कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

तिहारको तीन दिनमै बिक्यो सवा अर्बको सुनचाँदी

धनतेरसको दिन ६५ करोडको व्यापार, व्यवसायी भन्छन्– ‘झिलिमिली र बढी लगानी भएका पसलमा बढी व्यापार’ 
कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंमा सुस्त बनेको सुनचाँदीको व्यापारमा तिहारमा चमक छाएको छ । तिहारको तीन दिन अर्थात् धनतेरसदेखि लक्ष्मीपूजाको दिनसम्म सवा अर्ब रुपैयाँको सुनचाँदी बिक्री भएको छ । यो तथ्यांक नेपाल सुनचाँदी व्यवसायी महासंघको हो । धनतेरसकै दिन मात्रै करिब ६५ करोडको सुनचाँदी बिक्री भएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले जनाए । 

तिहारको तीन दिनमै बिक्यो सवा अर्बको सुनचाँदी

‘आर्थिक मन्दीका कारण बजार सुनसानजस्तै थियो, त्यही कारण दसैंमा खासै व्यापार भएन । तर तिहारले व्यवसायीलाई निराश बनाएन,’ उनले भने, ‘धनतेरसको एकै दिन करिब ५० किलो सुन र १२ सय किलो चाँदी बिक्री भएको देखिन्छ ।’ धनतेरस (कात्तिक) २४ मा प्रतितोला सुनको मूल्य १ लाख १४ हजार ७ सय रुपैयाँ थियो । अर्थात् किलोको करिब एक करोड रुपैयाँ । ५० किलोका हिसाबले एकै दिन ५० करोडको सुन बिक्री भएको जनाएको छ ।

धनतेरसमा सुनभन्दा चाँदीको खपत बढी हुन्छ । तुलनात्मक रूपमा सुनभन्दा सस्तो भएकै कारण चाँदीका सिक्का, औंठी, बाला, पूजाका भाँडा, चाली, पञ्चपात्रो, अग्रकलश, मूर्तिलगायतको बिक्री बढ्छ । महासंघका अनुसार धनतेरसकै दिन करिब १२ सय किलो चाँदी बिक्री भएको छ । धनतेरसमा चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ थियो । एक किलो चाँदीको करिब १ लाख २० हजार रुपैयाँ पर्छ । १२ सय किलोको चाँदी बिक्री हुँदा १४ करोड ४० लाख रुपैयाँ बराबरको बिक्री भएको अध्यक्ष शाक्यले बताए । ‘सुनचाँदीको बिक्री राम्रो देखियो, व्यापार सन्तोषजनक नै मान्नुपर्छ,’ उनले भने ।

नेपालमा मुख्यतः धनतेरसकै दिन बढी बिक्री भए पनि लक्ष्मीपूजासम्मै व्यापार राम्रो हुन्छ । कतिपयले लक्ष्मीपूजाको दिनमै सुनचाँदी किनेर लक्ष्मी भित्र्याउँछन् । धनतेरसको भोलिपल्ट कात्तिक २५ मा सुन २५ किलो र चाँदी ५ सय किलो बिक्री भएको महासंघले जनाएको छ । यस दिन सुन प्रतितोला १ लाख १४ हजार ७ सय र चाँदी १४ सय रुपैयाँ तोकिएको थियो । ‘यो दिन २५ किलो सुनको करिब २५ करोड र ५ सय किलो चाँदीको ६ करोडको सुनचाँदी बिक्री भएको देखिन्छ,’ शाक्यले भने ।

लक्ष्मीपूजाका दिन सुन १० किलो र चाँदी ३ सय किलो बिक्री भएको महासंघले जनाएको छ । अर्थात् करिब १० करोडको सुन र ३ करोड ६० लाखको चाँदी बिक्री भएको छ । तिहारलाई लक्ष्य गर्दै राष्ट्र बैंकले पनि सुनचाँदीको असर्फी बिक्री गरेको थियो । राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सुनका सिक्का (असर्फी) र विभिन्न दरका गाई अंकित, गणेश अंकित र गजलक्ष्मी अंकित चाँदीका सिक्का बिक्री गरेको बताएको छ ।

तिहार र धनतेरसलाई लक्ष्य गर्दैर् राष्ट्र बैंकले कात्तिक १९ देखि सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का (मेडालियन) बिक्री थालेको थियो । ५ दिनमा करिब ४३ हजार थान सिक्का बिक्री भइसकेको थियो । ५ दिनमा सुनका १० ग्राम र ५ ग्रामका असर्फी ७ हजार थान र २.५ ग्रामका ५ हजार थान बिक्री भइसकेका थिए । सोही अवधिमा चाँदीका १० ग्रामका सिक्का २८ हजार र २५ ग्रामका ३ हजार थान बिक्री भएको राष्ट्र बैंकले जनाएको छ ।

धनतेरसकै दिन पनि करोडौंका सिक्का बिक्री भएका छन् । बजारमा मिक्स ट्रेन्ड देखिएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । यद्यपि दसैंको तुलनामा व्यापार सन्तोषजनक देखिएको उनको भनाइ छ । ‘झिलिमिली र लगानी बढी भएको ठाउँमा व्यापार राम्रो देखियो । भित्री क्षेत्रमा केही कम व्यापार भएको छ । धरान, चितवन, जनकपुर, पोखरालगायत सबै ठाउँको अवस्था उस्तै हो,’ पूर्वअध्यक्ष शाक्यले भने, ‘समग्रमा धनतेरसले व्यापार ठीकै गरायो । व्यवसायी निराश छैनन् ।’

धनतेरसको दिनमा हुने सुनचाँदीको कुल व्यापारमध्ये करिब ३० प्रतिशत उपत्यकामै हुन्छ । बाँकी ७० प्रतिशत उपत्यकाबाहिर हुने गरेको व्यवसायी बताउँछन् । तिहारपछि बिहेको लगन सुरु भएकाले व्यापार बढ्न सक्ने उनीहरूको अनुमान छ । ‘सुनको मूल्यले साथ नदिए पनि सिजन भएकाले धेरथोर अर्डर आउन थालेको छ,’ अध्यक्ष शाक्यले भने ।

चाडबाडमा सुनको मागलाई दृष्टिगत गरी सरकारले असोजमा सुनको दैनिक आयात कोटा १० किलोबाट २० किलो बनाइदिएको छ । मुद्रा सञ्चिति घटेपछि आयातमा कडाइ गरेको सरकारले दुई वर्षपछि सुन आयात कोटा बढाउने निर्णय गरेको हो । सुनको कोटा बढेपछि व्यवसायीहरूलाई केही राहतसमेत मिलेको छ ।

प्रकाशित : मंसिर ५, २०८० ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?