कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

अत्यधिक सेवा शुल्क लिने कोकिल विज्ञापन एजेन्सीलाई कारबाही

कान्तिपुर संवाददाता

काठमाडौँ — विज्ञापन बोर्डले अत्यधिक सेवा शुल्क लिने काठमाडौंको ‘कोकिल मिडिया’लाई कारबाही गरेको छ । बोर्डले १० हजार रुपैयाँ जरिवाना र ०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

अत्यधिक सेवा शुल्क लिने कोकिल विज्ञापन एजेन्सीलाई कारबाही

नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौंसँग उक्त एजेन्सीले गत असोज १२ मा गरेको सम्झौतामा उल्लिखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारणको आदेश दिएको पाइएकाले उक्त जरिवाना गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारणबापत प्रतिस्पट १०६.६१ रुपैयाँमा सम्झौता गरी एफएम रेडियोमा प्रतिस्पट ११.११ रुपैयाँमा प्रसारण आदेश दिई प्रतिस्पट ९८.५० रुपैयाँ अर्थात् ९८६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारबाहीको निर्णय गरेको हो । एजेन्सीले सम्झौताअनुसार कार्य नगरेकाले नियमानुसार कारबाही गर्न राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रलाई पनि बोर्डले निर्देशन दिएको छ ।

कोकिल मिडिया, अनामनगरले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नुपर्नेमा २० वटा एफएम रेडियोमा मात्र विज्ञापन प्रसारणको आदेश दिएको पनि पाइएको जनाइएको छ ।

यही माघ १९ को बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली ०७७ (पहिलो संशोधनसमेत) को नियम ११ ख–को उपनियम (१) बमोजिम आगामी असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का राख्ने र उक्त अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरणसमेत नगर्ने निर्णय गरेको छ ।

‘कोकिल मिडिया, अनामनगर, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६ बमोजिम बोर्डमा सूचीकरण नभएको, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकुबाट ५२ वटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्नुपर्ने कार्यादेश पाएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘कोकिल मिडियाले २० वटामा मात्र प्रसारणको आदेश पठाई ३२ वटा रेडियोमा प्रसारण आदेश नै नदिएको र प्रसारणको आदेश दिएका एफएममा समेत अत्यधिक ९८६. ५८ प्रतिशत सेवा शुल्क राखी कालोबजारी गरेको छानबिनका क्रममा पाइएपछि कारबाही गरिएको हो ।’

बोर्डमा सूचीकृत नै नभएको विज्ञापन एजेन्सी कोकिल मिडियाले बोर्डमा सूचीकृत नभएका ८ वटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्ने कार्यादेश दिएको पाइएकाले अब आइन्दा बोर्डमा सूचीकृत विज्ञापन एजेन्सी र सञ्चारमाध्यमसँग मात्र विज्ञापन कारोबार गर्न गराउन राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रलाई निर्देशन दिने निर्णय गरेको छ । विज्ञापनबापतको रकम भुक्तानी गर्दा सञ्चारमाध्यमको बिजकको प्रतिलिपिसहित एजेन्सीको कमिसन खुल्ने बिजकका आधारमा मात्र भुक्तानी गर्ने गराउने व्यवस्था मिलाउन केन्द्रलाई निर्देशन दिएको छ ।

केन्द्र र कोकिल मिडियाबीच गत असार १२ मा भएको सम्झौताको बुँदा नम्बर ४ बमोजिम उक्त एजेन्सीले रेडियो सन्देश प्रसारणको कार्य सम्पन्न नगरेकाले सम्झौताको बुँदा नं ७ बमोजिम कोकिल मिडियालाई कारबाही गर्न केन्द्रलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रकाशित : फाल्गुन १, २०८० ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?