कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

ठेक्काको म्याद सकिन लाग्दा बल्ल आधा काम 

टीकाप्रसाद भट्ट

रामेछाप — थपिएको म्याद सकिन लाग्दा रामेछाप जिल्लाकै सबैभन्दा ठूलो लगानी मध्येको एक सेलेघाट–रामेछाप–साँघुटर सडकको काम आधा पनि भएको छैन । सडकको काम बल्ल ४७ प्रतिशत सकिएको छ । थपिएको ठेक्काको म्याद आगामी माघमा सकिँदैछ । 

ठेक्काको म्याद सकिन लाग्दा बल्ल आधा काम 

आयोजनाको परामर्शदाता कम्पनीमा संलग्न इन्जिनियर संजिव श्रेष्ठकाअनुसार सडक पूर्वाधारको काममध्ये माटो काट्ने र पर्खाल तथा नाला निर्माणको काम करिब पुरा भएको छ । बेस र सवबेस राख्ने काम थालिएको छैन । आयोजनाको ५० किलोमिटर लामो सडक निर्माणका लागि सवबेस र बेस राख्नका लागि ठूलो परिमाणमा सामाग्रीको आवश्यकता पर्ने भएपनि उक्त सामाग्री कहाँबाट ल्याउने अझै टुंगो लागेको छैन । आयोजनाले बेस राख्ने सामाग्री बनाउन क्रसर राखेको छैन ।

भारतीय एक्जीम बैंकको लगानीमा निर्माणाधीन उक्त सडकको रेखामा परेका जग्गाको मुआब्जा नलिने स्थानीयले प्रतिबद्धता दिएका थिए । तर सडक प्रभावित क्षेत्रमा परेका घर टहरा र फलफुलका बोट विरुवाको भने मुआब्जा निर्धारण गरी वितरण गर्नुपर्ने थियो । निर्धारण भएको मुआब्जा समेत सरकारले प्रभावित व्यक्तिहरुलाई वितरण गरेको छैन । सेलेघाट देखि हुलाकडाँडासम्म पर्ने घर गोठको मात्र क्षतिपूर्ति (मुआब्जा ) वितरण गरिएको र अन्यलाई वितरणको काम हुन नसकेको श्रेष्ठले बताए ।

सरकारले थोरै रकम विनियोजन गर्दा प्रभावित क्षेत्रका बासिन्दालाई घर गोठको मुआब्जा वितरण गर्न झण्डै २ वर्ष बित्न लाग्दा पनि नसकिएकोले पनि आयोजनामा उल्लेख्य प्रगति हुन नसकेको हो । घर गोठ हटाउनुपर्ने क्षेत्रमा सडक पूर्वाधारको नाला र पर्खाल लगाएको काम समेत हुन सकेको छैन ।

निर्धारण भएको मुआब्जाको रकम भुक्तानी नदिँदासम्म स्थानीयले घर गोठ भत्काउन दिएका छैनन् । करिब ५० किलोमिटर लामो उक्त सडक खण्डमा २ सय ४२ वटा घरगोठ पर्छन् । घर गोठकै कारण विभिन्न स्थानको गरी करिब ८ किलोमिटर खण्डमा आयोजनाले काम गर्न सकेको छैन ।

आयोजना प्रमुख ईश्वर कार्कीकाअनुसार सडक रेखामा पर्ने घर गोठको रकम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको मुआब्जा निर्धारण समितिले निर्धारण गरीसकेको छ । समितिले निर्धारण गरेको मुआब्जा रकम माग गर्ने स्थानीय बढेका भएपनि उनीहरुलाई क्षतिपूर्ति वापतको रकम दिएर घर गोठ भत्काउन आयोजनाले सकेको छैन ।

कार्कीका अनुसार घर गोठ हटाउनका लागि आयोजनाले करिव १७ करोड रुपैयाँ मुआब्जा वापतको रकम वितरण गर्नुपर्नेछ । तर आयोजनाले हाल सम्म जम्मा ४ करोड मात्र वितरण गर्न सक्ने भएको छ ।

सेलेघाट–रामेछाप–साँघुटार सडक भारतीय एक्जीम बैंकको लगानीमा निर्माण भइरहेको छ । सडक निर्माणमा लाग्ने खर्च बैंकले बेहोर्ने भएपनि मुआब्जा, कर र अन्य प्राविधिक खर्च नेपाल सरकारले बेहोर्नुपर्ने सम्झौता छ । नेपाल सरकारले दिनुपर्ने बजेट समयमा प्राप्त हुन नसक्दा मुआब्जाको वितरणमा ढिलाई भएको कार्कीले बताए ।

निर्माणाधीन सडकखण्डको बीचमा पर्ने घर गोठका कारण निर्माण कार्यमा बारम्बार गतिरोध आउने गरेको छ । ठूला मेसिन औजार लैजान, छेउछाउको निर्माण गर्दा बसोबास गर्दै आएको घर झर्ने जोखिम भएका कारण काममा ज्यादै समस्या भएको स्थानीय सुशीलहरि बख्रेलले बताएका छन् । बख्रेलकाअनुसार सडकका लागि जग्गा काटेर माटो निकाल्दा छेउमा पर्ने घर भत्कने अवस्थामा पुगेकाले जतिसक्दो चाँडो मुआब्जा दिएर त्यस्तो घरमा बसोबास गर्नेलाई हटाउनुपर्ने अवस्था छ ।

सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको जिल्लाकै हालसम्मको सबैभन्दा ठूलो उक्त सडक आयोजना २०२३ को मे १० तारेखमा सक्नुपर्ने गरी सम्झौता भएको छ । दुई लेनको उक्त सडक निर्माणका लागि १ अर्ब ९५ करोड रुपैयाँमा भारतीय निर्माण व्यवसायी टेलिकमिनिकेशन इण्डियासँग ठेक्का सम्झौता भएको थियो ।

यसैबिच रामेछाप जिल्लाबाट निर्वाचित सांसद र प्रदेश सभा सदस्यहरुले निर्माणाधीन सडकको काम ढिलाई हुनु दुःखद भएको भन्दै निर्माण व्यवसायीलाई समयमा नै सम्पन्न गर्नका लागि बारम्बार आग्रह गर्दै आएका छन् । केही अघि रामेछापमा भएको बैठकमा निर्माण व्यवसायीले समयमा नै काम सम्पन्न नगरेमा कानुनी बाटो अवलम्बन गर्नेसमेत चेतावनी दिइएको थियो । निर्माण व्यवसायीका प्रतिनिधिले समयमा नै निर्माण कार्य नसकेमा कानुनी कारबाही भोग्न तयार भएको उक्त बैठकमा बताएका थिए ।

आयोजनाले सडक निर्माणको काम अधुरो राख्दा गएको वर्षायाममा साँघुटारदेखि सालुसम्मको आवागमन कष्टकर हुन्छे । झण्डै २० किलोमिटर लामो उक्त खण्ड पार गराउनका लागि १२ घण्टा सम्म लाग्ने गरेको यातायात व्यवसायीहरु ब्ताउँछन् । अझै पनि उक्त सडकमा धुलो र खाल्डाखुल्डीले आवात जावतमा समस्या भोग्दै आएका सर्वसाधारणले सडकको काम चाँडो सक्नका लागि बारम्बार दबाब दिँदै आएका छन् ।

प्रकाशित : मंसिर १२, २०८० १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?