्रममा अध्यक्ष गुरुङ र पाण्डेले सहकारीमा धेरै निर्णय र ऋण लगानीका काम सफ्टवेयर मार्फत नै हुने गरेको र राईकै सबै निर्णय चल्ने गरेको बताएका छन् । उनीहरुसँग सोधपुछ जारी रहेको अनुसन्धानमा खटिएका प्रहरीले जनाएका छन् । सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न ५ कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ रुपैयाँ रकम उपलब्ध गराएको देखिएको छ । उक्त रकम कागजी प्रकृया पुरा नगरी ऋणको रुपमा उपलब्ध गराएको बचतकर्ताको आशंका छ ।

सुप्रिम सहकारीबाट विभिन्न मितिमा राई अध्यक्ष र रास्वपाका सभापति रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न ५ वटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८ सय ६०, जिबी ग्रुप एण्ड कम्पनी लिमिटेडमा विभिन्न ७ वटा मितिमा गरि १४ करोड ९९ लाख ५९ हजार ५ सय २०, स्प्रीङ उड रियल स्टेड हाउजिङ प्रालिमा ३ वटा मितिमा ६ पटक गरि १८ करोड २१ लाख ७८ हजार १ सय ८३ रुपैयाँ रकम लगेको देखिएको छ ।

त्यस्तै राई सञ्चालक रहेको नेचर नेष्ट प्रालिमा विभिन्न ३ वटा मितिमा २ करोड ८९ लाख ७१ हजार ८ सय ८५ र गितेन्द्रबाबु राईको नाममा ३ वटा मितिमा ६ करोड २० लाख ८८ हजार ४ सय ८९ रुपैयाँ गरि ७८ करोड ५० लाख ७६ हजार बढी रकम लगेको लुम्बिनी प्रदेश सहकारी रजिष्टारको प्रतिबेदनमा देखिएको छ । विभिन्न ५ वटा कम्पनीमा लगेको ऋणवापत राईले सहकारीलाई व्याज मात्रै ९ करोड १९ लाख १ सय रुपैयाँ बुझाउनु पर्ने देखिन्छ । सावाँ र व्याज गरि ८७ करोड ६९ लाख ७६ हजार ७ सय ६५ रुपैयाँ लिएर राई झण्डै एक वर्षदेखि सम्पर्कविहीन छन् ।

प्रकाशित : फाल्गुन ६, २०८० १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?