१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रोग नलाग्ने भनेर किसानलाई सिफारिस गरिएको चैते–५ धानमै ‘नेकब्लाष्ट’

हेर्दा पाकेको देखिने धानभित्र चामल नै पसेन
रमेशकुमार पौडेल

चितवन — चैतेधानमा लागेको घाँटी मरुवा अर्थात नेकब्लाष्ट रोगले चितवनका किसान चिन्तित भएका छन् । नेकब्लाष्ट रोग नलाग्ने भनेर सिफारिस गरिएको जात ‘चैते–५’ धानमै यो रोग देखिएपछि किसानले धोका भएको बताएका छन् । चैते धान धेरै रोपाइँ हुने चितवनको पूर्वी क्षेत्र रत्ननगर, खैरहनीमा यो रोग देखा परेको छ । रोग लागेपछि धानका बाला नै सुक्छ, दाना लाग्दैन । 

रोग नलाग्ने भनेर किसानलाई सिफारिस गरिएको चैते–५ धानमै ‘नेकब्लाष्ट’

खैरहनी नगरपालिका–१० कठार खरखुट्टेका किसान कृृष्ण अर्यालले साढे चार बिघा जमिनमा ‘चैते–५’ धान रोपेका थिए । अघिल्ला वर्षहरुमा हर्दिनाथ जातको धान रोप्दा घाँटी मरुवाले सताएर हैरान भएका उनलाई कृषि विज्ञ र प्राविधिकहरुले ‘चैते–५’मा रोग लाग्दैन भनेर आश्वासन दिए । उनले ढुक्क भएर गएको फागुन ९ मा ब्याड राखे । चैत्र १० मा रोपाइँ भ्याए । अब असार ४, ५ गतेतिर धान स्याहार्ने योजना थियो ।

‘तर तीन चार दिन यता घाँटी मरुवाले समायो, पश्चिम कुनोबाट सुरु भएको रोग पूर्व हुँदै सबै खेत भ्याएको छ । बाला सुकेको छ । हेर्दा पाकेको देखिन्छ, काट्न ठिक्क भएकोझैं देखिन्छ । तर दाना सुकेर चामल नै पसेन’ अर्यालले भने । एक दुई दिनभित्र धान काट्ने मेसिन ल्याएर खेतमा सबै धान नष्ट गर्ने तयारीमा उनी लागेका छन् । एक विघामा ४० देखि ५० क्विन्टलसम्म फल्ने भनेर उनले यो धान रोजेका थिए ।

राम्रो धान भनेर राप्ती नगरपालिकाको कृषि शाखाले नै बिउमा अनुदान दिएको थियो । लगभग किलोको ९० रुपैयाँ पर्ने बिउमा नगरपालिकाले आधा रकम अनुदान दिएको उनले बताए । ‘रोग लाग्दैन भनेका थिए तर पनि बीचमा मैले एक पटक रोग नलागोस् भनेर औषधि छरेको थिएँ । काट्न ठिक्क परेका बेलामा रोग आएर सबै बिगार्‍यो । पूरै खेतमा १० प्रतिशत पनि सद्दे धान ननिस्कला’ उनले भने ।

खैरहनी–११ सुण्डिका रामबहादुर केसीले २५ कठ्ठामा यही चैते–५ लगाएका छन् । यसका साथै उनी धान काट्ने ‘कम्बाइन हार्भेस्टर’ मेसिन भाडामा लगाउँछन् । ‘धान काट्दै म जहाँ जहाँ पुगेँ यो धान लगाएको ठाउँमा जताततै समस्या देखिएको छ । मेरो अलि चिसो खेत भएकाले त्यत्ति बिग्रेको छैन’ केसीले भने । चैते–५ धान क्विन्टलको २४ सय रुपैयाँसम्म बिक्री हुन्छ भनेपछि किसानहरु रोप्न तम्सेका हुन् ।

‘यो हिसाबले हाम्रो धेरै नोक्सानी भयो’ अर्यालले भने । खैरहनी नगरपालिका कृषि शाखाका प्रमुख गौरव न्यौपाने राजमार्गदेखि दक्षिणमा पर्ने खरखुट्टे लगायतका ठाउँमा भन्दा राजमार्ग उत्तरका गाउँहरुमा अझ बढी समस्या रहेको बताउँछन् । नगरपालिकाको २, ३ र ९ नम्बर वडामा बढी समस्या देखिएको छ । चितवन भरतपुरमा रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख मिनबहादुर पुनले रत्ननगरमा पनि समस्या रहेको बताए ।

‘ती ठाउँहरुमा नेकब्लाष्टको समस्या विगतका वर्षहरुमा पनि थियो । नेकब्लाष्टले दुख नदिने जात भनेर सिफारिस गरिएको चैते–५ हो । त्यही धानमा पनि यो पटक ठाउँ ठाउँमा समस्या आएको छ’ ज्ञान केन्द्रका निमित्त प्रमुख पुनले भने । चैते–५ नेकब्लाष्ट प्रतिरोधी जात भन्न नसकिने अवस्था आएको खैरहनी कृषि शाखाका प्रमुख गौरव न्यौपानेले बताए । मौसमका कारणले पनि रोग देखिएको पुन बताउँछन् ।

‘यो नेकब्लाष्ट प्रतिरोधी हो भनेको हुँदा किसानलाई सुरुमा विषादी छर्नुस् पनि भनेनौं । यसले पनि असर गर्‍यो कि भन्ने लाग्छ । जहाँ असिना पर्‍यो या जहाँ बढी युरिया मल राखेको छ त्यहाँ ब्लाष्टले बढी आक्रमण गरेको छ’ न्यौपानेले भने । पहिलादेखि नै नेकब्लाष्टले सताएको ठाउँ भएका कारण रोग प्रतिरोधी जात भए पनि समस्या देखिएको हुन सक्ने ज्ञान केन्द्रका निमित्त प्रमुख पुनले बताए ।

चैते–५ राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले विकसित गरेको उन्नत जातको धान हो । चैते र बर्खे दुवै सिजनका लागि उपयोगी भनेर सिफारिस भएको छ । यो पटक चैते–५ बाहेक किसानले रोपेका टाइचुन, पिआर जस्ता जातमा ब्लाष्टको समस्या देखिएको छैन । चितवनमा ७५ सय हेक्टर जमिनमा चैते धान रोपाइँ हुने गर्छ ।

प्रकाशित : जेष्ठ २५, २०८० १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?