कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

८ वर्षमा नसकिएको पुनर्निर्माणमा ६४३३ संरचना थप

०७२ को भूकम्पबाट पाठ नसिक्दा ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको विज्ञहरूको भनाइ
विमल खतिवडा

काठमाडौँ — आठ वर्ष बितिसक्दा पनि ०७२ सालको भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण सकिएको छैन । निजी आवाससँगै स्वास्थ्य संस्था, सरकारी भवन, पुरातात्त्विक सम्पदा जीर्णोद्धार तथा गुम्बा पुनर्निर्माण, शिक्षण संस्था र एकीकृत बस्ती विकासको काम अझै टुंगिएको छैन ।

८ वर्षमा नसकिएको पुनर्निर्माणमा ६४३३ संरचना थप

११.३६ प्रतिशत निजी आवास पुनर्निर्माणको काम बाँकी नै छ । त्यसमाथि गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले मानवीयसँगै ठूलो भौतिक क्षति पुगेको छ ।

सबैभन्दा बढी भौतिक संरचनामा क्षति जाजरकोटमै भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार ६ जिल्लामा गरेर निजी आवास, विद्यालय, सरकारी कार्यालयलगायत ६ हजार ४३३ भौतिक संरचना पूर्ण रूपमा भत्किएका छन् । यसअनुसार सबैभन्दा बढी क्षति रुकुम पश्चिममा भएको छ । यहाँ ३ हजार ९९८ घर पूर्ण रूपमा भत्किएका छन् । त्यहाँ ९ विद्यालय, १ सरकारी र ३ वटा प्रहरी कार्यालय भवन भत्किएका छन् । जाजरकोटमा निजी आवासतर्फ २ हजार २१३ घर पूर्ण रूपमा भत्किएका छन् ।

२७ वटा विद्यालय, ७ वटा सरकारी र ३ वटा प्रहरी कार्यालय भवन भत्किएका छन् । प्रहरीका अनुसार सल्यानमा १५३, दैलेखमा ६, जुम्ला र सुर्खेतमा ५/५ वटा घर पूर्ण रूपमा भत्किएका छन् । कालीकोटमा भने ९३ घरमा आंशिक क्षति पुगेको छ । समग्रमा जाजरकोट, रुकुम पश्चिम, दैलेख, सल्यान, कालीकोट, जुम्ला र सुर्खेतमा गरी २६ हजार ४९ घरमा आंशिक क्षति पुगेको छ ।

नौ गोठ, १७६ विद्यालय, ४८ सरकारी र ३४ प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ । पुनरावेदन गरेर आएका लाभाग्राहीको संख्यासहित ०७२ सालको भूकम्पमा ८ लाख ३३ हजार ८ सय २१ घरमा पूर्ण क्षति पुगेको थियो । यसमध्ये पहिलो किस्ता बुझ्नेको संख्या ८ लाख ३३ हजार ७ सय ६ रहेको छ । अहिलेसम्म १ सय १५ जनाले अनुदान सम्झौता गरेका छैनन् । पटक–पटक समय दिँदा पनि नआएका लाभग्राहीले अब अनुदान सम्झौता गर्न नपाउने केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) का आयोजना निर्देशक कोषनाथ अधिकारीले बताए ।

‘०७२ को भूकम्पमा जति निर्माणको काम गर्नुपर्ने हो, त्यो भएको छ,’ उनले भने, ‘निर्माण सकिएका संरचनाको रकम भुक्तानी हुने प्रक्रियामा छ ।’ अब नयाँ घर बनाउने काम नहुने उनको भनाइ छ । ८८.०६ प्रतिशतको भुक्तानी भइसकेको छ । ०७२ सालको भूकम्पपछि क्षति पुगेका संरचना निर्माणको काम नसकिँदै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले कमजोर भौतिक संरचनाका कारण भौतिक र मानवीय क्षति बढी उनले बताए । यसअघि गएको भूकम्पले बझाङमा पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको उनले जानकारी दिए ।

‘यी जिल्लामा स्थायी संरचना बनाउन समय लाग्छ, चिसो सुरु भएकाले तत्कालका लागि जस्तापाताले बेरेको घर बनाउनुपर्छ,’ उनले भने, ‘अझै परकम्प आइरहेका छन्, ढुंगामाटोका घरमा बढी क्षति भएको छ ।’ अब ती क्षेत्रमा भूकम्पप्रतिरोधी संरचना बनाउनुको विकल्प नरहेको उनले सुनाए । ‘कस्तो संरचना बनाउने र कति बजेट व्यवस्थापन गर्ने भनेर सरकारले पछि निर्णय गर्नेछ,’ उनले भने, ‘त्यसका लागि सबै क्षतिको विवरण यकिन भइसकेपछि मात्र थाहा हुनेछ ।’ भूकम्पको खतरा सबैतिर रहेकाले त्यसअनुसार संरचना निर्माण गर्नुपर्ने र पूर्वतयारी विधि अपनाउनुपर्ने विज्ञहरू बताउँछन् । ०७२ सालको भूकम्पछि सरकारी संयन्त्र ३२ जिल्लामा मात्र केन्द्रित बन्दा अन्य जिल्लामा ठूलो क्षति बेहोर्नुपरेको पूर्वसचिव एवं पूर्वाधार विज्ञ किशोर थापाले जनाए ।

‘३२ जिल्लामा १४ बढी प्रभावित र १८ कम प्रभावित भनेर ती जिल्लामा भूकम्पप्रतिरोधी संरचना बनाइयो, त्यहीअनुसारका कार्यक्रम सञ्चालन भए,’ उनले भने, ‘कालिगड तालिम, सचेतना कार्यक्रम सबै त्यहीं भयो, त्यो ३२ जिल्लाको अनुभव अरू जिल्लामा लग्न सकिएन । यसमा न स्थानीय तह, प्रदेशले प्रयास गरे, न संघ सरकारले नै केही गर्न सक्यो ।’

विज्ञहरूले कर्णाली र सुदूरपश्चिम प्रदेश भूकम्पीय दृष्टिले एकदमै जोखिममा रहेको औंल्याए पनि त्यसअनुसार केही काम हुन नसकेको उनको भनाइ छ । ‘त्यसका लागि गर्नुपर्ने तयारीको काम हुन सकेका छैनन्, जसले गर्दा अहिले धेरै ठूलो धनजनको क्षति हुन पुग्यो,’ थापाले भने, ‘०७२ को भूकम्पबाट अरू जिल्लाले सिक्नुपर्थ्यो, त्यो सिक्न चाहेनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि ३२ जिल्लाभन्दा बाहिर जान सकेन, प्राधिकरणको अनुभव सरकारका अन्य निकायले सबैतिर लग्न सकेनन् ।’

०७२ को भूकम्पले धेरै पाठ सिकाए पनि त्यो व्यवहारमा लागू हुन नसकेको उनले सुनाए । ‘भूकम्पबाट सुरक्षित रहन र भौतिक संरचनामा ठूलो क्षति हुन नदिन के गर्न हुने

के गर्न नहुने, कस्तो संरचना बनाउने भन्ने सिकाइ भयो । तर भूकम्पको खतरा अझै टरेको छैन,’ उनले भने, ‘तीन तहका सरकार मिलेर भूकम्पप्रतिरोधी संरचना बनाउन जरुरी छ । तयारीका काम गर्न सकिए धनजनको क्षति कम हुने थियो ।’

प्रकाशित : कार्तिक २५, २०८० ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?