कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सुन्तलाबाटै गाउँमा करोडौं नगद

माधव अर्याल

(पाल्पा) — रैनादेवी छहरा–४, अमलाबासका सुन्तला किसान कमल घिमिरेको रहरलाग्दो बगैंचा छ । सिजनमा न्यूनतम पनि १२ लाख नगद सुन्तलाबाट भित्रिन्छ । अबको दुई वर्षमा उनको बगैंचाबाट २० लाखको सुन्तला निकासी गर्ने लक्ष्य छ । ४० रोपनी क्षेत्रफलमा फैलिएको उनको बगैंचामा १२ सय बिरुवा छन् । ७ सय नयाँ छन् भने ५ सय पुराना हुन् । 

सुन्तलाबाटै गाउँमा करोडौं नगद

‘मैले कोभिडको समयमा बारीलाई सम्याएर सुन्तला बगैंचा तयार गरेको हुँ,’ उनले भने, ‘बिरुवा हुर्केका छन्, यसबाट दोब्बर आम्दानी लिन सक्छु भन्नेमा छु ।’

गाउँको माथिल्लो भागमा घिमिरेको घर छ । सडक र सिँचाइको समस्याले खडेरीले मार पर्ने गरेको उनको गुनासो छ । सुन्तलालाई सिँचाइ बढी चाहिन्छ । सिँचाइ अभावले यस वर्ष दाना सानो भएको उनले बताए । गाउँकै तल्लो भेगमा राम्रो सुन्तला राम्रो फल्दा सिँचाइ अभावले भने पिरोलेको उनले बताए । स्थानीय तहले यसमा समन्वय, सहकार्य र सहयोग नगरेको उनले गुनासो छ । ‘गाउँमै केही गर्छु भनेर सुन्तला लगाएको हुँ,’ उनले भने, ‘तर सहयोग कुनै पनि निकायबाट नपाएपछि दिक्क लागेको छ ।’

रैनादेवी छहरा–५, मुझुङका सुन्तला किसान विनोद कार्कीले पनि वार्षिक १२ लाख बढी नै आम्दानी गर्छन् । बुबा नारायणबहादुर कार्कीको प्रेरणाबाट सुन्तला किसान बनेका कार्कीको बगैंचामा लटरम्म सुन्तला छन् । उनले विभिन्न प्रजातिको आफैं अनुसन्धान पनि गरेका छन् । बिरुवा उत्पादनदेखि दाना बिक्री गरेर अघिल्लो वर्ष राम्रो आम्दानी गरेका थिए । ‘यस वर्षभन्दा अघिल्लो वर्ष अधिक सुन्तला फलेको थियो,’ उनले भने, ‘मल, माटो परीक्षण शिविर, अनुदानमा खाडल खन्न सहयोग, बेर्नामा अनुदान, बोडोपेस्ट, बोडोमिक्सचरलगायतमा गाउँपालिकाले पर्याप्त सहयोग गर्नुपर्छ ।’

पाल्पाकै रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादीका किसान वेनबहादुर पुन पनि सुन्तला खेतीबाट अघि बढेका छन् । वार्षिक ६ लाखभन्दा बढीको सुन्तला उत्पादन गर्छन् । मैनादीकै दानबहादुर कुँवर, नारायण कुँवरलगायत पनि सुन्तला खेतीबाटै अघि बढेका छन् । रिब्दीकोटबाट ५ करोड र रैनादेवी छहराबाट ८ करोड बढीको सुन्तला बिक्री हुने गाउँपालिकाले जनाएका छन् । मैनादी गाउँका सबै किसान सुन्तला उत्पादनमा लागेको किसानका लागि सुन्तला नगदे बाली भएको रिब्दीकोट गाउँपालिकाका कृषि शाखा प्रमुख रञ्जीव कुँवरको भनाइ छ । ‘बसाइँ सरेर गएका समेत सुन्तलाको सिजनमा फर्केर आउँछन्,’ उनले भने, ‘सुन्तलाबाटै ५ देखि १० लाख कमाइ हुनेहरू सुन्तला बिक्रीका लागि एक महिना गाउँ आएर बस्ने चलन छ ।’

रिब्दीकोट गाउँपालिकाको मैनादी, कुसुमखोला, देउराली, खस्यौली, भैरवस्थान, रैनादेवी छहराको मुझुङ, अमलाबास, सोमादी, भुवनपोखरी क्षेत्रमा सुन्तला खेती हुन्छ । यहाँका किसान ५० हजारदेखि १५ लाखसम्म आम्दानी गर्छन् । मुझुङ, छहरा, मैनादी, अमलाबासजस्ता क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेको छ । यस क्षेत्रमा किसानले सुन्तला खेतीबाटै नगद आम्दानी गर्ने गरेका छन् । रिब्दीकोट गाउँपालिकामा मात्र १ हजार ५ सय किसान सुन्तला खेतीमा लागेका छन् ।

२ करोड ५० लाखभन्दा बढीको कारोबार हुने गरेको मैनादी कृषि सहकारीका अध्यक्ष वेनबहादुर पुनले बताए । रिब्दीकोटमा झन्डै १ हजार ५ सय हेक्टर क्षेत्रफल सुन्तला खेती हुन्छ । पालिकाले समूह सहकारीमार्फत किसानलाई उत्पादन र बिक्रीका आधारमा प्रतिकिलो २ रुपैयाँ अनुदान दिने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले जनाए । ‘प्राविधिक सहयोग, आवश्यक सामग्री पनि दिने गरिएको छ,’ उनले भने, ‘समूह र सहकारीको मागबमोजिमका सहयोग उपलब्ध गराएकाले पनि सुन्तला खेती गर्ने किसानको संख्या बर्सेनि बढेको हो ।’

रैनादेवी छहरा क्षेत्रमा झन्डै ८ हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । रैनादेवी छहराबाट मात्रै गत वर्ष १० करोड रुपैयाँको सुन्तला बिक्रीबाट आम्दानी लिन सफल भएका थिए । उत्तर फर्केको भूभागमा सुन्तलाको उत्पादन राम्रो हुन्छ । यस क्षेत्रका किसानले व्यावसायिक सुन्तला बगैंचा बनाएका छन् । ‘हिमाल देखिने चिसो ठाउँ सुन्तला खेतीका लागि उपयुक्त स्थान भएकाले पनि राम्रो भएको छ,’ रैनादेवी छहरा–४, अमलाबासका अगुवा सुन्तला किसान नित्यानन्द पोखरेलले भने, ‘किसानले राम्रो आम्दानी पनि गर्न सफल भएका छन् ।’

बुटवल, भैरहवा, नारायणगढ, पोखरा, नेपालगन्जबाट व्यापारी सुन्तलाको बगान नै खरिद गर्न आउने रिब्दीकोट गाउँपालिका–७, मैनादीका वडाध्यक्ष दानबहादुर कुँवरको भनाइ छ । ‘मैनादी, मुझुङ, अमलावासको सुन्तलाको बजार पनि सहज छ,’ उनले भने, ‘स्वादिलो भएकाले बिक्री पनि सजिलो हुने रहेछ ।’

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ सुन्तला जोनले पनि पकेट क्षेत्र छनोट गरी बिरुवा वितरण, आवश्यक प्राविधिक सहयोग र अन्य सहयोग गर्दै आएको छ । सुन्तला हुने क्षेत्र छनोट गरी सुन्तला पकेट क्षेत्र बनाएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बिरुवा उत्पादन, खाल्डा खन्ने, लगाउनेदेखि रोग–किरा नियन्त्रणका लागि सहयोग गर्दै आएको केन्द्रले जनाएको छ ।

रैनादेवी छहरा गाउँपालिकाका झन्डै ४ सय ५० किसान सुन्तलाको व्यावसायिक खेतीमा लागेका छन् । कतिपय गाउँका प्रायः सबै किसान सुन्तला लगाएका छन् । रैनादेवी छहराको अमलावास र मुझुङका प्रत्येक किसानले धेरै–थोरै सुन्तला बिक्री गर्छन् । पालिकाले सुन्तला खेती विस्तारका लागि समय–समयमा माटो परीक्षण, रोग किरा नियन्त्रणका लागि प्राविधिक परिचालन तथा आवश्यक सरसमान, बोट काँटछाँटका लागि आवश्यक उपकरण प्रदान गर्दै आएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले जनाए ।

प्रकाशित : मंसिर २४, २०८० १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?