कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

साढे तीन अर्ब लगानीमा बुटवलमा खुल्यो लुम्बिनी केबलकार

प्रधानमन्त्रीले बिहीबार उद्घाटन गर्ने
घनश्याम गौतम

रूपन्देही — बुटवल र पाल्पालाई जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केबलकार संचालनमा आएको छ । आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गर्दै तराईसँग पाल्पाको पहाड जोड्ने गरी बुटवल हिल्स प्रालिले प्रवर्द्धन गरेको लुम्बिनी केबलकार सञ्चालनमा आएको हो ।

साढे तीन अर्ब लगानीमा बुटवलमा खुल्यो लुम्बिनी केबलकार

केबलकार संचालनमा आएसँगै बुटवलको अत्याधिक गर्मी छल्न चिसो मौसम रहने पाल्पाको बसन्तपुरडाँडामा जाने आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । केबलकार र डाँडोमा स्थापना गरिएको कामाख्या मन्दिरले बसन्तपुरलाई पर्यटकीय गन्तव्य बनाउँदैछ ।

आईएमई ग्रुपको धेरै लगानी रहेको लुम्बिनी केबलकारको तल्लो स्टेसन बुटवल उपमहानगरपालिका–३ बमघाटमा र माथिल्लो स्टेसन पर्यटकीयस्थल तिनाउ गाउँपालिका–३ बसन्तपुर पाल्पामा छ । २०६० सालदेखि प्रक्रिया अघि बढेको केबुलकारको २०७७ फागुन १ गते केपीशर्मा ओलीले शिलान्यास गरेका थिए । लुम्बिनी केबलकार आयोजनाका प्रोजेक्ट म्यानेजर गोकुल साउदका अनुसार सबै प्राविधिक परीक्षण सकिएको छ । केबलकारको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने उनले बताए । ‘बिहीबारदेखि पूर्ण रुपले केबलकार संचालनमा आउनेछ’ उनले भने । कम्पनीले एक सातादेखि नै व्यवसायिक रुपमा केबुलकार संचालन गर्दै आएको छ ।

केबलकारको टप स्टेसनमा कामाख्या माईको मन्दिर छ । खाजा नास्ताका लागि रेस्टुरेन्ट, जिपलाइन, स्विमिङ पोखरीलगायतका संरचना तयार भएका छन् । बसन्तपुरको दुर्गामाताको मन्दिरलाई पुनरुत्थान गरी नयाँ स्वरूपमा धार्मिक गन्तव्य बनाइएको छ । पार्क, पिकनिक स्पट तथा बाल उद्यानहरू निर्माण भएका छन् । पाँचतारे होटल, कम्प्लेक्स लगायतका संरचना दोस्रो चरणमा निर्माण गर्ने योजना छ । २४ गोन्डुला रहेको केवुलकारले प्रतिगोन्डुला ८ जनाका दरले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्ने क्षमता राख्ने बुटवल हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

साढे दुई किलोमिटरको यो केबुलकार संचालनका लागि ६.२७ हेक्टर वन क्षेत्र २५ वर्षसम्म भोगाधिकार दिएको छ । ‘भैरहवा र बुटवलको गर्मी छल्नका लागि केबुलकारको टप स्टेसन उत्कृष्ट गन्तव्य बन्ने छ,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले भने, ‘लुम्बिनी हुँदै केबलकार चढ्न आएका विदेशी पर्यटक बसन्तपुर हुँदै पाल्पा र पोखरासम्म पुर्‍याउने गरी पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी केबलकार सहयोगी बन्नेछ ।’ विदेशी र स्वदेशी पर्यटकलाई नै लक्षित गरेर दोस्रो चरणमा बसन्तपुर डाँडोमै १ सय ५० कोठा र क्यासिनोसहितको पाँचतारे होटल निर्माण हुने उनले बताए । बसन्तपुरसम्मको केबुलकार यात्राका लागि हाल प्रतियात्रु १ हजार शुल्क राखिएको छ । विद्यार्थी र स्थानीयलाई २५ प्रतिशत छुट हुने कम्पनीले जनाएको छ ।


प्रकाशित : जेष्ठ २४, २०८० १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?