१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

सिमरामा हवाई इन्धन रिफ्युलिङ स्टेसन

राज्यको ढुवानी खर्च र हवाई कम्पनीको रकम बचत हुने दाबी

काठमाडौँ — सिमरा विमानस्थलमा उडान र अवतरण गर्ने जहाजका लागि हवाई इन्धन भर्ने सुविधा भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आइतबार हवाई इन्धन रिफ्युलिङ स्टेसन उद्घाटन गरेसँगै यस्तो सुविधा उपलब्ध भएको हो ।

सिमरामा हवाई इन्धन रिफ्युलिङ स्टेसन

सिमरामा हवाई इन्धन भर्ने रिफ्युलिङ स्टेसन नहुँदा यसअघि जहाजले काठमाडौंबाटै दोहोरो रुटको इन्धन भरेर आउनुपर्ने बाध्यता थियो । स्टेसन स्थापना भएसँगै राज्यको ढुवानी खर्च र हवाई कम्पनीको रकम पनि बचत हुने रिजालले जनाए ।

‘सिमरामा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसन पहिलै हुनुपर्थ्यो, हवाई जहाज कम्पनीहरूको आग्रह र आयल निगमको नीतिअनुसार स्टेसन स्थापना गरेका छौं,’ मन्त्री रिजालले भने, ‘नाफा नोक्सान नहेरी जनताको सेवाका लागि स्टेसन स्थापना गरेका छौं ।’ सिमरा विमानस्थलबाट दैनिक ९ सयदेखि १ हजार यात्रु आवतजावत गर्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बताए । खराब मौसमका कारण काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका विमानलाई भैरहवा वा विराटनगरसम्म लैजानुपर्ने बाध्यता पनि हटेको उनको भनाइ छ ।

‘दोहोरो रुटको इन्धन काठमाडौंबाटै बोक्नुपर्ने अवस्थाका कारण दुर्घटनाको समेत जोखिम थियो, ‘उनले भने, ‘अब सिमरा विमानस्थलमा आकस्मिक अवतरण गर्नसमेत सहज हुनेछ ।’

मौसम खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न कठिन हुँदा विमानहरू लामो रुट तय गरेर भैरहवा वा विराटनगर जान्थे । काठमाडौंबाट सीधा र छोटो दूरीमा पर्ने भए पनि इन्धन भर्ने सुविधा नहुँदा सिमरा आउँदैनथे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न कठिन भएको अवस्थामा अब रिफ्युलिङ स्टेसन बनेपछि सिमरा पनि विकल्प हुन सक्छ,’ ठाकुरले भने ।

सिमरासँगै चितवन विमानस्थलमा पनि हवाई इन्धन रिफ्युलिङ स्टेसन आवश्यक रहेको उनले बताए । ‘चितवनमा पनि दैनिक ९ सयदेखि एक हजार यात्रु आवतजावत गर्छन् । त्यहाँ पनि रिफ्युलिङ स्टेसन छैन,’ ठाकुरले भने । निगम कम्पनी भए पनि उपभोक्ताको सेवाका लागि यसले बढी काम गरिरहेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीको भनाइ छ । ‘सिमरामा हवाई इन्धन रिफ्युलिङ स्टेसन बन्यो । भयो, अब चाँडै भरतपुर र जुम्ला विमानस्थलमा पनि हवाई इन्धन भर्ने यस्तै स्टेसन स्थापना गर्छौं,’ थानीले भने ।

सरकारको नीति कार्यक्रममै भनिएअनुसार विमानस्थलमा इन्धन भर्ने सुविधा उपलब्ध गराइएको निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले जनाए । ‘यसले कनेक्टिभिटी बढ्छ, मौसम खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका विमानलाई सिमरामा अवतरण गराउन सकिन्छ,’ उनले भने । निगमका अनुसार अहिले जनकपुरस्थित डिपोबाट हवाई इन्धन ढुवानी गरी सिमरामा उपलब्ध गराइएको छ । निकट भविष्यमा सिमरामै भण्डारण गृह तयार गरिने उनको भनाइ छ ।

प्रकाशित : मंसिर १७, २०८० २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?