२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ठाउँठाउँको चेकिङले पर्यटक हैरान

लुम्बिनी भ्रमणका लागि दिनहुँ रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तुका नाका भएर भारतीय आउँछन् तर नाकामै भारतीय पर्यटकले भोग्नुपरिरहेको सास्तीबारे व्यवसायीले प्रशासनको जति ध्यानाकर्षण गराए पनि भएन सुधार

भैरहवा — मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा अहिले भारतीय पर्यटक भरिभराउ छन् । सीमावर्ती सहरका होटल, क्यासिनो, स्पा र रेस्टुरेन्ट मात्र होइन, सीमा क्षेत्रबाट टाढाका पोखरा, चितवन, काठमाडौंमा अहिले भारतीय पर्यटकका कारण चहलपहल छ । लुम्बिनी प्रदेशका धार्मिक धाममा दर्शनका लागि आन्तरिकसँगै भारतीय पर्यटकको भीड देखिन्छ । तेस्रो मुलुकबाट आउनेको संख्यामा उल्लेख्य सुधार नआएका बेला नेपालको पर्यटनलाई भारतीयले भरथेग गरिरहेका छन् ।

ठाउँठाउँको चेकिङले पर्यटक हैरान

आन्तरिक र भारतीयको आगमनले पर्यटनको परम्परागत मान्यतामा परिवर्तन आएको व्यवसायी बताउँछन् । तर, भारतीयले मुलुक प्रवेशबिन्दुबाटै अनावश्यक झमेला बेहोर्नुपरिरहेको पर्यटनकर्मीको भनाइ छ । प्राकृृतिक र धार्मिकस्थल अवलोकनका लागि उत्साह बोकेर आउने भारतीय पर्यटक गुनासो बोकेर फर्किने गरेको उनीहरूको गुनासो छ । लुम्बिनी भ्रमणका लागि दिनहुँ रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तुका नाका भएर भारतीय आउँछन् । तर, नाकामै भारतीय पर्यटकले भोग्नुपरिरहेको सास्तीबारे प्रशासनको जति ध्यानाकर्षण गराए पनि सुधार नभएको लुम्बिनीका पर्यटन व्यवसायी चन्दनसिंह कुँवरले जनाए ।

रूपन्देहीको प्रमुख नाका बेलहियाबाहेक लुम्बिनीनजिकै कालीदह (कक्रहवा) नाकाबाट दैनिक भारतीय लुम्बिनीलगायतका पर्यटकीय क्षेत्र घुमफिरका लागि आउने गर्छन् । यो नाकाबाट लुम्बिनी ७/८ किलोमिटर दूरीमा छ । ‘कक्रहवा नाकाबाट आउने पर्यटकको गाडी दुई किलोमिटर अन्तरमा पाँच स्थानमा जाँच गरिन्छ,’ कुँवरले भने, ‘नाकामै सबै खालका जाँच गरेर पठाउने व्यवस्था भइदिए पर्यटकलाई राहत हुन्थ्यो ।’

नाकाबाट प्रवेश गर्नासाथ नेपाल र सशस्त्र प्रहरीले जाँच गर्छन् । त्यसपछि भन्सारले छुट्टै जाँच गर्छ । भन्सार छुटेपछि नेपाल प्रहरीले आफ्नो चौकी सामुन्ने रोकेर जाँच गर्छन् । त्यहाँबाट पार पाएर अगाडि बढेको केही समयमा सशस्त्रले जाँच गर्छ । ‘डेढ घण्टा त भन्सारमै लाग्छ,’ कुँवरले भने, ‘ठाउँ–ठाउँमा रोकेर जाँदा पर्यटक समयमा गन्तव्यमा पुग्दैनन् ।’ अहिले लुम्बिनी र आसपासका गन्तव्य पुग्ने मार्गको विस्तार र निर्माणले यात्रा सहज छैन । छोटो–छोटो दूरीमा प्रहरीले भारतीय गाडी रोक्दा पर्यटक हैरान हुने गरेको उनले बताए ।

भन्सार बिन्दुमै सबै जाँच प्रक्रिया सञ्चालन नहुँदा बाँकेको नेपालगन्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने भारतीयले झन्झट बेहोर्नुपरिरहेको पर्यटन व्यवसायी श्रीराम सिग्देलले जनाए । नाकामा भन्सार सुविधा लिएका गाडीले रुट पर्मिटका लागि अर्को स्थानमा जानुपर्छ । भन्सार सुविधा लिएपछि ढुक्क भएर यात्रा थाल्ने पर्यटक कार्यालय फरक स्थानमा भएकाले रुट पर्मिट लिने/नलिने झुक्किन्छन् । ‘निजी गाडीमा आएका पर्यटक झुक्किएर रुट पर्मिटबिनै गन्तव्यतर्फ हुइँकिन्छन्,’ उनले भने, ‘जिल्लाबाट टाढा पुगेपछि प्रहरीले जाँच गर्दा रुट पर्मिटबारे जानकारी पाउँछन् । फर्केर नेपालगन्ज आउनुपरेपछि हैरान हुन्छन् ।’ भन्सार बिन्दुमै सबै प्रकारका जाँच गरेर पर्यटकलाई निर्बाध गन्तव्यमा पुग्ने वातावरण तयार गरिनुपर्ने सिग्देलको भनाइ छ । ‘शंकास्पद गतिविधि देखिए नियन्त्रणमा लिएर जाँच गरे हुन्छ,’ उनले भने, ‘होइन भने घुम्न आएका पर्यटकलाई दर्जनौं स्थानमा रोकर सोधपुछ गर्न जरुरी छैन ।’

बाँकेको छिमेकी बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्वारामा आन्तरिक पर्यटकसँगै भारतीयको भीड लागेको होटल एसोसिएसन नेपाल ठाकुरद्वाराका अध्यक्ष मोहन चौधरीले बताए । तर यहाँको धार्मिक र प्राकृतिक विविधता सम्झिएर प्रवेश गर्ने पर्यटकले पाइलैपिच्छे सास्ती खेप्नुपर्ने उनले गुनासो गरे । ‘भन्सारबाट सबै प्रक्रिया पूरा गरेर प्रवेश गरेपछि राजमार्गका ठाउँठाउँमा चेकिङका नाममा सुरक्षाकर्मीले सताउँछन्,’ उनले भने, ‘प्रहरीको व्यवहारले पर्यटक दिग्दार हुने गरेका छन् ।’ सरकारका सबै निकायको भारतीय पर्यटकलाई गर्ने व्यवहारमा एकरूपता जरुरी रहेको चौधरीको भनाइ छ । अपराध र कानुनविपरीतका कार्य नगर्दासम्म पर्यटकलाई दुःख नदिन उनको आग्रह छ । ‘भारतीय पर्यटकलाई असुलीको माध्यम बनाइयो,’ उनले भने, ‘बाटोमा रोक्यो, पैसा असुल्यो, पठायो ।’

भारतीय पर्यटकले मुलुक आउँदा २५ हजार भारतीय रुपैयाँ (भारु) मात्र नगद बोकेर आउन पाउने नियमले पनि कठिनाइ भइरहेको भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले जनाए । यहाँका सीमावर्ती सहरमा भारतीयलाई लक्ष्य गरेर धमाधम क्यासिनो सञ्चालन भइरहेका छन् । पोखरा, चितवन, काठमाडौं र मुक्तिनाथसम्म भारतीय पुगिरहेका छन् । तर, उनीहरूले बोकेर ल्याउने नगद रकमको दायरा साँघुरो भएकाले समस्यामा पर्ने गरेको बजिमयको भनाइ छ ।

‘उनीहरू रमाउन यहाँ आउँछन्,’ बजिमयले भने, ‘सीमित नगद बोकेर आउनुपर्दा मर्कामा परिरहेका छन् ।’ यहाँ पाँच सय र एक हजार भारु नोट नचल्ने भएकाले झन् समस्या भइरहेको उनको भनाइ छ । ‘खुद्रा नोटका धेरै झोला बोकेर ल्याउन पनि समस्या हुन्छ,’ उनले भने, ‘थोरै रकम बोकेर आउने भारतीय फर्किंदा बेखर्ची भएको देखिन्छ ।’

प्रकाशित : माघ ६, २०८० ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?