कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध

काठमाडौँ — भारत सरकारले प्याजको निर्यातमा पुन: प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो । 

भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्च ३१ सम्मका लागि प्याजको निर्यातमा रोक लगाएको हो । अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनलायको सूचनामा उल्लेख छ ।

करिब ३ महिनाअघि प्याजमा ४० प्रतिशत कर लगाउदा यहाँ मूल्य अचाक्ली बढेको थियो । भारतबाट प्याज नआउँदै नेपालका व्यापारीले मूल्य बढाएका थिए । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा ६० देखि ६५ रुपैयाँ पर्ने प्याजको भाउ एक दिनमै ८० रुपैयाँ पुगेको थियो । खुद्रामा ९० देखि १ सय रुपैयाँसम्म पुगेको थियो । भारतले निर्यातमा पूर्ण प्रतिबन्ध लगाउँदा यहाँ थप प्रभाव पर्ने जानकार बताउँछन् । मुलुकमा कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छ ।

यी क्षेत्रमा औसत २० हजार २ सय ५१ हेक्टरमा प्याज खेती हुन्छ । यसबाट करिब ३ लाख टन उत्पादन हुन्छ । ‘स्वदेशी उत्पादनले दुईतीन महिना पनि धान्दैन, बाँकी भारतकै भर पर्ने हो,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘कालीमाटी तरकारी बजारको कुरा गर्ने हो भने करिब ९५ प्रतिशत भारतीय प्याज नै आयात भई बिक्री हुन्छ ।’ पछिल्लो समय नेपाली बजारमा समेत प्याजको हाहाकार छ । आलु र प्याजको भ्याट विवादले होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायी हडतालमा उत्रिएका छन् ।

आयातकर्ता नै हडतालमा उत्रिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा चार दिनदेखि आलु र प्याज भित्रिएको छैन । समितिले पनि चार दिनदेखि नै आलु–प्याजको मूल्यसूची अपडेट गरेको छैन । होलसेल व्यवसायीहरूले आयात र बिक्री नगरेपछि धेरैजसो पसलमा प्याज नै पाइँदैन । प्याज उपलब्ध भएको पसलमा सर्वसाधारण किलोकै १४० देखि १ सय ५० रुपैयाँसम्म तिर्न बाध्य छन् । भारतले समेत निर्यात प्रतिबन्ध गरेपछि आपूर्ति प्रणालीमा थप समस्या हुने जानकार बताउँछन् । ।

सम्बन्धित समाचार

प्रकाशित : मंसिर २२, २०८० ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?