१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

कात्तिकमा २ अर्ब ७४ करोड २५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको कात्तिकमा नयाँ र पुराना उद्याेगमा गरी कुल २ अर्ब ७४ करोड २५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएकाे छ । उद्याेग  विभागका अनुसार २७ वटा नयाँ उद्योगमा १ अर्ब ७५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो ।

कात्तिकमा २ अर्ब ७४ करोड २५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

पुराना उद्योग २ वटा उद्याेगमा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) र सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए) मा ५ करोड ६३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा कुल १७८ वटा नयाँ उद्योगमा १८ अर्ब ३५ करोड ४३ लाख विदेशी लगानी प्रतिबद्धता आएको हो । पुराना उद्योगमा ३ अर्ब ७२ करोड विदेशी लगानी प्रतिबद्धता आएको हो ।नयाँ र पुरानो गरी कुल १९९ वटा उद्योगमा २२ अर्ब ८ करोड १५ लाख विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षकाे साउन, भदौ र असोजमा खुद ३ अर्ब ३७ करोड १० लाख रुपैयाँ मात्रै एफडीआई भित्रिएको छ । विभागका अनुसार चार महिनामा साना उद्योग १७०, मझौला ५ र ठूला उद्योग ३ वटा दर्ता भएको छ । सबैभन्दा बढी लगानी पर्यटन क्षेत्रमा ८६.४८, सेवामा ६९.३९, पूर्वाधारमा ४.२, सूचना तथा प्रविधिमा ५.३, उत्पादनमा १२.७, खनिजमा १.१ प्रतिशत रहेको विभागले जनाएको छ ।

नेपालमा आर्थिक वर्ष ०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । ०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिने गरेको विदेशी लगानीसम्बन्धी राष्ट्र बैंकको पछिल्लो अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

अघिल्ला प्रायः वर्षमा नेपाल भित्रिने वैदेशिक लगानीको तुलनामा सोही अवधिमा नेपालबाट बाहिरिने लाभांशबापतको रकम धेरै रहँदै आएको थियो । तर आर्थिक वर्ष ०७८/७९ मा लाभांशबापत बाहिरिनेभन्दा भित्रिने विदेशी लगानी धेरै रहेको सर्वेक्षणले देखाएको छ । आर्थिक वर्ष ०७८/७९ मा विदेशी लगानीमा रहेका कम्पनीले लाभांशबापत नेपालबाट १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ देशबाहिर लगेका छन् । सोही आर्थिक वर्षमा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो । उक्त वर्ष ५४ अर्ब १५ करोड ८९ लाख विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

आर्थिक वर्ष ०७७/७८ मा लाभांशबापत २६ अर्ब ७ करोड ६० लाख र आर्थिक वर्ष ०७६/७७ मा १२ अर्ब ९० करोड ३० लाख रुपैयाँ लाभांश बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । मुलुकमा हालसम्म कुल २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ  ।

प्रकाशित : मंसिर ३, २०८० १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?