कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

चिया श्रमिकको एक अर्ब रकम साहुको खातामा

०५१ देखि श्रमिकको सञ्चय कोष र उपदानबापतको रकम एकमुष्ट जम्मा गर्नुपर्ने भएकाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा चिया बगान सूचीकृत भएनन्
अर्जुन राजवंशी

बिर्तामोड — लघुवित्तबाट लिएको डेढ लाख रुपैयाँको ऋणले नेपाल उराउको अनुहारको उज्यालो खोसिएको छ । आफन्त र साथीभाइलाई तिर्नुपर्ने ऋणको दायित्व त छँदै छ, आफूले पाउनुपर्ने रकम चिया बगानका मालिकले नदिएपछि उराउ ऋणको मारमा छन् । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटमा कार्यरत उराउले बगान मालिक छत्रबहादुर गिरीसँग एक लाख ७० हजारभन्दा बढी पैसा लिनुपर्नेछ । गिरीले पैसा नदिएपछि उराउ ऋणमा परेका हुन् । उराउकी आमा बुटेन उराउको ३ वर्षअघि निधन भयो । उनकी आमा पनि गिरीबन्धु टी इस्टेटमा काम गर्ने स्थायी श्रमिक थिइन् ।

चिया श्रमिकको एक अर्ब रकम साहुको खातामा

५८ वर्ष उमेर हद, निधन वा अन्य कुनै कारण चिया बगानको काम छाड्नुपर्दा श्रमिकले सञ्चय कोष र उपदानको रकम पाउने व्यवस्था छ । बुटेन उराउको पनि ०५१ सालदेखिको सञ्चय कोष र उपदान रकम पाउन बाँकी छ । काम छोडेकै दिन पाउनुपर्ने सञ्चय कोष र उपदानको रकम आमाको निधन भएको ३ वर्ष बितिसक्दासमेत नपाउँदा ऋणैऋणमा परेको नेपाल उनको दुखेसो छ । छोरा कैलाशको किरिया खर्चमा लागेको ३० हजार ऋणले ८० वर्षीया आमा नरमाया सुनुवारको निद्रा हराएको छ ।

दुई छाक खाना कसरी खाने भन्ने पीरले पोल्ने वयोवृद्ध नरमायालाई ३० हजार ऋणको ताकेताले बेचैन बनाएको छ । गिरीबन्धु टी इस्टेटमै काम गर्ने कैलाशको गत वर्ष साउनमा निधन भयो । तीन दिनअघिसम्म काम गरेका कैलाशको सामान्य बिरामी अवस्थामै निधन भएको हो । ‘छोराको निधन भएको गएको साउन ५ मा एक वर्ष पुग्यो,’ आमा नरमायाले भनिन्, ‘खोइ उसको सञ्चय कोष छ अरे । हामीले अहिलेसम्म पाएका छैनौं । किन नदिएको होला ?’

बुटेन र कैलाश जस्तै ५ जना श्रमिकको मृत्यु भइसक्दासमेत गिरीबन्धु टी इस्टेटले उनीहरूले पाउनुपर्ने सञ्चय कोष र उपदानको रकम दिएको छैन । गिरीबन्धु जस्तै झापाका सबै चिया बगानले श्रमिकको सञ्चय कोष र उपदानबापतको करोडौं रुपैयाँ आफूखुसी चलाइरहेका छन् । उनीहरूले श्रमिकको रकम वर्षौंदेखि आफूसँगै राखेर चलाएका हुन् ।

झापामा मात्र करिब ५ हजार स्थायी चिया श्रमिक रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । चिया बगानमा ०५१ सालदेखि श्रमिकलाई स्थायी गर्ने प्रावधान सुरु भएको हो । बगान र कारखानामा श्रमिक स्थायी गर्ने क्रम ०६४ सालसम्म चल्यो । त्यसपछि बगानमा श्रमिकलाई स्थायी बनाउन छाडिएको छ । चिया बगान मालिकहरूले करिब ५ हजार श्रमिकको ८५ करोडभन्दा बढी रकम वर्षौंदेखि आफैंले प्रयोग गर्दै आएको श्रमिकको आरोप छ ।

उनीहरूका अनुसार मालिकहरूले श्रमिकसँग मासिक रूपमा सञ्चय कोष र उपदानबापतको रकम कट्टा गर्छ । तर, कट्टा गरेको उक्त रकम मालिकहरूले सञ्चय कोष, नागरिक लगानी कोष, बैंक खातामा जम्मा नगरी आफैंसँग राख्ने गरेको श्रमिक नेता सन्तकुमार राईले जानकारी दिए । ‘आफ्नै पैसा हुँदाहुँदै पनि पैसाको अभावमा उपचारसमेत नपाई मर्नुपर्ने अवस्था छ,’ श्रमिक नारायण दर्जीले भने ।

दर्जी ०४६ सालदेखि चिया बगानमा कार्यरत छन् । उनी ०५१ मा स्थायी भएर काम गरिरहेका छन् । तर ०५१ देखि अहिलेसम्म आफ्नो नाममा कति सञ्चय कोष र उपदान रकम जम्मा भयो भन्नेबारे उनी अनभिज्ञ छन् । ‘श्रम ऐनमा हामीले सुविधा पाउने व्यवस्था छ । सोहीअनुसार हाम्रो सञ्चय कोष र उपदान काटिँदै आएको छ । तर, अहिलेसम्म मेरो नाममा कति पैसा जम्मा भयो भनेर मलाईचाहिँ थाहा छैन,’ दर्जीले भने । बगान मालिकहरूले श्रमिकको सञ्चय कोष र उपदानको हिसाबसमेत राम्ररी राख्ने नगरेको श्रमिकको भनाइ छ । यस विषयमा सोधीखोजी गर्दा राम्रोसँग जवाफसमेत नदिने गरेको उनीहरूको गुनासो छ ।

श्रमिकको रकम चिया बगान मालिकहरूले तीन दशकदेखि आफैंले चलाएकोबारे चिया श्रमिक निकट ट्रेड युनियनहरूले पटकपटक विरोध जनाएका छन् । उनीहरूले प्रत्येक श्रमिकको हिसाब गरेर बैंक खातामा जम्मा गरिदिन मागसमेत गरेका छन् । तर, श्रमिकलाई करोडौं रुपैयाँ तिर्नुपर्ने अवस्थामा पुगेका चिया बगान मालिकहरूले ट्रेड युनियनको माग नजरअन्दाज गर्दै आएका छन् ।

श्रम ऐन–०७४ मा सञ्चय कोष, उपदान, औषधि उपचार बिमा, दुर्घटना बिमालगायतका सुविधा प्रदान गरेको छ । ती सुविधाबापतको रकम योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ । सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएको अवस्थामा अन्य कुनै कोषमा श्रमिकको सञ्चय कोष र उपदानबापतको रकम जम्मा गर्नुपर्ने उल्लेख छ । ऐनअनुसार सञ्चय कोष, उपदानसहितका रकम कुनै कोषमा जम्मा गर्न नसकिने भए रोजगारदाताले त्यस्तो श्रमिकको आधारभूत पारिश्रमिकको सञ्चय कोषबापतको १० प्रतिशत, उपदानबापतको ८ दशमलव ३३ प्रतिशत रकम थप गरी श्रमिकलाई भुक्तानी दिनुपर्ने प्रावधान छ । तर, चिया बगान मालिकहरूले त्यसो गरेका छैनन् । उनीहरूले श्रमिकको दैनिक एवं मासिक ज्यालाबाट सञ्चय कोषलगायतबाट कट्टा गर्नुपर्ने रकम काटेर आफैंसँग राखेका छन् ।

श्रमिकको सुविधाबापतको रकम चिया मालिकहरूले आफूखुसी राख्नु गलत भएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । ‘ऐनले व्यवस्था गरेको रकम मालिकहरूले कट्टा गरेका छन् भने कुनै कोष वा बैंक खातामा जम्मा गर्नुपर्छ । यसरी श्रमिकको पैसा मालिकले वर्षौंदेखि आफूखुसी चलाउन पाइँदैन,’ उनले भने । नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले भने श्रमिकको पैसा आफूहरूले चलाएको आरोप गलत भएको दाबी गरे । ‘पैसा हामीले राखेका छौं । अवकाश वा निधन हुँदा हिसाब गरेर सबै पैसा दिँदै आएका छौं । यसमा त्यस्तो गलत कुरा के छ र ?’ उनले भने । ०५१ देखि श्रमिकको सञ्चय कोष, उपदानबापतको रकम एकमुष्ट जम्मा गर्नुपर्ने भएकाले चिया बगान योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छैनन् । गिरीबन्धु टी इस्टेटमा मात्र अहिले १ सय ७० जना स्थायी श्रमिक कार्यरत छन् । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुँदा छत्रबहादुर गिरीले उनीहरूको न्यूनतम एक लाख ७० हजारका दरले करिब तीन करोड रुपैयाँ कोषमा जम्मा गर्नुपर्छ ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष रहेका सुरेश मित्तलको मित्तल टी इस्टेटमा १ सय ५० र कुवाडीदेवी टी इस्टेटमा ६० गरी २ सय १० जना श्रमिक स्थायी छन् । उनीहरूको एक लाख ७० हजारका दरले साढे तीन करोडभन्दा बढी रकम जम्मा गर्नुपर्ने हुन्छ । श्रमिकको ठूलो रकम एकमुष्ट जम्मा गर्नुपर्ने बाध्यता रहेकाले पनि चिया बगानका मालिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन नचाहेको अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाले बताए ।

प्रकाशित : भाद्र १५, २०८० ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?