११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पाल्पाको सत्यवती मेलाबाट साढे १८ लाख भेटी संकलन

माधव अर्याल

पाल्पा — पाल्पाको सत्यवती तालमा लागेको मेलाबाट १८ लाख ५० हजार ३ सय ३१ रुपैयाँ भेटी संकलन भएको छ । पाँच दिनसम्म चलेको मेलामा संकलित रकम दान पेटिकामा संकलन गरिएको सत्यवती मन्दिर ताल व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए ।

पाल्पाको सत्यवती मेलाबाट साढे १८ लाख भेटी संकलन

तिनाउ गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, समितिका प्रतिनिधि, सुरक्षाकर्मीको सहभागितामा भेटी गणना गरिएको हो । समितिले पाँच दिनको मेला व्यवस्थापन गरेको र ६/७ स्थानमा राखिएका दानपात्रमा संकलन भएको रकम निकालेर गणना गरिएको हो । १ लाख ५० हजारभन्दा बढी श्रद्धालुले मेला भरेको समितिको दाबी छ ।

श्रद्धालुले चढाएको रकम संकलन साथै अधिकांश श्रद्धालुले दानपात्रमा राखे पनि कतिपयले बाहिर फालेको भेटिएको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।

तालको वरपर सबै स्थानमा पैसा भेटिएको छ । ५, १०, २०, ५०, १००, ५००, १००० दरका नोट भेटिएका थिए । विगतमा नोट मिलाउन र गन्नका लागि कम्तीमा तीन दिन चाहिन्थ्यो । यसपटक गाउँकार्यपालिकाले भेटी गणनाका लागि कर्मचारी खटाएकाले एकै दिनमा सकिएको समिति अध्यक्ष गाहाले बताए ।

अघिल्लो वर्ष २१ लाख ८४ हजार मेलाबाट आम्दानी भएको थियो । समितिले सत्यवती परिसरका पसलहरुबाट समेत भाडा संकलन गर्छ । कात्तिक महिनामा पूर्णिमा पर्ने वर्ष सत्यवती बज्यैको दर्शन गर्ने जोग पर्ने भएकोले दर्शनार्थी अधिक पुग्ने गर्छन् । बज्यै बहिरी भएकाले यहाँ चिच्च्याएर बर माग्ने गरिन्नछ । पछिल्ला वर्षमा भने सत्यवती तालमा बाह्रै महिना दर्शनार्थीहरु दर्शन गर्न पुग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गाहाले बताए ।

सत्यवती तालमा पुगेपछि बाँसको लिंगो गाड्ने र मध्यराति पूजा गर्दा त्यही लिंगो चिनेर पूजा गरी चिच्च्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ । बर माग्न र दर्शन गर्न पाल्पाका साथै स्याङ्जा, गुल्मी क्षेत्रबाट बढी भक्तजनहरु सिद्धार्थ राजमार्गको २४ माइलबाट उकालो लाग्छन् ।

बुटवल लगायतका तराईका क्षेत्रबाट झुम्सा पानी मिलबाट पैदल तीन घण्टाको उकालो हिँडेपछि सत्यवती ताल पुग्न सकिन्छ । सवारी साधनको प्रयोग गरेर पनि सहज रुपमा तालसम्म पुग्न सकिने व्यवस्था पछिल्ला वर्षमा छ । यहाँ मेला भर्न रुपन्देही, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ, कास्की, काठमाडौंलगायत छिमेकी देश भारतका गोरखपुर, महाराजगन्ज, बस्ती, लखनउ, नौतनहवाबाट दर्शनार्थी आउने गर्दछन् ।

प्रकाशित : मंसिर १४, २०८० २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?