१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विज्ञापन कटौतीको मारमा एक्स

कम्पनीको कुल मूल्यांकन ४४ अर्ब डलरबाट १९ अर्ब डलरमा झर्‍यो
एजेन्सी

काठमाडौँ — अर्बपति इलन मस्कको सामाजिक सञ्जाल प्लाटफर्म, एक्स (ट्वीटर) मा जातीय तथा धार्मिक घृणा फैलाउने अभिव्यक्तिहरूलाई प्रश्रय दिइएको भन्दै विभिन्न कम्पनीले आआफ्ना विज्ञापन सम्झौता रद्द गर्न थालेका छन् । ठूला ब्रान्डहरूको मन जितेर विज्ञापनबापतको आय बढाई त्यसलाई नै मुख्य स्रोत बनाउन पहल गरिरहेको एक्सका लागि हाल समय कठिन देखिएको छ ।

विज्ञापन कटौतीको मारमा एक्स

गत वर्ष मस्कले ४४ अर्ब डलरमा खरिद गरेको कम्पनीको सेयर मूल्य हाल १९ अर्ब डलरमा झरिरहेका बेला विज्ञापन कटौतीको खबर आएको हो । एप्पल, डिज्ने, वार्नर ब्रदर्स, कमकास्ट, पारामाउन्ट ग्लोबल, लायन्सगेट इन्टरनेटसनलजस्ता प्रख्यात ब्रान्ड एवं मिडिया कम्पनीले एक्समा आफ्ना विज्ञापन रोकिदिएको घोषणा गरेका छन् । मिडिया म्याटर्स नामक संस्थाका अनुसार आईबीएम, एप्पल, ओराकल, ब्राभोलगायत कम्पनीका विज्ञापन एक्सले ‘एडल्फ हिटलर र उनको नाजी दलको प्रशंसा गरिएको’ पोस्टसँगै देखाएको थियो । यता मस्कले भने मिडिया म्याटर्सले आफ्नो कम्पनीको अभिव्यक्ति स्वतन्त्रतामा प्रहार गरेको र त्यसविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।

आफ्नो कम्पनीको विज्ञापनछेउ नाजी–पक्षीय सामग्री पोस्ट भएकामा आपत्ति जनाउँदै अघिल्लो साता हार्डवेयर र सफ्टवेयर प्रोडक्ट निर्माता आईबीएमले एक्सलाई दिने विज्ञापन रोकिदिने घोषणा गरेको थियो । ‘घृणास्पद अभिव्यक्ति र विभेदप्रति आईबीएम शून्य सहनशील छ । हामीले एक्सलाई दिएका सम्पूर्ण विज्ञापन तुरुन्तै स्थगन गरिदएका छौं,’ कम्पनीले सञ्चारमाध्यमलाई पठाएको वक्तव्यमा भनिएको छ, ‘यो अस्वीकार्य कदमबारे हामीले अनुसन्धान पनि जारी राखेका छौं ।’ विज्ञापनबापतको आम्दानी बढाउन निरन्तर प्रयास गरिरहेको एक्सका लागि यो ठूलो झट्का थियो ।

पछिल्लो समय जातीय र धार्मिक घृणा फैलाउने (एन्टिसेमेटिक) र जातिवादी (रेसिस्ट) कन्टेन्टमा कुनै रोकतोक नलाएको र मस्क आफैंले त्यस्ता सामग्री पोस्ट गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाउँदै आएका छन् । हालै मात्र उनले ‘यहुदीविरोधी’ एक पोस्टमा समर्थन जनाएपछि त्यसको नि‌न्दा गरिएको थियो । अमेरिकी सरकार, ह्वाइट हाउसले समेत इजरायल–हमासबीच युद्ध चलिरहेका बेला टेस्लाका सीईओको कमेन्ट ‘अस्वीकार्य’ भएको र त्यसले यहुदी समुदायलाई जोखिममा पार्ने बताएको थियो ।

योसँगै डिज्ने र एप्पलले एक्टिसेमेटिजमविरुद्ध अडिग रहने प्रतिबद्धता जनाउँदै एक्समा आफ्ना विज्ञापन रोक्ने घोषणा गरिदिए । त्यसयता युरोपेली आयोग, ओराकल कोर, वार्नर ब्रोज डिस्कभरीलगायत दर्जनौं मिडिया कम्पनीले आफ्ना विज्ञापन रोक्ने बताइसकेका छन् । यसले एक्सको कारोबार र नाफामा ठूलो धक्का लाग्ने आाकलन गरिएको छ । यसअघि मस्क र एक्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा यक्कारिनोले आगामी वर्षको अनुमानित नाफाबारे घोषणा गरेका थिए ।

जातीय र धार्मिक घृणा फैलाउन अभिव्यक्ति एवं विभेदविरुद्ध कम्पनी अत्यन्तै स्पष्ट रहेको र तिनका लागि विश्वमा कतै पनि कुनै स्थान नरहेको सीईओ यक्कारिनोले बताएकी छन् । मस्कले पनि ‘कुनै पनि समूहको जाति संहार वकालत गर्ने जोकोहीलाई एक्समा प्रतिबन्ध लगाइने’ भन्दै शुक्रबार पोस्ट गरेका थिए ।

गत सेप्टेम्बरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक्स प्लाटफर्ममा वाक् स्वतन्त्रता र घृणास्पद अभिव्यक्तिबीच सन्तुलन कायम गर्न मस्कलाई आग्रह गरेका थिए । ‘मिथ्या सूचना र घृणास्पद अभिव्यक्तिको चिन्ताजनक वृद्धि’ का कारण सामाजिक सञ्जालमा गरिने सम्पूर्ण प्रचारप्रसार गतिविधि स्थगित गर्ने युरोपेली आयोगको भनाइ छ ।

प्रकाशित : मंसिर १३, २०८० ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?