तेस्रो देशका पर्यटकलाई भारतको ‘अघोषित नाकाबन्दी’


झापा — दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) को आयोजनामा झापाको धुलाबारीमा मंगलबार नेपालसहित चार देशका भन्सार अधिकारी सम्मिलित बैठक हुँदै छ । यो संस्थाले भारत, बंगलादेश, नेपाल र भुटानका अधिकारीले अन्तरसीमा व्यापारका आयामबारे छलफल गर्दै आएको छ ।


बैठकमा सहभागी हुन आएका दुई बंगलादेशी भन्सार अधिकारीलाई भारतले भिसा दिनै मानेन । तर दिल्लीमा दबाब सिर्जना गरेपछि ‘विशेष आदेश’ मार्फत बंगलादेशका दुई भन्सार अधिकारी डा. नाविया र मोहम्मद वैविद सोमबार पूर्वी नाका हुँदै नेपाल प्रवेश गरे ।
‘कोभिडपछि पहिलो पटक बंगलादेशी नागरिकलाई स्वागत गर्न पाएका हौं,’ अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले भने, ‘भारतले बंगलादेशसहित तेस्रो देशका नागरिकलाई भिसा नै दिएको थिएन ।’ खासगरी बंगलादेशी पैदलमार्गबाट भारत हुँदै नेपाल आउने गरेका थिए । कोभिडपछि भने उनीहरूको आगमन शून्य छ । डेढ दशकअघि पूर्वी नाकाबाट बंगलादेशी पर्यटकका लागि सहज थियो । त्यो समयमा मासिक १० हजारभन्दा बढी नेपाल भित्रिन्थे । तर सन् २००८ मा आतंकवादी संगठनले भारतको व्यापारिक सहर मुम्बईमा आक्रमण गरेपछि भारतले बंगलादेशीलाई भिसामा कडाइ गर्न थालेको हो । त्यसयता नेपाल आउने बंगलादेशीको संख्यामा क्रमशः गिरावट आएको हो ।
कोभिडअघिसम्म बंगलादेशी नागरिक फाट्टफुट्ट प्रवेश गर्दै आएका थिए । त्यसपछि भने ठप्प छ । ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) परिचयपत्रधारीबाहेक अन्य कसैलाई प्रवेश अनुमति नदिइएको भारतको पानीट्यांकीस्थित रानीगञ्ज अध्यागमनका एक अधिकारीले जनाए । ‘विदेशीलाई भिसा स्वीकृत नगर्नू भन्ने माथिको आदेश छ,’ ती अधिकारीले भने ।
कोभिडपछि करिब २१ देशका सयभन्दा बढी ओसीआई परिचपत्रधारीलाई मात्रै भारतले नेपाल जाने अनुमति दिएको छ । सबै देशका पर्यटकले विगतमा झैं खुलेआम प्रवेश नपाइरहेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । ‘जोसँग ओसीआई कार्ड छ, उनीहरू मात्रै आइरहेका छन्,’ भट्टराईले भने । भारतले भुटानी नागरिकलाई भने प्रवेशमा रोकेको छैन ।
प्रकाशित : आश्विन २, २०८० ०७:१८