बुटवल उद्योग वाणिज्य संघमा २ प्यानल चुनावी मैदानमा

बुटवल — बुटवलका व्यवसायीहरुमा चुनावी सरगर्मी बढेको छ । यस क्षेत्रकै पुरानो तथा धेरै उद्योगी व्यवसायी आवद्ध रहेको बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको चुनावका लागि सरगर्मी बढेको हो । संघको यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन हुँदैछ ।

संघको नेतृत्वका लागि व्यवसायीहरू दुई छुट्टाछुट्टै समूह बनाएर आन्तरिक प्रचारप्रसार तथा भेटघाटमा जुटिरहेका छन् । संघको पूर्व वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल र वरिष्ठ उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ छुट्टाछुट्टै समूह बनाएर भोट माग्न व्यस्त छन् ।
उनीहरु आफूलाई जिताउन आग्रह गर्दै व्यवसायीक प्रतिष्ठानमा पुग्ने, छलफलका कार्यक्रम गर्ने पत्रकार सम्मेलन गर्ने लगायत काम गरिरहेका छन् । यसअघिका अध्यक्षका प्रत्यासी अर्याल विगतको निरन्तरतालाई क्रमभंग गर्ने तयारीमा छन् भने श्रेष्ठ विगतको परिवेशलाई निरन्तरता दिने तयारीमा छन् ।
सबै विचार, समूह, लैंगिकता, जातीय समावेशी भएर आफू चुनावमा होमिएको अध्यक्षका आकांक्षी अर्यालले बताए । उनलाई पूर्व अध्यक्ष महेशमान सिंह र खिमबहादुर हमालको समेत समर्थन छ । बुटवलको गिर्दो व्यापारलाई पुरानै लयमा फर्काउने एजेन्डा आफूसँग रहेको उनले बताए ।
अर्का उम्मेदवार श्रेष्ठले निरन्तर संघमा गरेको काम, योगदान र धेरै व्यवसायीको समर्थन आफूलाई रहेको बताए । उनले प्रतिस्पर्धी संघ र प्रतिस्पर्धी बजार बनाएर आफू अघि बढ्ने बताए ।अर्याल कार्यसमिति सदस्य, महासचिव र वाणिज्य उपाध्यक्ष भइसकेका छन् भने श्रेष्ठले कार्यसमिति सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षको भूमिका निभाएका छन् । बुटवल उद्योग वाणिज्य संघमा एक हजार ७ सय ७८ व्यवसायी आवद्ध छन् ।
