११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

ठेकेदारको ढिलाइले गहुँमा मल अभावको जोखिम

शंकर आचार्य

पर्सा — कृषि सामग्री कम्पनीको युरिया र डीएपी मल आपूर्ति गर्ने ठेक्का पाएका भारतीय कम्पनी इन्डियन पोटास लिमिटेड (आईपीएल) र दुबईमा मुख्यालय रहेको स्विस सिंगापुर कम्पनीले मल ल्याउन ढिलाइ गरेपछि यस वर्ष गहुँ बाली सिजनमा मलको अभाव हुने जोखिम बढेको छ ।

ठेकेदारको ढिलाइले गहुँमा मल अभावको जोखिम

कम्पनीको मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार भारत सरकारको स्वामित्व रहेको आईपीएलले ग्लोबल टेन्डरबाट गहुँ बालीको सिजनलाई लक्षित गरी तीनवटा कन्साइन्मेन्टको ८५ हजार मेट्रिक टन युरिया र डीएपी मल आपूर्तिको ठेक्का पाएको थियो ।

३०/३० हजार मेट्रिकटन युरिया आपूर्तिको पहिलो र दोस्रो तथा २५ हजार मेट्रिक टन डीएपी आपूर्तिको तेस्रो कन्साइन्मेन्टको ठेक्का आईपीएलले पाएको हो । सम्झौता अनुरूप पहिलो कन्साइन्मेन्टको ३० हजार मेट्रिक टन युरिया कात्तिक मसान्तमा र दोस्रो तथा तेस्रो कन्साइन्मेन्टको ३० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी मंसिरको सुरुवातमै आइसक्नुपर्ने थियो ।

त्यसैगरी २ वटा कन्साइन्मेन्टमा ३०–३० हजार गरी ६० हजार मेट्रिक टन युरिया मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले नोभेम्बरभित्रै मल ल्याइसक्नुपर्नेमा हालसम्म ७ हजार मेट्रिक टन मात्र युरिया ल्याएको र ५२ हजार मेट्रिक टन ल्याउन बाँकी छ । आईपीएलले डीएपीको कन्साइन्मेन्टका लागि हालै एलसी खोलेको जानकारी पाएको पाण्डे बताउँछन् । दुवै आपूर्तिकर्ता कम्पनीले मंसिरभित्रै सम्झौता अनुरूपको मल ल्याउने दाबी गरिरहेको उनले बताए । हाल कम्पनीका शाखा कार्यालयहरूमा मौज्दात पर्याप्त रहेको र किसानको माग धानिरहेको पाण्डेले बताए ।

तर आपूर्तिको ठेक्का लिएका कम्पनीहरूले एक महिनाभित्र मल नल्याएमा भने समस्या हुन सक्ने उनले बताए । ‘तत्काललाई युरिया मलको माग छैन, गहुँ छर्ने बेलामा अहिले डीएपीको माग छ, यसको अभाव छैन,’ उनले भने, ‘आउँदो २५ देखि ३० दिनभित्र किसानलाई गहुँमा छर्न युरिया आवश्यक पर्छ, पुस १५ सम्म पनि युरिया मल आइदिए गहुँलाई मल अभाव हुँदैन ।’ हाल कार्यालयको वीरगन्जस्थित गोदाममा ६ सय मेट्रिक टन युरिया, ६ हजार ७ सय मेट्रिक टन डीएपी र १ सय ७४ मेट्रिक टन पोटास मलको मौज्दात रहेको पाण्डेले जानकारी दिए ।

हाल शाखा कार्यालयहरूमा पनि मलको मौज्दात रहेकाले तत्कालै मलको अभाव हुने अवस्था नरहेको पनि उनले दाबी गरे । कम्पनी प्रादेशिक कार्यालय वीरगन्जले मधेश, वाग्मती र गण्डकी प्रदेशका डेढ दर्जन जिल्लामा मल आपूर्ति गर्छ ।

प्रकाशित : मंसिर १४, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?