२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

बिचौलियामार्फत माछाका भुरा लिन्छन् किसान

प्रत्येक सिजनमा माछाका भुरा अभाव, व्यावसायिक किसानलाई हैरानी 
अर्जुन राजवंशी

बिर्तामोड — झापा बाह्रदशी गाउँपालिकाका दीपक सुवेदी दुई सातायता हैरान छन् । गुणस्तरीय माछाका भुराका लागि उनले चिनेजानेका तथा साथीभाइ सबैसँग सोधीखोजी गरिसके । तर पनि माछाको भुरा पाएका छैनन् । सुवेदीले तीन बिघा जमिन भाडामा लिएर व्यावसायिक माछापालन गर्दै आएका छन् । अहिले भुरा हाल्ने सिजन हो । दीपकजस्तै जिल्लाका किसानले भुराको समस्या भोगिरहेका छन् । 

बिचौलियामार्फत माछाका भुरा लिन्छन् किसान

गुणस्तरीय भुरा अभावमा माछापालकले सिजन सुरु भइसक्दासमेत पोखरीमा माछा हाल्न पाएका छैनन् । ‘भुरा हाल्न एउटा पोखरी तयार गरिसकेको छु । चारैतिर बुझिसकें । राम्रो भुरा यहाँ पाइन्छ भनेर कहीँबाट कुरा आएको छैन,’ सुवेदीले भने ।

झापामा ५ सयभन्दा बढी किसानले व्यावसायिक माछापालन गर्दै आएका छन् । यस वर्ष माछाले भाउ राम्रो पाएको छ । पोखरीमै २ सय ६० रुपैयाँ प्रतिकिलोका दरले माछा बिक्री भइरहेको छ । भाउ राम्रो पाएकाले हौसिएका किसान गुणस्तरीय भुरा नपाउँदा भने निराश बनेको किसान हरि मैनालीले बताए । ‘सिजनको सुरुमै भुरा हाल्न पाउँदा उत्पादन पनि चाँडै लिन पाइन्छ,’ मैनालीले भने, ‘तर, गुणस्तरीय भुरा नपाएर हैरान छौं । भुरा छ भनेको ठाउँमा गएर हेर्‍यो भने गुणस्तर छैन । गुणस्तरहीन भुरा हालेर के गर्नु ? लगानी आधा पनि उठ्दैन ।’

भुराको अभाव झेलिरहेका किसानले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको ध्यानाकर्षण गराएका छन् । विज्ञ केन्द्रका प्राविधिक तथा प्रमुखमार्फत जिल्लामा माछाको गुणस्तरीय भुरा उत्पादन गर्ने ‘ह्याचरी’ निर्माण गर्न उनीहरूले आग्रहसमेत गरेका छन् । ‘माछा किसानप्रति तीनै तहका सरकार जिम्मेवार भएनन् । सरकार जवाफदेही हुने हो भने किसानले भुराको अभाव झेल्नुपर्ने अवस्था हुँदैन’ बाह्रदशी गाउँस्तरीय माछापालक कृषक समूहका अध्यक्ष रुद्रबहादुर विष्टले कटाक्ष गरे, ‘विडम्बना, सरकारले माछापालक किसानको विकास र प्रवर्द्धनभन्दा सामुदायिक कुकुरको बन्ध्याकरणका लागि बढी बजेट विनियोजन गरेको छ ।’

बाह्रदशी गाउँपालिकाले चालु वर्षमा पालिकाभरका माछापालकका लागि साढे ३ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको उनको गुनासो छ । ‘तर गाउँपालिकाले भुस्याहा कुकुरको बन्ध्याकरणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनको आक्रोश छ, ‘यस्ता सरकारबाट के अपेक्षा गर्नु ?’

गाउँपालिकामा माछापालन गर्ने ७७ जना किसान छन् । जिल्लामा सरकारीस्तरमा ह्याचरी नहुँदा प्रायः किसान अवैध रूपमा भारतबाट ल्याइएका गुणस्तरहीन माछाका भुरा खरिद गर्न बाध्य छन् । बिचौलियासँग भुरा खरिद गर्नुपर्दा बर्सेनि ठूलो संख्यामा किसान घाटामा पर्ने गरेको उनीहरूको भनाइ छ ।

प्रत्येक सिजनमा माछाको भुरा अभाव हुने गरे पनि उचित निकास निकाल्न नसकिरहेको विज्ञ केन्द्र झापाका प्रमुख शीतल भट्टराईले बताइन् । अवैध रूपमा भारतबाट ल्याइएका भुराभन्दा नेपाली कृषकले नै उत्पादन गर्ने भुरामा विश्वास बढाउन उनको आग्रह छ । जिल्लाको शिवसताक्षी नगरपालिकास्थित चन्द्रडाँगी बीउबिजन फार्ममा ह्याचरी निर्माणको प्रक्रिया अघि बढेको उनले जनाइन् ।

प्रकाशित : माघ २५, २०८० ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?