११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

ओटीटी सेवाका कारण नेपाल टेलिकमको आयमा ५३ करोडले कमी

कान्तिपुर संवाददाता

काठमाडौँ — ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा नेपाल टेलिकमले गत आर्थिक वर्षको दोस्रो त्रैमासिक (२०७९ पुष मसान्त) को तुलनामा चालु आवको सोही अवधिमा करिब ५२ करोड ९२ लाख ७५ हजारले कमी भएको जनाएकाे छ ।

ओटीटी सेवाका कारण नेपाल टेलिकमको आयमा ५३ करोडले कमी

ह्वाट्सएप, म्यासेन्जर, भाइबर, टेलिग्रामजस्ता ओभर द टप (ओटीटी) प्लाटफर्मका कारण दूरसञ्चार सेवा प्रदायकको आम्दानी र मुनाफा प्रभावित भइरहेको अपरेटरहरूको दाबी छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधि (२०८० पुस मसान्त) सम्ममा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार कुल आम्दानी गरेका छ भने खुद मुनाफा ३ अर्ब ९३ करोड १४ लाख ३ हजार रहेको जनाएको छ । गत आवको सोही अवधिको तुलनामा यसपटक टेलिकमको आम्दानी र मुनाफा दुवैमा कमी आएको देखिन्छ ।

टेलिकमले २०७९ पुष मसान्तसम्म २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । यसको तुलनामा ७९ करोड १७ लाख ५७ हजार अर्थात ३.५८ प्रतिशत) ले कमी भएको कम्पनीले जनाएको छ । त्यस्तै, चालु आवको दोस्रो त्रैमासिक अवधिसम्मको कुल सञ्चालन आय १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रहेको उल्लेख छ । उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आय १८ अर्ब ७ करोड ७३ लाख ४८ हजारको तुलनामा ८३ करोड ५ लाख ६९ हजार अर्थात ४.५९ प्रतिशतले कम हो ।

चालु आवको दोस्रो त्रैमासिक अवधिमा कम्पनीको खुद मुनाफा अघिल्लो पटककोभन्दा ७.६० प्रतिशतले कम देखिन्छ । गत आवको पुष मसान्तको खुद मुनाफा ४ अर्ब २५ करोड ४७ लाख ७६ हजारको तुलनामा यसपटक ३२ करोड ३३ लाख ७३ हजारले कमी भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी यस त्रैमासिक अवधिमा ४३.६८ रुपैयाँ छ ।

गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा चालु आव सोही अवधिमा राजश्व तथा खुद मुनाफामा कमी आउनुका प्रमुखकारणमा ओटीटी सेवाको बढ्दो प्रयोग, दुर्गम स्थानमा सेवा विस्तार गर्दाको लागत बढि हुनु, सेवाको दररेटमा कटौती, बैंकको ब्याजदरमा भएको परिवर्तन लगायत रहेको टेलिकमले आफ्नो अपरिस्कृत वित्तीय विवरणमा उल्लेख गरेको छ ।

प्रकाशित : फाल्गुन १, २०८० १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?