१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लुम्बिनीमा पर्यटक आगमन बढ्यो

सन्जु पौडेल

तिलोत्तमा — गत वर्षको तुलनामा बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष पर्यटक आगमन बढेको छ ।  लुम्बिनी विकास कोषस्थित सूचना शाखाले दिएको जानकारी अनुसार सन् २०२३ को पहिलो ५ महिनामा ४ लाख ७० हजार ५ सय ४२ पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् ।

लुम्बिनीमा पर्यटक आगमन बढ्यो

यो तथ्यांक आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकको हो । ‘जनवरीदेखि मे महिनासम्म पर्यटक आगमन राम्रो रहेको कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । ‘आगामी महिनाहरुमा यहीं अनुपातमा पर्यटक भित्रिए भने कोरोनाकालअघिकै अवस्थामा लुम्बिनीको पर्यटन क्षेत्र फर्किन सक्छ’ उनले भने । अहिले चर्को गर्मीमा पनि पर्यटक आगमन बढ्नु समग्र पर्यटन क्षेत्रका लागि सुखद भएको उनको भनाइ छ ।

‘पछिल्लो समय लुम्बिनीमा ठूला कार्यक्रम समेत भएका छन्, यसले पनि पर्यटकलाई आकर्षित गरेको हो’, उनले भने, ‘लुम्बिनीको पर्यटनलाई गुल्जार बनाइराख्न हामी लागिपरेका छौं ।’ गतवर्ष सन् २०२२ मा भन्दा यो वर्ष १ लाख ८ हजार ४ सय ८६ बढी पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । अघिल्लो वर्ष जनवरीदेखि मेसम्म ५ महिनाको अवधिमा तीन लाख ६२ हजार ५६ पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए । ‘तथ्यांकले नै लुम्बिनीमा पर्यटक आगमन बढेको देखिन्छ’ कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले भने ‘अब सबै मिलेर लुम्बिनीमा पर्यटक टिकाउने वातावरण सिर्जना गर्नुपर्छ, यसका लागि कोषले सबै पक्षसँग सहकार्य गरेर अघि बढ्न तयार छ ।’

कोषको तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि मे महिनासम्म ३ लाख २४ हजार २ सय ६८ आन्तरिक पर्यटक लुम्बिनी आउँदा १ लाख ११ हजार ८ सय ६१ भारतीय पर्यटकले भ्रमण गरेका छन् । यस्तै, तेस्रो मुलुकका ३४ हजार ४१३ पर्यटक छन् । ६७ देशका पासपोर्ट होल्डर लुम्बिनी आएको तथ्यांक कोषसँग छ ।

अघिल्लो वर्ष आन्तरिक २ लाख ८९ हजार ५ सय ९४, भारतीय ६९ हजार ७ सय ७५ र तेस्रो मुलुकका २ हजार ६ सय ८७ पर्यटक आएका थिए । सूचना अधिकृत बस्नेतका अनुसार नेपाली र भारतीयसहित तेस्रो मुलुक थाइल्याण्ड, श्रीलंका, म्यानमार, भियतनाम, कोरिया, चीन लगायतका देशका पर्यटक लुम्बिनीमा बढी आएका छन् ।


प्रकाशित : जेष्ठ २४, २०८० १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?