२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपाल-बंगलादेश व्यापारमा अवरोध गर्ने भारतको चेतावनी

जतिबेला सन्धि भयो, त्यति बेला रोड सानो थियो, गाडी पनि सानै थिए, तत्कालीन अवस्थालाई हेरेर गरिएको सन्धिका आधारमा भारतले नेपाल–बंगलादेश व्यापार प्रभावित गर्न हुन्न । -ईश्वरराज पौडेल, महावाणिज्यदूत, कोलकातास्थित महावाणिज्य दूतावास
अतिरिक्त ट्रान्जिट रुटका लागि बनाइएको मोडालिटीको चौथो बुँदामा टेकेर भारतले अनावश्यक बखेडा सुरु गरेको व्यवसायीको दाबी
पर्वत पोर्तेल

झापा — यतिबेला संसद्भित्र र बाहिर देशको पूर्वी नाका हुँदै बंगलादेश जोड्ने ‘काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध’ सडक मार्गको व्यापक चर्चा छ । तर, यही रुटबाट हुँदै आएको बंगलादेशसँगको नेपाली व्यापारमाथि भारतले थालेको अवरोधबारे न सत्तापक्ष जानकार छ, न त प्रतिपक्ष नै ।

नेपाल-बंगलादेश व्यापारमा अवरोध गर्ने भारतको चेतावनी

नेपाल–भारत–बंगलादेशबीचको त्रिदेशीय व्यापारिक केन्द्रनजिकको फूलबारी ल्यान्ड कस्टम । फाइल तस्बिर : कान्तिपुर

सन्धिविपरीत ‘ओभरलोड’ सामान बोकेको भन्दै नेपाल–भारत–बंगलादेशबीचको त्रिदेशीय व्यापारिक केन्द्रनजिकको फूलबारी ल्यान्ड कस्टमले यसै सातादेखि बंगलादेशसँगको व्यापारमा अवरोध गर्ने चेतावनी दिएको छ ।

भारत र बंगलादेशसहितको त्रिपक्षीय व्यापार तथा ट्रान्जिट सम्झौता (सन्धि) पछि ०५४ भदौ १४ बाट सरकारले काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध व्यापारिक मार्गबाट बंगलादेशसँग औपचारिक व्यापार थालेको थियो । व्यापार सन्धिमा नेपाल र बंगलादेशबीचको व्यापारका लागि भारतले पानीट्यांकीदेखि फूलबारीसम्मको करिब ३४ किमि सडक सुविधा उपलब्ध गराउने सम्झौता छ ।

तर अतिरिक्त ट्रान्जिट रुटका लागि बनाइएको मोडालिटीको चौथो बुँदामा टेकेर यतिबेला भारतले अनावश्यक बखेडा सुरु गरेको व्यवसायीहरूले जनाएका छन् । ‘यस सडकबाट चल्ने नेपाली ट्रक वा कन्टेनरको तौल १९ टनभन्दा माथि हुनुहुँदैन,’ मोडालिटीको चौथो बुँदामा भनिएको छ । सन्धिबमोजिम छचक्के ट्रकसहितको तौल १९ टन हुनुपर्ने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख रोमन श्रेष्ठले बताए । विगतमा छचक्के गाडी मात्रै थिए । अहिले पुराना मोडलका गाडी हराइसके । ‘१०/१२ चक्के ट्रक चलिरहेका छन्,’ श्रेष्ठले भने, ‘त्यसको क्षमता २१ टनभन्दा माथि हुन्छ ।’

भारतीय भन्सारले सन्धिविपरीत सामान बोक्ने गाडीलाई अवरोध गर्ने चेतावनीसहितको मौखिक जानकारी आइसकेको श्रेष्ठले बताए । नेपाली व्यवसायीले भने २१ टन नै बोक्न पाउनुपर्ने माग गर्दै आएका छन् । ‘अहिलेसम्म काम रोकिएको त छैन । तर भारतीय भन्सारले यसै साताबाट रोक्ने चेतावनी दिइरहेको छ,’ श्रेष्ठले भने ।

करिब १३ वर्षदेखि सन्धि पुनरावलोकन नभइरहेको र पुनरावलोकनका लागि पहल थालिएको उनले जनाए । नेपाल पारवहन गोदाम व्यवस्था कम्पनीले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचारको तयारी सुरु गरेको छ । ‘खराब समयमा सामान रोक्ने अवस्था त हुन दिनुभएन भनेर पहल थालेका छौं,’ श्रेष्ठले थपे, ‘भारतीय भन्सारलाई सन्धि पुनरावलोकनको प्रक्रिया भइरहेकाले तत्कालका लागि सहजीकरण गरिदिन भनेका छौं ।’

समयानुकूल सन्धि फेरबदल नगरिँदा नेपाली व्यवसायीले अनावश्यक सास्ती सहनुपरेको नेपाल–बंगलादेश व्यापारमा संलग्न स्थानीय भन्सार एजेन्ट दिलीप तिम्सिनाले गुनासो गरे । थपे, ‘सन्धि मुताविक गर्ने हो भने गाडीको तौल घटाउँदा त ९/१० टन मात्रै सामान बोक्न सकिने अवस्था हुन्छ ।’ नेपाली ट्रकले नेपाल सरकारको मापदण्डअनुसार सामान बोकिरहेको अर्का भन्सार एजेन्ट मित्रलाल संग्रौलाले जनाए । ‘अहिलेको अवस्थामा १२ चक्केले २१ टन सामान बोक्नैपर्ने बाध्यता छ,’ उनले भने, ‘पुरानो सन्धि पल्टाएर भारतले अनावश्यक दुःख दिन मिल्दैन ।’

भारतबाट भने १८ चक्के कन्टेनर खुलेआम भित्रिँदा पनि नेपालले कुनै अवरोध गरेको छैन । ‘भारतीय गाडीले ४० टन सम्म बोक्दा हामीले केही नभन्ने अनि हाम्रा १२ चक्केले २१ टन सामान बोक्दा भारतले किन निहुँ खोज्नु ?’ भन्सार एजेन्ट संग्रौलाले थपे ।

बंगलादेशसँगको व्यापारका लागि यो रुट सबभन्दा छोटो हो । काँकडभिट्टादेखि बागडोग्रा–घोषपोखर–फूलबारीसम्मको करिब ३४ किलोमिटरको दूरी पार गर्दा बंगलाबन्ध व्यापारिक रुट भेट्न सकिन्छ । भारतको बखेडाप्रति बंगलादेशी व्यवसायीहरूले पनि असन्तुष्टि जनाएको नेपाली व्यवसायीको भनाइ छ । ‘भारतले हाम्रातिर ४०, ५० टन तौलका ढुंगासहितका कन्टेनर भित्र्याइरहेको दृश्य हामी पनि टुलुटुलु हेर्दैनौं,’ एक बंगलादेशी व्यवसायीलाई उद्धृत गर्दै एक नेपाली व्यवसायीले भने, ‘भारतीय भन्सारको पछिल्लो व्यवहारले बंगलादेशीलाई पनि चिढाएको छ ।’

सुरुवाती वर्षमा यस नाकाबाट सामान्य मात्रै व्यापार भएको थियो । पूर्वाधारको चरम अभाव थियो । नेपाली व्यवसायी र ट्रक चालकहरूले भारतीय श्रमिकदेखि सुरक्षाकर्मी सम्मको हप्की सहनुपर्ने बाध्यता थियो । सीमामा तैनाथ सीमा सुरक्षाबल (बीएसएफ) बाट पनि नेपाली व्यवसायीले निक्कै सास्ती बेहोरेका थिए । बीएसएफकै निगरानीमा सामान ‘लोड/अनलोड’ गर्नुपर्ने बाध्यता थियो ।

पुनः भारतले ओभरलोडको प्रसंग झिकेर नेपाल–बंगलादेशबीचको व्यापारलाई थप धराशायी बनाउने काम सुरु गरेको नेपाली पक्षको गुनासो छ । खासमा नेपाल–बंगलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको फूलबारी–बंगलाबन्ध ‘ट्रान्जिट’ नाकाबाट भारत आफैंले सन् २०११ जनवरी २२ तारिखबाट औपचारिक व्यापार सुरु गरिसकेको छ । भारतले यस नाकाबाट ढुंगा निकासी गर्दै आएको छ ।

नेपाल–बंगलादेश व्यापार नै प्रभावित हुने गरी भारतीय भन्सारले गर्न लागेको अवरोधप्रति पश्चिम बंगालका ल्यान्ड कस्टम कमिसनर रञ्जन खन्नासँग संवाद गरिरहेको कोलकातास्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत ईश्वरराज पौडेलले जनाए । ‘जतिबेला सन्धि भयो, त्यति बेला रोड सानो थियो, गाडी पनि सानै थिए,’ पौडेलले भने, ‘तत्कालीन अवस्थालाई हेरेर गरिएको सन्धिका आधारमा भारतले नेपाल–बंगलादेश व्यापार प्रभावित गर्नु जायज हुन्न ।’

प्रकाशित : जेष्ठ २४, २०८० ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?