१० महिनामै विदेशी मुद्रा सञ्चिति २१% बढ्यो


काठमाडौँ — चालु आर्थिक वर्षको १० महिनामै विदेशी मुद्रा सञ्चिति करिब २१ प्रतिशत बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणअनुसार २०७९ असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाF बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भइ २०८० वैशाख मसान्तसम्म १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ बराबर पुगेको छ ।


अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा १७.६ प्रतिशतले वृद्धि भइ हाल ११ अर्ब २१ करोड कायम भएको छ । रेमिट्यान्स रकममा उल्लेख्य वृद्धि हुँदा र मुलुकको आयात घट्दा सञ्चितिमा सकारात्मक प्रभाव देखिएको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब १० अर्ब ६६ करोड रुपैयाँ बराबर छ भने बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ५९ अर्ब ६८ करोड छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।