११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हायर पर्चेज कम्पनीलाई २५ भन्दा बढी पेनाल ब्याज निषेध

काठमाडौँ — अब हार्यर पर्चेज कम्पनीले ऋणीबाट वार्षिक २ प्रतिशतभन्दा बढी पेनाल ब्याज लिन नपाउने भएका छन् । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिन कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था ०७० (चौथो संशोधन)’ मार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि हार्यर पर्चेज कम्पनीले असुली गर्ने पेनाल ब्याजको हकमा सीमा थिएन । 

हायर पर्चेज कम्पनीलाई २५ भन्दा बढी पेनाल ब्याज निषेध

‘हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याजबाहेक अन्य शुल्क तथा दस्तुर लिन पाउने छैन । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ,’ नेपाल राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुलउपर गर्न पाइने छैन ।’

राष्ट्र बैंकले अरू बैंक तथा वित्तीय संस्थाका लागि यसअघि नै यस्तो निर्देशन जारी गरिसकेको छ । सोही व्यवस्था हायर पर्चेज कम्पनीको हकमा लागू गरेको हो ।

हायर पर्चेज कम्पनीले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ । तर २५ लाख वा सोभन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर लिन अनिवार्य नहुने राष्ट्र बैंकले प्रस्ट्याएको छ । यसअघि हायर पर्चेज कम्पनीले कर्जा प्रवाह गर्दा अनिवार्य रूपमा प्यान कार्ड लिनुपर्ने व्यवस्था थिएन ।

राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका सञ्चालक, प्रबन्ध सञ्चालक र कार्यकारी प्रमुख अयोग्य हुने सम्बन्धमा नयाँ व्यवस्था थप गरेको छ । यसअनुसार अब हार्यर पर्चेज कम्पनीका सञ्चालकका लागि प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष नभएको व्यक्ति अयोग्य हुनेछ । टाट पल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको, कालोसूचीमा समावेश भएको वा त्यस्तो सूचीबाट फुकुवा भएको ३ वर्ष नपुगे पनि कम्पनीको सञ्चालक, प्रबन्ध सञ्चालक र कार्यकारी प्रमुखका लागि अयोग्य हुनेछन् ।

आफ्नो पूर्वकारोबारमा राष्ट्र बैंकबाट निलम्बन गरिएको वा राष्ट्र बैंकको अनुसन्धानमा शंकास्पद कारोबारमा संलग्न भनी किटान गरिएको वा त्यस्तो निलम्बनबाट फुकुवा भएको पाँच वर्ष नपुगेको वा त्यस्तो शंकास्पद कारोबारको संलग्नताबाट सफाइ नपाएको व्यक्ति पनि उल्लिखित पदका लागि योग्य नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

अब हायर पर्चेज कम्पनीले आफ्नो नाममा इन्भेस्टमेन्ट कम्पनी राख्न नपाउने भएका छन् । अनिवार्य रूपमा हायर पर्चेज राख्नुपर्नेछ । हाल राष्ट्र बैंकले १० वटा हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाहको अनुमति दिएको छ । तीमध्ये चार कम्पनीका नाममा इन्भेस्टमेन्ट जोडिएको छ भने दुई वटाको नाममा हायर पर्चेज शब्द राखिएको छैन । यस्ता कम्पनीलाई लक्षित गरी राष्ट्र बैंकले उल्लिखित व्यवस्था गरेको हो । नयाँ निर्देशनअनुसार ती कम्पनीले ०८० पुसभित्र नाममा ‘हायर पर्चेज’ नभएकाले राख्न र ‘इन्भेस्टमेन्ट’ शब्द भएकाले हटाउनुपर्नेछ । ‘यो निर्देशन जारी गर्नुपूर्व सञ्चालनमा रहेका हायर पर्चेज कर्जा दिने कम्पनीले समेत यसै निर्देशनबमोजिम नाम परिवर्तन गरी यस बैंकलाई ०८० पुस मसान्तभित्र जानकारी गराउनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

हायर पर्चेज कर्जासम्बन्धी कारोबार लेखांकन गर्दा प्रचलित लेखा मापदण्डको अनुसरण गरी वित्तीय विवरण तयार गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसअनुसार कम्पनीहरूले पुँजी, आम्दानी, खर्चलगायतका कारोबार स्पष्ट देखिने गरी लेखा राख्नुपर्नेछ र लेखांकन गर्दा प्रचलित लेखा मापदण्ड अनुसरण गर्नुपर्ने भएको हो । हायर पर्चेज कर्जा दिने कम्पनीले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो वित्तीय विवरणको लेखापरीक्षण सम्पन्न गरी राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा पेस गर्नुपर्ने व्यवस्था पनि निर्देशनमा छ ।

प्रकाशित : मंसिर १३, २०८० ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?