कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

संस्थागत निक्षेपकर्तालाई बढी ब्याज, कृषि र साना उद्यमलाई प्रोत्साहन

बैंक तथा वित्तीय संस्थाले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ मा गणना गर्न पाउने 
राजु चौधरी

काठमाडौँ — अब बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपकर्तालाई थप एक प्रतिशत बढी ब्याज दिन पाउने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याज अन्तर एक प्रतिशत मात्र कायम गरेपछि बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपमा थप एक प्रतिशत बढी ब्याज दिन पाउने भएका हुन् । 

संस्थागत निक्षेपकर्तालाई बढी ब्याज, कृषि र साना उद्यमलाई प्रोत्साहन

‘संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ । यसअघि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर २ प्रतिशत थियो । हाल वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले निक्षेपको ब्याजदर निरन्तर घटिरहेकाले थप घट्न नदिन व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याज अन्तर १ प्रतिशत बिन्दुले घटाइएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए ।

अब बैंक तथा वित्तीय संस्थाले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ मा गणना गर्न पाउने भएका छन् । यसअघि कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको १ करोडसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ मा गणना गर्न पाउने व्यवस्था थियो । यसरी ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा गणना भएको कर्जाको जोखिमभार कम (७५ प्रतिशत) मात्र हुन्छ । यसरी रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने कर्जाको सीमा बढाउँदा त्यो क्षेत्रमा बढी कर्जा प्रवाह हुने दाबी कार्यकारी निर्देशक श्रेष्ठको छ । ‘कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह धेरै कर्जा विस्तार होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो,’ उनले भने ।

आन्तरिक एवम बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाका क्रममा गरिएका नीतिगत व्यवस्थालाई दृष्टिगत गरी ब्याजदर करिडोरअन्तर्गतका दरलाई यथावत् राखिएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने पनि राष्ट्र बैंकले जनाएको छ । अनिवार्य नगद अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत् राखिएको जनाएको छ ।

राष्ट्र बैंककले पहिलो त्रैमासिक समीक्षामा ब्याजदर घट्न र कर्जा प्रवाह बढ्न सहयोग पुग्ने गरी लचिलो ल्याएको थियो । मौद्रिक नीतिमार्फत बैंकदर र नीतिगत दर घटाइएको, घरजग्गा, सेयर बजारलगायत क्षेत्रमा निश्चित रकमसम्मको कर्जामा जोखिम भार घटाइएकोलगायत व्यवस्थाले वित्तीय प्रणालीमा ब्याजदर घट्ने र कर्जा प्रवाह बढ्ने राष्ट्र बैंकले दाबी गरेको थियो ।

‘उल्लेख्य शोधनान्तर बचत तर कर्जा प्रवाह शिथिल रहेकोले मौद्रिक तरलता बढेको छ । बैंकिङ प्रणालीमा तरलता स्थिति सहज भएको छ भने अल्पकालीन एवम् दीर्घकालीन ब्याजदर घटिरहेका छन्,’ राष्ट्र बैंक भन्छ, ‘मौद्रिक नीतिको लचिलो कार्यदिशा, सहज तरलता स्थिति र न्यून ब्याजदरको विद्यमान अवस्थालाई अवसरका रूपमा सदुपयोग गर्न आन्तरिक उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा बढी योगदान गर्ने क्षेत्रहरूतर्फ कर्जा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने देखिएको छ ।’

मूल्यवृद्धिमा परेको चाप कम हुँदै गए पनि जोखिम टरिनसकेको राष्ट्र बैंकले बताएको छ । थोक मूल्य र तलब तथा ज्यालादर सूचकांकको वृद्धि दर पनि न्यून छ । नेपालले दुई–तिहाइभन्दा बढी आयात गर्ने मुलुक भारतमा पनि मूल्यवृद्धि घट्दै गएको राष्ट्र बैंकको दाबी छ । ‘तथापि, रुस–युक्रेन र पश्चिम एसियाली केही मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मुख्यगरी इन्धन र खाद्य वस्तुको मूल्यमा उत्तारचढाव आउन सक्ने जोखिम छ,’ राष्ट्र बैंकले भनेको छ ।

बाह्य क्षेत्रतर्फ चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आउनुका साथै मौद्रिक विस्तार भएको र निक्षेप तथा कर्जाका ब्याजदर घट्दो क्रममा रहेको बताइएको छ । ‘शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको छ । यसबाट व्यावसायिक मनोबलमा क्रमिक सुधार आउँदै गएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

प्रकाशित : फाल्गुन १, २०८० ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?