भारतमा ब्याजदर स्थिर राख्ने प्रयास, मूल्यवृद्धि लक्षित सीमा घटाइयो

एजेन्सी

काठमाडौँ — भारतीय रिजर्भ बैंक (आरबीआई)को मोनिटरी पोलिसी कमिटीले ब्याजदर स्थिर राख्ने लक्ष्यस्वरुप रिपो दरलाई यथावत कायम गरेको छ । आरबीआई गभर्नर शक्तिकान्त दासले हाललाई ६.५ प्रतिशतको रिपो दरलाई यथावत राख्ने घोषणा गरे ।

भारतमा ब्याजदर स्थिर राख्ने प्रयास, मूल्यवृद्धि लक्षित सीमा घटाइयो

केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा अल्पकालीन तरलता प्रवाह गर्दा लिने यो दर स्थिर रहँदा समग्र ब्याजदर स्थिर राख्न बल पुग्नेछ । ‘आगामी महिनाहरुमा मुद्रास्फितिमा पर्न सक्ने चापलाई दवावमा राख्नु जरुरी छ, मुद्रास्फितिलाई एउटा सन्तुलित सीमाभित्र राख्नका लागि मौद्रिक नीतिमार्फत नै तादम्यता मिलाउने हो, तसर्थ रिपो दरलाई यथावत राख्ने निर्णय गरेका छौं’ गभर्नर दासले भने । भारतमा कतिपय व्यवसायीले यो पटक ब्याजदर घट्ने अपेक्षा गरेका थिए, तर आरबीआईले मुद्रास्फिति (मूल्यवृद्धि) लक्षित सीमा नै घटाएर रिपो दरलाई यथावत राखेको छ ।

आरबीआईले २०२३/२४ मा मूल्यवृद्धि ५.१ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको छ, यसअघि ५.२ प्रतिशतको सीमा तोकिएको थियो । यसअघि बढाइएको ब्याजदरकै कारण मूल्यवृद्धि नियन्त्रणमा आएपछि आरबीआईले मुद्रास्फितिको लक्षित सीमालाई सामान्य घटाएको हो ।भारतको मूल्यवृद्धिले नेपाललाई समेत प्रभाव पार्दछ । ‘आगामी समयमा मूल्यवृद्धिलाई ४ प्रतिशतकै सीमामा ल्याउनुपर्छ, अहिलेका प्रयासले राम्रा नतिजा दिइरहेको छ’ दासले भने । आरबीआईले ५ खर्ब ९५ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा संचिति रहेको पनि जनाएको छ ।


प्रकाशित : जेष्ठ २५, २०८० १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?