कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थसचिव ४/४ महिनामा सरुवा‚ पुष्कर पुनः अर्थमा

ऋषिराम पौड्याल

काठमाडौँ — अर्थ मन्त्रालयको अर्थसचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरिएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अर्थसचिव अर्जुन पोखरेललाई हटाएर पुष्करलाई पठाउने निर्णय गरेको हो । अर्थसचिव पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । 

अर्थसचिव ४/४ महिनामा सरुवा‚ पुष्कर पुनः अर्थमा

सरकार गठन भएको नौ महिनामा अर्थ मन्त्रालयमा तीन जना सचिव फेरिएका छन् । अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा राजश्व दर 'हेरफेर' विषयमा विवादित भएपछि २०७९ साउनमा तत्कालीन अर्थसचिव मधु मरासिनीलाई हटाएर पुष्करलाई सचिव बनाइएको थियो । पुष्कर त्यतिबेला अर्थमा राजस्व सचिव थिए ।

एमाले सहभागी सरकार बनेपछि अर्थमन्त्री विष्णु पौडेलले पुष्कर हटाएर गत पुसमा तोयम रायलाई सचिव बनाएका थिए । रायले अर्थसचिवको रुपमा चार महिना मात्र काम गर्ने अवसर पाए । प्रकाशशरण महत अर्थमन्त्री भएपछि राय हटाएर पोखरेललाई गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको थियो ।

उनी चार महिना १० दिन अर्थसचिव भएका छन् । अर्थमा जिम्मेवारी पाउनुअघि पोखरेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थिए । पुष्कर भने हाल बेलायत भ्रमणमा छन् ।

पुष्करलाई गत भदौको पहिलो साता संघीय मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको थियो । पुस्ष्करलाई सरुवा गरेर संघीय मन्त्रालयको सचिवमा विनोद सिंहलाई पठाइएको थियो । पुष्कर संघीय मन्त्रालयमा पाँच महिना सचिव भए ।

प्रकाशित : आश्विन १, २०८० १५:११
प्रतिक्रिया
पठाउनुहोस्