कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

लन्डनमा उच्चस्तरीय लगानी सम्मेलन

नवीन पोखरेल

लन्डन — लन्डनस्थित नेपाली राजदूतावासले उच्चस्तरीय लगानी सम्मेलन गरेको छ । नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा बुधबार सिटी अफ लन्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन भएको हो ।

लन्डनमा उच्चस्तरीय लगानी सम्मेलन

उक्त सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै अर्थमन्त्री प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोत आवश्यक रहेको बताए । उनले त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताए ।

नेपाल सरकारले लगानी मैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य सुरु गरेको समेत महतले जनाए । उनले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने जानकारी दिँदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लन्डनबाट लगानीका दीर्घकालीन वित्तीय श्रोतहरुमार्फत बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्रयाउन चाहेको बताए ।

नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेशसमेत निर्यात गर्न तयारी गरेको बताउँदै आचार्यले नेपालको जलविद्युत्‌बाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सिटी अफ लन्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लन्डनमा प्रशस्त वित्तीय श्रोत तथा जोखिम वहन गर्ने बिमा कम्पनीहरू रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लन्डनको सहयोग रहने बताए ।

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत् नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बेलायती संसद्‍मा बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाल–बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताए ।

यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १.५ बिलियन पाउन्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिए ।

विशेष गरी नेपालको नवीकरणीय ऊर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्रयाउने बारेमा केन्द्रित उक्त सम्मेलनमा नवीकरणीय ऊर्जा तथा सूचना प्रविधिसम्बन्धी विषयमा उक्त क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग छुट्टाछुट्टै प्यानलमा छलफल भएको थियो भने शिक्षा क्षेत्रमा नेपालमा रहेका अवसरबारे ब्रिटिस कलेजका अध्यक्ष राजन कँडेलले प्रस्तुति दिएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्न नेपाल राष्ट्र बैंक प्रतिवद्ध रहेको लगानीकर्तालाई आश्वासन दिए।

लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानीका लागि नेपालको बिभिन्न क्षेत्रमा रहेका अवसरहरूका बारेमा प्रस्तुति दिँदै वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड प्रतिबद्ध रहेको बताए ।

त्यसैगरी ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत् परियोजना, भारत तथा चीनसँग विद्युत् विकास तथा खरिदका लागि भएका सम्झौताहरू एवं जलविद्युत् विकासका लागि नेपाल सरकारको आगामी योजनाको बारेमा उल्लेख गर्दै यसका लागि ठूलो पुँजी आवश्यक रहेकाले लगानीकर्ताका लागि यस क्षेत्रमा ठूलो अवसर रहेको बताए।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण भएको हुँदा वैदेशिक लगानीकर्ताहरुलाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रका तर्फबाट आग्रह गरे ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय उर्जाको क्षेत्रमा लगानीका अवसरका बारेमा जानकारी दिँदै नेपाल सरकारको भूमिका सकारात्मक रहेकाले वैदेशिक लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गरे ।

ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट प्रबन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फन्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा आफूहरूले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको औंल्याए ।

सम्मेलनमा नेपालमा लगानी गरिरहेका विकास वित्तीय संस्थाहरूको तर्फबाट इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले विकास वित्तीय संस्थाहरूको लगानीका बारेमा प्रस्तुति दिएका थिए ।

साथै उक्त अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय तथा नेपालमा लगानी गरिरहेका ६ वटा विकास वित्तीय संस्थाहरू– ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्यान्ड्स, बायो, बेल्जियम, फिनफन्ड, फिनल्यान्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम, स्वीजरल्यान्डबीच नेपालमा विकास वित्तीय संस्थाहरूको लगानी सहजीकरण गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

यसै सिलसिलामा अर्थमन्त्री महतको हिन्दुजा ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष जी पी हिन्दुजासँग नेपालमा लगानी भित्रयाउने विषयमा कुराकानी भएको दूतावासले जनाएको छ ।

मंगलबार नै अर्थमन्त्री महतले बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री सम्माननीय आन मारी ट्रेवल्यानसँग भेट गरे । भेटका अवसरमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका विभिन्न विषय साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्रयाउनका लागि परराष्ट्र मन्त्रालयको सहयोगका लागि आग्रह गरे।

कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण वृद्धि भएकाले लगाानीयोग्य पुँजीमा कमी भएकाले नेपालमा बाह्य लगानीको आवश्यकता रहेको बताउँदै मन्त्री महतले ग्लास्गोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित ऊर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफूले लिएको उल्लेख गरे । उनले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि समेत आग्रह गरे ।

जलवायु परिवर्तनका असरहरू सिर्जना हुनुमा नेपालको भूमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत मन्त्री महतले आग्रह गरे । उनले भूतपूर्व गोर्खाहरूको बाँकी माग को सम्बोधन गर्न परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानलाई आग्रह गरे ।

परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहँदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले बेलायतबाट नेपालका प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा आफू सकारात्मक रहेको पनि बताए ।

उक्त सममेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ताहरू, बिमा कम्पनी, बेलायतलगायत यूरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधिहरू, व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरूलगायत गरी करिब सय जनाको उपस्थिति थियो ।

प्रकाशित : कार्तिक १५, २०८० १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?